गृहपृष्ठ टाेनी क्रुजकाे निर्णायक गाेलले जर्मनीकाे उपाधि जित्ने सपना जीवितै बन्याे
टाेनी क्रुजकाे निर्णायक गाेलले जर्मनीकाे उपाधि जित्ने सपना जीवितै बन्याे
फुटवलर टोनी क्रुजले इञ्जुरी समयमा निर्णायक गोल गरेपछि डिफेन्डिङ च्याम्पियन जर्मनीले स्वीडेनलाई २–१ गोलअन्तरले पराजित गर्दै सन् १९६२ पछि लगातार उपाधि जित्ने सपना जीवितै राखेको छ ।
ब्राजिलले १९५८ र १९६२ मा लगातार विश्वकप जित्दै इतिहास रचेको थियो । तर, २०१४ को विश्वकप विजेता टोली जर्मनी ५६ वर्षअघिको इतिहास दोहोर्याउने लक्ष्यसहित यसपटकको विश्वकपमा सहभागी भएपनि सुरुवाती खेलमै मेक्सिकोसँग पराजित भएको थियो ।
यसजितसँगै जर्मनी दोस्रो चरणको नजिक पुगेको छ । तर, खतरा भने अझै टरेको छैन । समूह एफमा चारवटै टोलीको दोस्रो चरण पुग्ने सम्भावना कायमै छ । कुन टोली दोस्रो चरणमा पुग्ने ? कुराको निक्र्यौल बुधबार हुने मेक्सिको र स्वीडेनको साथै दक्षिण कोरिया र जर्मनीबीचको खेलले निर्धारण गर्नेछ ।
मेक्सिको लगातार २ खेलमा जित हात पार्दै ६ अंकका साथ शीर्षमा छ भने एक खेलमा जित र एक खेलमा हार बेहोरेका जर्मनी र स्वीडेन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । जर्मनीले बराबरी खेल्दा स्वीडेनले सामान्य जितबाट पनि उसलाई उछिन्दै अन्तिम १६ मा पुग्नेछ ।

भिक्टोर क्लासनले डीबक्सको मध्यभागमा उपलब्ध गराएको पासमा ओल्ड तोइभिनले ३२औं मिनेटमा गोल गर्दै स्वीडेनलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४८औं मिनेटमा मारिया गोमेजको पासमा मार्को राइजले गोल गर्दै जर्मनीका लागि बराबरी गोल फर्काएका हुन् । उनलाई प्रशिक्षक जोयचिम लोले मिसुज ओजिलको स्थानमा खेलाएका थिए ।
दोहोरो पहेलो कार्ड व्यहोरेका कारण जोर्मी बाउटिङ मैदान बाहिरिएपछि आखिरी १० मिनेटमा जर्मनी १० खेलाडीमा सीमित भएका थिए । तर, इञ्जुरी समयमा पाएको फ्रिकिकमा क्रुजले पेनाल्टी एरियाको बायाँ कर्नरबाट गरेको प्रहार गोलमा परिणत भएपछि जर्मनी लगातार दोस्रो हारबाट जोगिएको हो ।
१९७४ पछि पहिलो हाफमा पछि पर्दै दोस्रो हाफमा जित निकालेको जर्मनीले पहिलो पटक यस्तो व्यहोरेको हो । उसबेला पहिलो हाफमा १–०को अन्तरले पछि परेको जर्मनी दोस्रो हाफमा ४–२ले विजयी भएको थियो ।
टोनी क्रुजले ९४ मिनेट ४२ सेकेन्डमा गरेको गोल एक्स्ट्रा समयबाहेक जर्मनीले विश्वकपमा गरेको सबैभन्दा पछिल्लो समयको गोल हो । क्रुज पछिल्ला पाँच विश्वकप खेलका पाँच गोलमा संलग्न छन् । ३ गोल गरेका छन भने २ मा सहायकको भुमिका निर्वाह गरेका छन् ।
प्रकाशित समय : १३:३९ बजे


















