Nepalese Flag २०७७ फागुन १७ गते सोमबार   |   March 01, 2021

भीरपहरामै बित्छ स्कुले बालबालिकाको चार घण्टा

न्युज कारोबार काठमाडौं साउन १४, २०७५       

भीरपहरामै बित्छ स्कुले बालबालिकाको चार घण्टा
बिहान उठ्यो । हातमुख धोयो । नास्ता खायो । हतार–हतार गर्दै ८ बजे नै तयार भयो अनि झोला भिरेर स्कुलतिर लाग्यो । दुई घण्टा लगाएर बल्ल विद्यालय पुगिन्छ । भीरपखेराको बाटो जति नै दौडिए पनि जाँदा दुई र फर्किंदा दुई घण्टा लाग्छ । हो, कर्णालीको राजधानी सुर्खेतको पंगालीडाँडा र सल्लेरीका कलिला बालबालिका विद्यालय जाउन–आउन यसैगरी दैनिक चार घण्टा खर्चन्छन् । वीरेन्द्रनगर–१५ मा पर्ने यी दुर्गम गाउँका बालबालिका शिशु कक्षादेखि नै यो नियति व्यहोर्न बाध्य छन् । बोली फुट्दै गर्दा पहरासँग कुस्ती खेल्दै पारेगाउँमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कखरा सिक्न जानुको विकल्प उनीहरुसँग छैन । थकित शरीरसँग कुरा गर्न सक्ने ल्याकत उनीहरुसँग हुँदैन । ‘चार घण्टाको बाटो दैनिक धाउन सक्दैनौं सरकार !’ उनीहरुको आलश्यताले यही बोलिरहेको हुन्छ । कति त बाबुआमाको करले र डरले रुँदै–रुँदै हतार–हतार तयार हुन्छन् र किताब–कापी च्यापेर विद्यालयतिर लाग्छन् । पंगालीडाँडा र सल्लेरीमा करिब ३० घर छन् । तर, उनीहरुका लागि नजिकै प्राथमिक विद्यालयसम्म छैन । यी बस्तीका लागि केन्द्र पर्ने गरी एउटा शिशु स्याहारमात्रै भए पनि ठूलै राहत हुने बताउँछिन्– पंगालीडाँडाकी कृष्णा खड्का । ‘विद्यालय धेरै टाढा छ तर यहाँका बालबालिकाको दुःख न राजनीतिक दलले देखे न त सरकारले नै,’ उनी भन्छिन्, ‘दललाई राजनीतिभन्दा पर केही नचाहिने रहेछ ।’ ठूलो हुँदै जाँदा बालबालिकाहरु बानी पर्दै जान्छन् तर सानालाई बानी पार्न अभिभावकले निकै सास्ती व्यहोर्नुपर्छ । ‘प्राथमिक विद्यालयसम्मको शिक्षा हाम्रा छोराछोरीले घरपायक पढ्न पाए कस्तो हुन्थ्यो होला,’ सल्लेरीकी यशोधा खत्री भन्छिन् । उनी दिनभर पढ्न गएका छोराछोरी सकुशल फर्कने हुन् कि होइनन् भन्ने चिन्तामा हुन्छिन् । ‘वर्षातको समयमा खोलाखोल्साको समेत डर हुन्छ,’ उनी भन्छिन्, ‘छोराछोरीले विद्यालयबाट फर्कंदा घाउचोट नलगाएको दिनै हुँदैन । छोराछोरीको घाउ देख्दा पढ्नै नपठाऊँ जस्तो पनि लाग्छ तर अहिलेको जमानामा नपढाएर के गर्नू !’
पढ्न गएका छोराछोरी सकुशल फर्कने हुन् कि होइनन् भन्ने चिन्ता हुन्छ । वर्षातको समयमा खोलाखोल्साको समेत डर हुन्छ । छोराछोरीले विद्यालयबाट फर्कंदा घाउचोट नलगाएको दिनै हुँदैन । छोराछोरीको घाउ देख्दा पढ्नै नपठाऊँ जस्तो पनि लाग्छ तर अहिलेको जमानामा नपढाएर के गर्नू ! – अभिभावक
बालबालिकाका अवस्था देखेर विद्यालयका शिक्षकहरु पनि चिन्तित देखिन्छन् । ‘विद्यालयमा धेरै टाढा–टाढाबाट विद्यार्थी आउँछन्,’ प्रधानाध्यापक जयराम कोइराला भन्छन्, ‘विद्यार्थीलाई लेखाइ–पढाइको चिन्ताभन्दा आउन–जानको चिन्ता बढी हुन्छ ।’ घर र विद्यालयको चिन्ताले विद्यार्थीमा मानसिक समस्या बढेको हो कि भन्ने उनको आशंका छ । ‘बेला–बेला विद्यार्थी बेहोस पनि हुन्छन्,’ उनी भन्छन्, ‘कारण त थाहा छैन तर विद्यार्थी दबाबमा छन् भन्ने सहजै महसुस गर्न सकिन्छ ।’ school-newskarobar वीरेन्द्रनगर नगरपालिकालाई यसबारे जानकारी नभएको होइन । भोट माग्न, जनप्रतिनिधि हात जोड्दै पटक–पटक उनीहरुसम्म पुगे । तर, पंगालीडाँडा र सल्लेरीको अहिलेसम्म खेरै गइरहेको छ । वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकाल स्थानीय सरकारले नगरपालिकाभित्र आधारभूत शिक्षाको बन्दोबस्त मिलाउने बताइन् । ‘नगरपालीकाले शिक्षा ऐन पारित गर्दै छ,’ उनले भनिन्, ‘क्षेत्रगत अनुगमन गरी आवश्यकताअनुसार नयाँ विद्यालय स्थापना र राम्रोसँग नचलेका विद्यालयलाई मर्च गरी शिक्षाको विकास गर्छौं ।’ विद्यालय सिकाइको मुख्य थलो हो । र, सिक्नका लागि वातावरणले मुख्य प्रभाव पार्छ । राजधानीकै वडाका विद्यार्थीको यस्तो कन्तविजोग भइरहँदा अन्य नगरपालिका र दुर्गमका गाउँपालिकाका विद्यार्थीले कतिसम्म सास्ती व्यहोरिरहेका होलान् ! मननीय छ ।

सम्बन्धित खबरहरु