गृहपृष्ठ भाइबरमा म्यासेज पठाउँने ब्राेकरलाई जरिवाना
भाइबरमा म्यासेज पठाउँने ब्राेकरलाई जरिवाना
व्यावसायिक आचरण पालना नगरेको भन्दै धितोपत्र बोर्डले प्रज्ञान सेक्युरिटिज (ब्रोकर नम्बर १०) लाई ७५ हजार रुपैयाँ जरिवाना गरेको छ । उक्त कम्पनीको विराटनगरस्थित शाखाबाट व्यावसायिक आचरणविपरीत काम भएको पुष्टि हुन आएकाले आर्थिक जरिवाना गरिएको बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रज्ञान सेक्युरिटिजले ०७३ चैतदेखि विराटनगरमा शाखा कार्यालय स्थापना गरी कारोबार गर्दै आएको छ । उक्त शाखाका प्रमुखले गत जेठ ४ गते हुने सिभिल बैंकको साधारणसभाअगावै सेयर किन्नुहोस्, ४० प्रतिशत हकप्रद आउने भएको छ, राम्रो फाइदा हुन्छ, फाइदा गराउने जिम्मा हाम्रो भन्ने आशयको भाइवर म्यासेजमा ग्रुप बनाएर जानकारी पठाएको देखिएको सम्बन्धमा बोर्डले छनबिन गरेको थियो । छनबिनको क्रममा दोषी देखिएपछि कारबाहीस्वरूप आर्थिक जरिवाना गरिएको जनाइएको छ ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७६ बमोजिम धितोपत्र व्यवसाय सञ्चालन गर्ने संस्थाले आफ्नो व्यवसायलाई स्वस्थ र उच्चस्तरीय राख्ने, उचित सीप, होसियारी र मिहिनेतका साथ धितोपत्र व्यवसाय गर्ने, धितोपत्र बजारको उच्च मर्यादा कायम राख्ने, धितोपत्र व्यवसायसँग सम्बन्धित अभिलेखहरू राम्रोसँग राख्ने, धितोपत्र व्यवसाय सञ्चालन गर्ने सम्बन्धमा दक्ष जनशक्ति तयार गर्नेलगायत काम गरी व्यावसायिक स्तर कायम गर्नुपर्छ ।
‘उक्त संस्थाले आफ्नो शाखाको कामकारबाहीलाई सूक्ष्म रूपमा अनुगमन नगरी व्यावसायिक आचरण कायम गराउन नसकेको र व्यावसायिक स्तर कायम गरेको नदेखिएकाले कानुनअनुसार प्रज्ञान सेक्युरिटिजलाई ७५ हजार रुपैयाँ आर्थिक जरिवाना गरिएको छ,’ बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।पछिल्लो समयमा बजार अनुगमन तथा सुपरिवेक्षण कार्यलाई सुदृढ गर्दै लगिएकाले दोस्रो बजार कारोबार थप स्वच्छ र पारदर्शी हुने बोर्डले दाबी गरेको छ ।
प्रकाशित समय : १२:३२ बजे