गृहपृष्ठ कृषि मन्त्रीको उद्घोष- यसै वर्ष हरियो लालपुर्जा
कृषि मन्त्रीको उद्घोष- यसै वर्ष हरियो लालपुर्जा
रुपन्देही– कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेब’ले यसै वर्ष भूमिको बर्गीकरण गरी खेतीयोग्यलाई हरियो लालपुर्जा दिने बताएका छन् । उनले भूमिलाई विभिन्न तहमा बर्गीकरण गरि वैज्ञानिक भूमिसुधार लागु गर्न लागिएको जानकारी दिदै यसै वर्ष सुकुम्बासी समस्या समेत सधंैको लागि समाधान गर्ने जानकारी दिए ।
रिपोर्टर्स क्लव नेपाल ५ नम्बर प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खनाल ले कृषियोग्य भूमि बचाउने कार्ययोजना अनुसार किसानलाई हरियो लालपुर्जा वितरण गर्ने जनकारी दिए । उनले सोही लालपुर्जा बैंकमा राखेर ऋण पाउने तथा अनुदानको व्यवस्था पनि सोही लालपुर्जाको आधारमा वास्तविक किसानलाई दिने योजना बनाएको उल्लेख गरे ।
भुमि सम्बन्धि ऐन, नीति, भु–उपयोग लगायतका नीतिहरु बनाएर कृषियोग्य भूमि बचाउन ठोस रुपमा कदम चालिएको जानकारी दिँदै मन्त्री खनालले जग्गाको २५ प्रकारको बर्गिकरण गरिएको जानकारी दिए ।
अंशबण्डाको नाममा कित्ताकाट रोक्ने बताउँदै खनालले नीति बाहिरको अंशबण्डा रोक्न पहल गर्ने बताए । नेपालमा १ लाख २१ हजारको संख्यामा मोहीहरु रहेको जानकारी दिँदै देशमा रहेका मोहीहरु हटाउने योजना सुनाए ।
मन्त्री खनालले अहिलेको सराकारबाट जनताको अपेक्षाअनुसारको गति नआएको स्वीकार गर्दै केही योजनाहरु बन्दै गरेको बताए । नेपालमा हरेक स्थानमा ‘सिन्डिकेट’ रहेको बताएका उनले त्यसको अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।
उनका अनुसार कृषिको लागी आवश्यक मल लगायतका कुराहरु सिण्डीकेटकै सञ्जालभित्र रहेको छ । उनले भने ‘मालपोत, नापी, वकिलदेखि अदालतसम्म जोडिएको दलालको गिरोहको संजाल छ ।’ जग्गादलालको गिरोहले गर्दा रुपन्देहीमा यही दरमा जग्गाको कारोबार कायम रहेमा अबको १० भित्रसबै वस्तुहरु किनेर खानुपर्ने अवस्था सिर्जना हुने दाबी गरे । यो समस्याले रुपन्देही, कपिलवस्तु, नवलपरासी लगायतका क्षेत्रहरुमा ठुलो रुप लिएको छ ।
‘यसअघि पनि हजारौं पटक अनुगमन भए, तर यसको कुनै अर्थ देखिएन’ उनले भने ‘आवश्यक नीति बनाएर अघि बढ्न जरुरी छ ।’ सरकार अझै कठोर भएर अगाडि बढ्ने उल्लेख गर्दै खनालले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको एजेन्डा अगाडि बढाउने जानकारी दिए । ‘हामीले हिजो उठाउदै आएको प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको एजेन्डा अगाडि बढाउछौं, यो आवश्यक छ, देशले खोजिरहेको छ ’ उनले भने ।
प्रकाशित समय : २०:२३ बजे

















