Nepalese Flag २०७७ फागुन १९ गते बुधबार   |   March 03, 2021

देवदह नगरपालिका : किसान परिचय पत्र वितरणको तयारी

न्युज कारोबार काठमाडौं असार ३२, २०७५       

देवदह नगरपालिका : किसान परिचय पत्र वितरणको तयारी
दूध उत्पादनमा आत्मनिर्भर बनेको रुपन्देहीको देवदह नगरपालिकाले आगामी आर्थिक बर्षदेखि किसान परिचय पत्रको अवधारण अगाडि बढाएको छ । मेयर हिराबहादुर खत्रीका अनुसार यस बर्ष नै देवदह नगरपालिकाले किसान परिचय पत्र वितरणको योजना अगाडि बढाएको हो । वास्तविक किसान पहिचान गरी अनुदानलगायतका विभिन्न कार्यक्रम सञ्चालन गर्नको लागि यस्तो किसान परिचय पत्रको अवधारणा ल्याइएको नगरपालिकाले जनाएको छ । किसानले पाएका विभिन्न सेवा सुविधालाई विवरणको रुपमा राख्ने गरी यस्तो कार्य अगाडि बढाइने नगरपालिकाका मेयर खत्रीले बताए । नगरपालिकाले थप १ हजार गाईमा कृतिम गर्भाधान गराउने लक्ष्य पनि लिएको छ । बिदेशबाट आयात गरिएको बाच्छीमात्रै जन्मीने (सेक्स सिमोन) १ हजार डोज आगामी आर्थिक बर्षमा वितरण गरिने जनाइएको छ । देवदह नगरपालिकाको तेस्रो नगरसभाबाट खासगरी पशुको नश्ल सुधारको लागि उक्त योजना अगाडि बढाएको हो । मेयर खत्रीका अनुसार यसको लागि टेन्डर आह्वान प्रक्रिया अगाडि बढाई सेक्स सिमोन खरिद गरी वितरण गरिने छ । एउटा डोजको न्युनतम ३ हजार रुपैयाँ पर्दछ । सोही अनुरुपमा ३० लाख रुपैयाँ विनियोजन गरी किसानलाई निःशुल्क रुपमा सिमाने उपलब्ध गराउन लागिएको हो । ‘किसानले लगानी अनुसारको आम्दानी गर्न सकेका छैनन्,’ लगानी न्युनीकरण आम्दानी ज्यादा बनाउनको लागि हामीले घाँसमा आधारित पशुपालन र पशुमा नश्ल सुधारको कार्यक्रमलाई प्राथमिकतामा राखेर अगाडि बढाएका छौँ ।’ बार्षिक रुपमा देवदह नगरपालिकाभित्र किसानहरुले करिब ३० करोड रुपैयाँ बराबरको आम्दानी दूधबाट मात्रै गर्दै आएका छन् । जुन रकम उत्पादन भएको दुधको केही प्रतिशत मात्र हो । सिक्स सिमोनको माध्यमबाट गर्भधान गराउँदा गाईले बाच्छी नै पाउने सम्भावना ९९ प्रतिशत रहेको छ । नेपाल सरकारले केही समयदेखि सानो संख्यामा यो सिमोन वितरण गर्दै आएकोमा यसपटक देवदहले आफैँ यसको थालनी गर्न लागेको हो । देवदहमा बार्षिक १० हजार गाईमा कृत्रिम गर्भाधान गराउन सिमोन आवश्यक पर्दछ । तर, अहिले पहिलो चरणमा १ हजार गाई मा कृत्रिम गर्भधान गराउने योजना अगाडि बढाइएको हो । मेयर खत्रीका अनुसार पशुधन विमामामा ५० प्रतिशत अनुदान नगरपालिकाले दिने भएको छ । गाई, बाख्रा, भैँसी, पाडा वा हाँस जेमा पनि किसानले बिमा गरेर आएमा त्यसको ५० प्रतिशत प्रिमियम रकम प्रदान नगरपालिकाले गर्ने भएको हो । गत बर्ष नगरपालिकाभित्र करिब ४ हजार पशुमा पशुधन बिमा गरिएको थियो । कृषिमा आत्र्मनिर्भर भएपनि किसानले उत्पादन गरेको दुध विक्री वितरण उचित समयमा नहुँदा किसानहरु मारमा परेको गुनासोको आधारमा किसानले उत्पादन गरेको दुधलाई मिल्क पाउडर बनाएर विक्री गर्ने उद्योगको लागिसमेत पहल गरिएको मेयर खत्रीको भनाइ रहेको छ । यसका लागि प्रदेश सरकारसँग आवश्यक छलफल गरी मिल्कीङ्ग पाउण्डर प्लान्ट देवदहमा नै सञ्चालन गर्र्नको लागि पटक–पटक आग्रह गरिएको मेयर खत्रीले जानकारी दिए ।

सम्बन्धित खबरहरु