गृहपृष्ठ प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजे आन्दोलन : कोइराला
प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजे आन्दोलन : कोइराला
नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले प्रेस स्वतन्त्रतालगायत मौलिक हकलाई नियन्त्रण गर्न खोजे आफ्नो पार्टी आन्दोलनमा उत्रने बताएका छन् । साँखुबाट प्रकाशित भइरहेको ‘लावण्य सन्देश’ साप्ताहिकको अाठाैं वार्षिकाेत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै काेइरालाले कांग्रेससँग इतिहास, सिद्धान्त र निष्ठावान् कार्यकर्ता भएकाले नागरिकका मौलिक हकमाथि अंकुश लगाउन खोजिए त्यसविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
‘प्रेस स्वतन्त्रता जनताको अधिकार हो’, काेइरालाले भने, ‘त्यसमाथि हुने कुनै पनि प्रकारको प्रहार र नियन्त्रण स्वीकार्य हुने छैन, प्रेस स्वतन्त्रताबिना अरु कुनै पनि स्वतन्त्रता पनि रहन सक्दैन ।’ कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले राजनीतिक पूर्वाग्रहका आधारमा लोककल्याणकारी विज्ञापन रोक्न खोजिए त्यसविरुद्ध महासंघ संघर्षमा जाने चेतावनी दिए ।
कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले पत्रकारिता क्षेत्रका चुनौती सामना गर्न स्वतन्त्रताप्रेमी एकजुट हुनुपर्ने धारणा राखे । नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले प्रेस स्वतन्त्रतामाथि सरकारका तर्फबाट हुन थालेको अनुदार काम, दबाव र नियन्त्रणमुखी प्रयास पत्रकारका लागि सह्य नहुने बताए । कार्यक्रममा पूर्वसांसद दीपकप्रसाद कुईंकेलले सरकारसँग प्रेस स्वतन्त्रताविरुद्धका कदम रोक्न माग गरे ।
(रासस)
प्रकाशित समय : ०२:४८ बजे



















