गृहपृष्ठ अमेरिका र चीनबीचको ‘ट्रेड वार’ शीत युद्धतर्फ
अमेरिका र चीनबीचको ‘ट्रेड वार’ शीत युद्धतर्फ
चीन र अमेरिकाबीच व्यापार युद्धको दायरा बढ्दै गएको छ । चीनको सेयर बजारमा यसको भारी असर परेको छ । ‘ट्रेड वार’का कारण एक सातायता चीनले स्विडेनको अर्थतन्त्रबराबरको क्षति व्यहोरिसकेको छ । यो वर्षको जनवरीको तुलनामा सांघाइ कम्पोजिट इन्डेक्समा १९ प्रतिशतले गिरावट आएको छ । शुक्रबार २,८८०.७६ को अंकमा आएर बन्द भएको छ ।
भारी गिरावट आएपछि चीनका सेयर लगानीकर्ता निकै डराएका छन् । उनीहरु सेयर किन्न छाडेर बेच्नतिर जोड गरिरहेका छन् । चीनको सेयर बजारमा देखिएको यस किसिमको असर सन् २०१५ पछि पहिलोपटक हो । साउथ चाइना मर्निङ पोस्टको रिपोर्टअनुसार चिनियाँ सेयर बजारमा यो हप्ता ५१४ अर्ब डलर घाटा भएको छ, जुन रकम स्विडेनको अर्थव्यवस्था बराबर हो ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको २०० अर्ब डलरमा अतिरिक्त शुल्क लगाउने चेतावनीपछि चीनले यो घाटा बेहोर्नुपरेको हो । सांघाइ कम्पोजिटमा पछिल्ला दुई वर्षभित्र ३४ प्रतिशतले सुधार आएको थियो । ब्लुमबर्गको एउटा रिपोर्टका अनुसार ट्रेड वारका कारण चिनियाँ बजारप्रति विदेशी लगानीकर्तासमेत सशंकित बनेका छन् । विदेशी लगानीकर्ताले गत मंगलबार ३०६.३ अर्ब युआनबराबरको सेयर बेचे भने बिहीबार ८३४.३ मिलियन युआनबराबरको सेयर बेचेको चिनियाँ सञ्चारमाध्यमको रिपोर्टमा उल्लेख छ ।
सांघाई कम्पोजिटमा भारी गिरावट आएपछि यसको असर संसारका कमजोर सेयर बजारसम्म पर्दै गएको छ । चीनले भने अमेरिकालाई जवाफ दिने बताउँदै आएको छ । आगामी साता यो व्यापार युद्धको असर अमेरिकी सेयर बजारमा पनि देखिने विश्लेषकहरुले बताएका छन् । अमेरिकाले सुरु गरेको यो स्थितिले ‘शीत युद्ध’को रुप लिनेसक्ने चेतावनी पनि विश्लेषकहरुले दिएका छन् ।
चीन र अमेरिका संसारका सबैभन्दा ठूलो अर्थतन्त्र भएका मुलुक हुन् । दुई देशबीच तनाव लम्बिएमा यसको असर संसारका सबै मुलुकको अर्थतन्त्रमा पर्नेछ । वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार भियतनाम र फिलिपिन्सको सेयर बजारमा पनि भारी गिरावट आएको छ । निक्केइ एसियन रिब्युका अनुसार अमेरिकाले जहिलेदेखि स्टिल र आल्मुनियममाथि अतिरिक्त शुल्क लगाउने घोषणा गर्यो, त्यसबेलादेखि नै विभिन्न मुलकका सेयर बजारमा ७८ खर्ब डलरको गिरावट देखिएको छ ।
प्रकाशित समय : ००:२३ बजे



















