गृहपृष्ठ प्रदेश प्रहरी ऐनसँगै निजामति र प्राविधिक ऐन ल्याउने तयारी : राउत
प्रदेश प्रहरी ऐनसँगै निजामति र प्राविधिक ऐन ल्याउने तयारी : राउत
प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले प्रहरी ऐन बनाउन लागेकाे बताएका छन् । नेपाल पत्रकार महासंघ प्रदेश नं. २ को विस्तारित बैठकको वीरगञ्जमा उद्घाटन गर्दै उनले प्रस्तावित उक्त ऐनमा ५० प्रतिशत महिला प्रहरी रहने व्यवस्था गरिने जानकारी दिए ।
राउतले प्रदेश सरकारले आगामी दिनमा निजामति सेवा ऐन तथा प्राविधिक सेवा ऐन ल्याउने तयारी गरिरहेको समेत जानकारी दिएका छन् । ‘प्रदेश प्रहरी भनेको प्रदेशको शान्ति सुरक्षाका लागि हो’, मुख्यमन्त्री राउतले भने, ‘संघीय सरकारको सुरक्षाका लागि होइन ।’
संघीयता आइसकेपछि प्रादेशिक शान्ति सुरक्षाको जिम्मा संघीय सरकारको नभई प्रदेश सरकारको भएकाले प्रदेश प्रहरी ऐन ल्याउन लागिएको उनकाे भनार्इ रहेकाे थियाे । ‘प्रदेशको विकास र समृद्धिका लागि हुलाकी राजमार्ग र सुनकोशी डाइभर्सनको निर्माण हुनुपर्छ ।’ मुख्यमन्त्री राउतले भने ।
उनले विकासको प्रचुर सम्भावना बोकेको २ नम्बर प्रदेशमा लगानी गर्न दातृ निकायलाई आग्रह गरे । प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्रदेश पत्रकारिता अध्ययन प्रतिष्ठान स्थापना गर्ने कार्य भएकाे जानकारी दिँदै यसबाट पत्रकारिता क्षेत्रको विकास हुने विश्वास व्यक्त गरे ।
एक दिने विस्तारित बैठकमा प्रदेश महासंघको अगामी कार्यदिशा, सांगठनिक व्यवस्थापकीय पक्ष, श्रमजीवी पत्रकार ऐनको कार्यविधि अवस्था र विश्लेषणबारे पनि छलफल हुनेछ ।
(रासस)
प्रकाशित समय : ००:११ बजे


















