काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बेलहियामा पर्यटक सूचना केन्द्र व्यवस्थित गरिने, एकद्वार प्रणाली छिट्टै लागू गर्ने मन्त्रीद्वयको प्रतिबद्धता

735
shares

रुपन्देही । नेपाल प्रवेश गर्ने प्रमुख स्थलमार्ग बेलहिया नाकामा पर्यटकले भोग्दै आएका प्रशासनिक झन्झट हटाउन प्रदेश सरकारले ‘एकद्वार प्रणाली’ लागू गर्ने भएको छ । लुम्बिनी प्रदेशका दुई मन्त्रीले बेलहियास्थित पर्यटक सूचना केन्द्रलाई व्यवस्थित बनाउँदै पर्यटकको आवागमन सहज र व्यवस्थित गर्ने प्रतिबद्धता जनाएका छन् ।

लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारु र शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री सन्तोषकुमार पाण्डेले बेलहियास्थित पर्यटक सूचना केन्द्रको अवलोकन तथा निरीक्षण गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन् ।

निरीक्षणका क्रममा मन्त्रीद्वयले नेपाल भित्रिने पर्यटकले सीमा प्रवेशकै बिन्दुमा सहज, छरितो र प्रभावकारी सेवा पाउनुपर्ने बताए । पर्यटकका लागि नेपाल प्रवेश गर्ने पहिलो बिन्दु नै देशको पहिचान र आतिथ्य सत्कारको सुरुआती अनुभव हुने भएकाले सूचना केन्द्रलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने उनीहरुको भनाइ थियो ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारुले बेलहिया नाका नेपाल प्रवेश गर्ने पर्यटकका लागि पहिलो सम्पर्क बिन्दु भएकाले यहाँको सेवा व्यवस्थित, सहज र पर्यटकमैत्री हुनुपर्नेमा जोड दिए । नेपाल भित्रिने पर्यटकले प्रवेश बिन्दुमै राम्रो अनुभव गर्न सके त्यसले समग्र नेपालको पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो । पर्यटक सूचना केन्द्रलाई प्रभावकारी रुपमा सञ्चालन गर्न तथा आवश्यक सेवा–सुविधा थप गर्न प्रदेश सरकारका तर्फबाट सहयोग र सहजीकरण गरिने उनले प्रतिबद्धता जनाए ।

यस्तै मन्त्री पाण्डेले बेलहिया नाकामा देखिँदै आएको चेकजाँच तथा प्रशासनिक झन्झट अन्त्य गर्न एकद्वार प्रणाली छिट्टै कार्यान्वयनमा ल्याइने बताए । त्यसका लागि अब धेरै महिना कुर्नु नपर्ने उनको भनाइ थियो ।

प्रस्तावित व्यवस्थाअनुसार साविककै झै नेपाल प्रवेश गर्ने पर्यटक तथा उनीहरुका सवारीसाधनको जाँच एकै स्थानमा गरिनेछ । त्यसका लागि सशस्त्र प्रहरी बल (एपीएफ), नेपाल प्रहरी, भन्सार कार्यालय र ट्राफिक प्रहरीको संयुक्त उपस्थिति रहने व्यवस्था मिलाइनेछ ।

सबै निकायबाट आवश्यक जाँच पूरा भएपछि पर्यटकलाई विशेष ‘कार्ड’ उपलब्ध गराइनेछ । उक्त कार्ड सवारीसाधनमा टाँस्न वा आफूसँगै राख्न सकिनेछ । त्यसपछि बाटोमा विभिन्न स्थानमा रोकेर पुनः जाँच गर्ने झन्झट हट्ने र कार्डकै आधारमा आवश्यक प्रक्रिया पूरा भएको पुष्टि गर्न सकिने मन्त्री पाण्डेको भनाइ छ ।

एकद्वार प्रणालीले विशेषगरी भारतीय पर्यटक तथा स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकको यात्रा सहज बनाउने अपेक्षा गरिएको छ । यसले सीमा क्षेत्रमा हुने अनावश्यक रोकावट घटाउनुका साथै पर्यटकको समय बचत र नेपालको पर्यटनमैत्री छवि निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री थारु र मन्त्री पाण्डेले पर्यटक सूचना केन्द्रको सेवा विस्तार तथा व्यवस्थापनका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग र नीतिगत प्रबन्ध मिलाउने प्रतिबद्धता पनि जनाएका छन् ।

लुम्बिनी, गौतमबुद्ध जन्मस्थल र आसपासका पर्यटकीय गन्तव्यमा आउने विदेशी पर्यटकका लागि बेलहिया प्रमुख प्रवेशद्वार हो । तर, सीमा प्रवेशपछि सूचना, सहजीकरण र विभिन्न निकायका प्रक्रियामा पर्यटकले झन्झट व्यहोर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा सूचना केन्द्रको प्रभावकारी सञ्चालन र एकद्वार प्रणालीको कार्यान्वयनले लुम्बिनी प्रदेशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।