गृहपृष्ठ नगर प्रोफाइल नबनाई ‘स्मार्ट सिटी’ : जगबिनाको घर कि जनता भुलाउने काइदा ?
नगर प्रोफाइल नबनाई ‘स्मार्ट सिटी’ : जगबिनाको घर कि जनता भुलाउने काइदा ?
प्रधानमन्त्री केपी शर्मा ओलीका भाषणदेखि काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसम्मले बाँडेका ‘स्मार्ट’ सपना सार्थक हुने हो भने यो मुलुकका केही सहरले अहिलेसम्ममा विश्वका लोभलाग्दा सहरको खाका कोरिसकेका हुन्थे । तर, मोनोरेलमा सुलुलु यात्रा गराउने, सहर माथि–माथि केबुलकारको आनन्द दिलाउने र लामा–लामा फ्लाई ओभर निर्माण गर्ने ‘अभियान’मा जुटेका तीनै तहका सरकारहरुलाई नगर प्रोफाइल कति आवश्यक छ भन्नेबारे कुनै हेक्का छैन ।
चुनावताका ठूल्ठूला आश्वासन बाँडेका स्थानीय जनप्रतिनिधिले स्थानीय तह सम्हालेको १३ महिनामा नगर प्रोफाइलसम्म बनाउन सकेका छैनन् । राजधानी सहरमा रहेका काठमाडौं र ललितपुर महानगरपालिका तथा अन्य स्थानीय तहलाई नगर प्रोफाइलको बहुउपयोगिताबारे वास्तै छैन । केन्द्र र प्रदेश सरकारले पनि नगर प्रोफाइल निर्माणलाई प्राथमिकता दिएका छैनन् ।
चुनावताका ठूल्ठूला आश्वासन बाँडेका स्थानीय जनप्रतिनिधिले स्थानीय तह सम्हालेको १३ महिनामा नगर प्रोफाइलसम्म बनाउन सकेका छैनन् ।
काठमाडौं उपत्यकाका तीनवटा जिल्लामा दुईवटा महानगरपालिका, १६ वटा नगरपालिका र दुईवटा गाउँपालिका छन् । देशभर ६ वटा महानगरपालिका, ११ वटा उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन् । तर, कुनै पनि स्थानीय सरकारले नगर/गाउँ प्रोफाइल बनाएका छैनन् ।
काठमाडौं महानगरपालिकाको ‘जनप्रतिनिधिको सय दिन, कार्यप्रगति पुस्तिका’को ९३ नम्बर बुँदामा ‘होम एड्रेसिङ सिस्टम’लाई व्यवस्थित गर्ने कार्ययोजना रहेको जनाइएको छ । त्यस्तै, ९६ बुँदामा ‘काठमाडौं स्मार्ट सिटिजन कार्ड’ र ९८ नम्बर बुँदामा ‘स्मार्ट सिटीको पूर्वाधारका लागि आवश्यक म्युनिसिपल ब्रोडब्यान्ड स्थापना गर्ने’ उल्लेख छ ।
नगर प्रोफाइलका लागि यी पनि केही कम्पोनेन्ट हुन् तर हालसम्म त्यसको कामसमेत अघि बढेको छैन । जबकि, महानगरले १० महिनाअघि २०७४ भदौ २२ गते प्रकाशित गरेको कार्यप्रगति पुस्तिकामै ‘कार्ययोजना तयार गर्ने क्रममा रहेको’ उल्लेख छ । लज्जाको विषय त यो छ कि महानगरसँग काठमाडौंका घरकै एकीकृत विवरण छैन । नगरपालिकाहरुले भन्ने गरेका ‘स्मार्ट सिटी’को पहिलो खुट्किलो भनेकै नगर प्रोफाइल हो ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरसँग हालसम्म नगर प्रोफाइल नरहेको बताए । ‘अहिलेसम्म छैन तर महानगरपालिकाले चाँडै बनाउँछ,’ उनले भने । तर, शाक्यले महानगरको नेतृत्व सम्हालेको १३ महिना बितिसक्दा नगर प्रोफाइल निर्माणका लागि ठोस कदम अघि बढाएका छैनन् ।
राजधानी सहर रहेको उपत्यकाको अर्को महानगरपालिका ललितपुरको हालत पनि उस्तै छ । राजधानीबासीसँग ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पनि ठूल्ठूला आश्वासन बाँडेका छन् । महानगरको बागडोर सम्हालेको एक वर्ष बितिसक्दा विकासमा अनेकौं अड्चन देखेका प्रमुख महर्जनले पनि नगर प्रोफाइल कति आवश्यक छ भन्ने भुलिरहेका छन् ।

महानगरपालिका हालसम्म पनि २०६८ सालको राष्ट्रिय जनगणनाकै भरमा छ । ‘हामीसँग केही तथ्यांक छन् तर नगर प्रोफाइल बनेको छैन,’ महानगरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद दहालले भने, ‘आगामी वर्ष त्यसको तयारीमा छौं ।’ नगरका विकास योजना निर्माणका लागि पनि नगर प्रोफाइल अपरिहार्य रहेको उनले बताए ।
