गृहपृष्ठ राष्ट्रियसभा अध्यक्षको प्रश्न– जनताको फाइल बोकेर किन मन्त्रालय धाउँछन् सांसद ?
राष्ट्रियसभा अध्यक्षको प्रश्न– जनताको फाइल बोकेर किन मन्त्रालय धाउँछन् सांसद ?
काठमाडौं– सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई कानुन बनाउने मुख्य जिम्मेवारीप्रति पर्याप्त समय दिई घोत्लिएर काम गर्न निर्देशन दिएका छन् । संघीय संसद्का सांसदलाई कानुन तर्जुमालगायत समग्र संसदीय प्रक्रियाबारे जानकारी दिन मंगलबार आयोजित अभिमुखीकरण कार्यक्रम शुभारम्भ गर्दै उनले सांसदको मुख्य काम कानुन र नीति बनाउनु भएकाले त्यसप्रति सजग र सिर्जनशील हुन सुझाव दिएका हुन् । ‘संसदमा सांसदहरुको उपस्थिति बढाउन आवश्यक छ, जनता बढी आफ्ना प्रतिनिधि सिर्जनशील भएको देख्न चाहन्छन्,’ उनले भने, ‘त्यसका लागि तपाईंहरुबाट सकारात्मक सहयोगको अपेक्षा गरिएको छ ।’
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले कानुनको मस्यौदा समयमा तयार नपारेर संसद् र सांसदले खप्की खानुपर्ने अवस्था आउन नदिन सरकारसँग आग्रह गरे । ‘सदनको बैठकमा कुर्सी खाली रहने अवस्थाले जनताप्रति सांसद उत्तरदायी बन्न आवश्यक छ भन्ने देखाएको छ, जनप्रतिनिधिले बैठक छाडी जनताका कामका लागि फाइल बोकेर मन्त्रालयका कोठा र चोटा धाउनुपर्ने अवस्था सरकारले अन्त्य गरोस्,’ उनले भने, ।
सदन नचलेको समयमा ‘कता जाआंै, कसरी दिन बिताआंै’ भन्ने दोधारमा परेका सांसदलाई कुर्सी, ज्ञान र चाहिएका पुस्तक पढ्न पाउने सुविधा भएकाले सिंहदरबारस्थित संसद् सचिवालयको पुस्तकालयको सदुपयोग गर्न उनले आग्रह गरे । कानुन, न्याय तथा संघीय मामिलामन्त्री शेरबहादुर तामाङले निर्वाचनका समयमा जनताले सार्वभौमसत्ताको प्रयोग गर्न दिएको अभिमतलाई शिरमा राखेर जनताको हितसँग जोडिएका कानुन निर्माणमा ध्यान दिन सांसदसँग आग्रह गरे । ‘संविधानसँग बाँझिने र जनतालाई अहित हुने तथा न्यायाधीशले बदमासी गर्नसक्ने गरी कानुनका छिद्र नरहने गरी कानुन निर्माण गर्न तपाईंहरुले ध्यान पु¥याउन आवश्यक छ,’ उनले भने ।
संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले संसदीय प्रक्रिया र काम कारबाहीका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए । संघीय संसद् भवन नयाँ बानेश्वरमा आयोजना भएको दुई दिने उक्त अभिमुखीकरणमा प्रतिनिधिसभा र राष्ट्रियसभाका २०० भन्दा बढी सांसदको सहभागिता छ ।
अभिमुखीकरणमा संविधान निर्माण, संघीय संसद् र संसदीय अभ्यास, संघीय संसद सचिवालयको आधारभूत जानकारी, कानून तर्जुमा, बजेट निर्माण र वित्तीय अनुगमनमा संसद्को भूमिका, संसद् र नागरिकबीचको सम्बन्ध, संघीय संसदीय प्रक्रिया र सचिवालयको भूमिका, कानुन निर्माण र सरकारका काम कारबाहीको अनुगमनमा संसदीय समितिको भूमिकाका सम्बन्धमा विज्ञहरूबाट प्रस्तुति हुने सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिए ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा सदनले छोटो समयभित्रै धेरै कानुन निर्माण तथा पुराना कानुनलाई समयानुकूल तुल्याउनुपर्ने भएको हुँदा कानुन निर्माणको जिम्मेवारीलाई पूरा गर्न सजिलो होस् भन्ने हेतुले सचिवालयले सांसदका लागि अभिमुखीकरण आयोजना गरेको हो ।
प्रकाशित समय : १९:१७ बजे

















