काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विदेशबाट फर्किएर ८० लाख लगानीमा पशुपन्छीपालन

525
shares

कञ्चनपुर। छ वर्ष दक्षिण कोरियामा बिताएर स्वदेश फर्किएका कञ्चनपुरको बेदकोट नगरपालिका–८ का शम्शेरबहादुर बम अहिले गाउँमै पशुपछी पालन तथा कृषि उद्यममा रमाउनु भएको छ । विदेशमा काम गरेको अनुभव र स्वदेशमै केही गर्ने अठोटका साथ उनि तीन वर्षअघि बाख्रापालनबाट व्यावसायिक रुपमा कृषि उद्यममा लागे ।

सुरुआतमा २५ लाख लगानीमा ८० वटा उन्नत जातका बा्रखा गाउँघरबाट सङ्कलन गरेर सुरु भएको फार्ममा अहिले ८० लाख लगानी पुगेको छ । अहिले बमले फार्ममा बाख्रा, स्थानीय जातका कुखुरा, कालिज र मौरीपालनसँगै फलफूल बगैँचा समेत स्थापना गरेर व्यवसायलाई विस्तार गरेका छन् ।

“साढे छ वर्ष कोरिया बसेर फकिएपछि गाउँमै उद्यम गर्ने सोचले बाख्रापालन सुरु गरेको थिए”, उनले भने, “अघिल्लो वर्षदेखी बाख्रासँगै स्थानीय जातका कुखुरा, कालिजसँगै माहुरीपालन समेत विस्तार गरेको छु ।”

भविष्यमा मिनि एग्रो टुरिज्मका रुपमा विकास गर्ने उदेश्यले काम गरिरहेको बमको भनाइ छ । उनको फार्ममा स्थानीय जातको दुई हजार कुखुरा र चार सय कालिज रहेका छन । त्यसैगरी उन्नत जातका बाख्रा र मौरी समेत रहेको उनले बताए ।

“कालिज कैलालीसम्म बिक्रि हुने गरेको छ, बजारको समस्या छैन । स्थानीय स्तरमै बिक्री हुन्छ”, बमले भने, “यस वर्ष ६० लाखको ब्यापार गर्ने लक्ष्य छ ।”

सुरुआती वर्षमा प्रतिफल थोरै आएपनि यस वर्ष सबै खर्च कटाएर १६ लाख मुनाफा हुने बमको अपेक्षा छ । उनको फार्ममा १५ हजारदेखी २० हजारसम्म तलबमा तीन जना कर्मचारी रहेका छन् । पशुपछी पालनसँगै एमबिएस समेत अध्ययन गर्दै आएका बमले एउटै व्यवसायमा मात्र निर्भर हुनुभन्दा विभिन्न व्यवसाय सञ्चालन गरेर आम्दानीको स्रोत बढाउन सकिने बताए ।

विदेशमा लामो समय बिताएपछि आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचले स्वदेश फर्किएर उद्यम सुरु गरेका बमले मेहनत र लगनशीलता भए आफ्नै ठाउँमा पनि राम्रो आम्दानी गर्न सकिने बताए । उनले भने, “सरकारी निकायबाट सहयोग प्राप्त भए व्यवसायलाई अझै विस्तार गर्ने लक्ष्य छ ।” बमले डेढ विघा जग्गा आफ्नै र १० कठ्ठा जग्गा वार्षिक १२ हजारमा भाडामा लिएर काम गरिरहेको छन् ।

माहुरीपालनलाई पनि व्यवसायको रुपमा अघि बढाएर मह उत्पादन र बिक्रीबाट थप आम्दानी गर्ने बमको लक्ष्य छ । माहुरीले कृषि बालीमा परागसेचन प्रक्रियामा समेत सहयोग पुर्याउने भएकाले यसलाई कृषि व्यवसायसँग जोडेर उनले अघि बढाएको हो । बमले १० वटा घारमा माहुरी राख्नुभएको छ । माहुरीको चरनका लागि उनले तोरीखेती गरेका छन् ।

“वर्खामा मौरीको लागि चरन नहुँदा चिनी र चास्नी बनाएर पाल्नु परेको थियो,” उनले भने, “अहिले चरनकै लागि तोरी पनि लगाएका छौँ, साथसाथै फलफुल बगैचा समेत स्थापना गरिएको छ ।” स्वदेशमै बसेर व्यवसाय गर्ने बमको प्रयासले बेरोजगार युवालाई समेत कृषि तथा पशुपछीपालन क्षेत्रमा सम्भावना खोज्न प्रेरणा दिएको छ ।