भत्ता लिन दिनहुँ सास्ती
वि.सं.२०७५ साउन १५ मंगलवार १६:४५
shares

ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका ब्यक्तिले सरकारबाट स–सम्मान पाउने सामाजिक सुरक्षा भत्ता बुझ्न सास्ती झेल्नुपरेको छ । पहिले स्थानीय निकायले सहजरूपमा वितरण गर्दै आएको भत्ता बैंकमार्फत वितरण गर्न थालिएपछि सास्ती बढेको हो । सुनसरीको बराहक्षेत्र नगरपालिका ३, ४, ५ का लागि मितेरी डेभलपमेन्ट बैंकको शाखा काला बन्जरलाई सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा दिइएको बराहक्षेत्र ४ का सचिव अभिनय ढुंगानाले बताए ।
आठ महिनापछि भत्ता आउँदा बैंकमा धेरै ठूलो संख्यामा सेवाग्राहीको उपस्थिति हुने गरेको छ । लगातार तीन दिनसम्म बैंक धाएका झ्याउलाइ मुसहर बैंकबाट भत्ता लिन सार्है अप्ठेरो भएको बताउँछन् । ‘कहिले तपाईंको नामको भत्ता गइसकेको छ भन्छन्, कहिले आज सकियो भोलि आउनुस् भन्छन्,’ उनले भने, ‘यसरी म दिनका दिन फर्किरहेको छु ।’
भत्ता वितरण सुरु गरेको २ हप्ता बितिसक्दा दुई वटा वार्डको पनि सकिएको छैन । सुरुमा बराहक्षेत्र ३ र क्रमशः ४, ५ को वितरण गर्ने कार्य भइरहँदा बिहीबारबाट आइतबारसम्मका लागि बैंकले वितरण कार्य स्थगित गरेको थियो । बिना सूचना स्थगित गरेको भन्दै सेवाग्राही भने आक्रोशित बनेका छन् । यसरी दिनहुँ फर्किनुपर्दा कालाबन्जरबाट निकै टाढा रहेका टोलहरु पिडारी, पुलाहा, चौसट्ठी बिगाहबाट आउनेहरु भने निकै मारमा परेका छन् ।
बैंकले आफूहरुलाई पनि सूचना नदिएको वडा नम्बर ५ का सचिव निलम कार्की बताउँछन् । उनले भने, ‘सूचना पाएको भए वडा कार्यालयबाट पनि गाउँमा सूचना पठाइदिने थियौँ, तातो घाममा बुढाबुढीले दुख पाउने थिएनन् ।’
यता, बैंकका कर्मचारी भने अघिल्लो दिन नै सूचना दिइएको दाबी गरेका छन् । बैंकको आन्तरिक कामले गर्दा वितरण कार्य स्थगित गर्नु उनीहरुको भनाइ छ ।

