भक्तपुर नगरपालिकाले पनि नगर प्रोफाइल बनाएको छैन । नगर प्रमुख सुनिल प्रजापतिले नगर प्रोफाइल बनाउने विषय छलफलकै चरणमा रहेको बताए । ‘हामी छलफलकै चरणमा छौं, तर नगर प्रोफाइल बनाउन नमुना फाराम बनाइसकेका छौं,’ उनले भने, ‘प्रारम्भिक चरणमै भए पनि तथ्यांक संकलनका लागि १० जनालाई तालिम दिइरहेका छौं ।’
नगर प्रमुख प्रजापतिले नगर प्रोफाइल निर्माणलाई पाइलट प्रोजेक्टका रुपमा अघि बढाइरहेको जानकारी गराए । तर, आगामी वर्षका लागि आइतबार सार्वजनिक हुने बजेटमा भने नगर प्रोफाइल निर्माणलाई प्राथमिकता दिइएको छैन । भक्तपुर नगरपालिकाले पनि २०६८ सालको राष्ट्रिय जनगणनाकै बेला लिइएको करिब १७ हजार घरको तथ्यांकका भरमा काम चलाइरहेको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवं एसएसपी शैलेश थापा क्षेत्री सुरक्षाका हिसाबले नगर प्रोफाइल आधारभूत ‘कम्पोनेन्ट’ भएको बताउँछन् । ‘हाल सुरक्षा निकायले आफ्नो अनुकूलताका लागि आफ्नै हिसाबले प्लान बनाइरहेको छ,’ उनी भन्छन्, ‘नगर प्रोफाइल हुने हो भने सुरक्षा व्यवस्था धेरै सहज हुन्छ ।’ विकसित देशमा कुन घरमा कति कुकुर छन्, कसले कुन साइजको टेलिभिजन किनेको छ भन्नेसमेत स्थानीय सरकारलाई थाहा हुन्छ भने हामीकहाँ घर र मानिसको समेत एकीकृत तथ्यांक नराखिनु गलत भएको प्रवक्ता थापाले बताए ।
के-के रहन्छ नगर प्रोफाइलमा ?
नगर प्रोफाइल भनेको नगरको विस्तृत फेहरिस्त हो । यसमा नगरमा कति घर छन् ? कस्ता कति घर र जग्गा छन् ? ती घर मापदण्डअनुरुप बनेका छन् कि छैनन् ? घर कति तले छन् ? ती घरमा को-को बस्छन् ? कति घर आफू बस्नका लागि बनाइएका छन् र कति व्यावसायिक प्रयोजनका लागि बनाइएका छन् ? व्यावसायिक प्रयोजनमा दिइएका घरमा कस्ता-कस्ता व्यवसाय सञ्चालन हुन्छन् ? कस्ता-कस्ता पेसा र व्यवसायका मानिस बस्छन् ? भाडामा दिइएका घरमा कस्ता गतिविधि सञ्चालन भइरहेका छन् ? कोठा या फ्ल्याट भाडामा लिनेहरु को हुन् ? उनीहरु के गर्छन् ? लगायतका सबै तथ्य रहन्छ ।
त्यस्तै, नगर प्रोफाइलमा प्राकृतिक तथा पुरातात्विक सम्पदा, यातायात, सडक, तालतलैया, धारा, पाटीपौवा, स्वास्थ्य संस्था, शिक्षण संस्थाका साथै सम्पूर्ण व्यावसायिक-गैरव्यावसायिक संघ-संस्था एवं धर्म-संस्कृतिसम्मको एकीकृत विवरण हुन्छ । विकसित देशहरुमा इलेक्ट्रोनिक सामानदेखि बस्तुभाउ र कृषिउपजसम्मको फेहरिस्त सरकारसँग हुन्छ ।
किन चाहिन्छ नगर प्रोफाइल ?
नगर प्रोफाइलको महत्व धेरै ठूलो छ । नगरको विकास योजना निर्माण र बजेटिङ नगर प्राफाइलकै आधारमा गरिन्छ । यसले सुरक्षा व्यवस्थादेखि सार्वजनिक सेवा प्रवाहसम्ममा सहजता प्रदान गर्छ । पुरातात्विक सम्पदाको संरक्षण र सम्वर्धनका साथै पर्यटन प्रवर्धनमा समेत नगर प्रोफाइलले ठूलो अर्थ राख्छ ।
एउटा अद्यावधिक तथ्यांक पानी वितरण गर्न, घरभाडा उठाउन, सुरक्षा प्रदान गर्न, विपद व्यवस्थापन गर्न, सरसफाइ गर्न अर्थात् नागरिकलाई सबै किसिमका सेवा सहज ढंगले सेवा प्रदान गर्न महत्वपूर्ण हुन्छ । नागरिकलाई करको दायरामा ल्याउन पनि यसको उत्तिकै महत्व छ । नगरमा यातायात व्यवस्थापनदेखि जनचेतना अभिवृद्धि गर्नसम्म नगर प्रोफाइलले ठूलो अर्थ राख्छ । नगरभित्रका जग्गाको पहिचान हुने भएकाले कृषियोग्य जमिन र सहर बसाउन योग्य जमिन वर्गीकरण गर्न सकिन्छ । नगर प्रोफाइलले सरकारी निकायहरुलाई सहज ढंगले जोड्नसक्ने भएकाले यसको बहुउपयोग छ ।
प्रकाशित समय : १७:२१ बजे


















