गृहपृष्ठ सबै बस्तीमा यातायातको सञ्जाल
सबै बस्तीमा यातायातको सञ्जाल
घोराही उपमहानगरपालिकाले भौतिक पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिँदै चक्रपथ निर्माण, प्रमुख नदीको दायाँबायाँ करिडोरसँगै सबै टोल बस्तीमा यातायातको सञ्जालले जोड्ने प्रस्ताव अघि बढाएको छ ।
शनिवार सम्पन्न तेस्रो नगरसभा अधिवेशनमा नगर प्रमुख नरुलाल चौधरीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा जानकारी दिँदै नगरको केन्द्रबाट सबै वडा केन्द्रलाई जोड्न एक–एक वटा सडक छनोट गरी कालोपत्रे गर्ने, दुर्गम बस्तीबाट कम्तीमा आधा घण्टा पैदल हिँडेर यातायात भेट्न सकिने गरी सडक निर्माण गर्ने कुरा उल्लेख छ ।
कृषिलाई प्रवर्द्धन गर्न सिँचाइ सुविधा बढाउनका लागि कटुवा र गुज्रेखोलामा बाँध बनाउने, सिँचाइ सुविधा नभएका स्थानमा डिप बोरिङ निर्माण साना पोखरी निर्माण र थोपा सिँचाइ प्रणाली अवलम्बन गर्ने बताइएको छ ।
त्यस्तै भू–उपयोग नीति बनाएर बस्ती विकास, आवास विकास, बजार व्यवस्थापन, कृषि तथा व्यवसाय क्षेत्रको वर्गीकरण गरी व्यवस्थित विकासको नीति ल्याइएको छ ।
नगर क्षेत्रमा बन्ने भौतिक संरचनाहरु बालमैत्री, अपाङ्गमैत्री, ज्येष्ठ नागरिकमैत्री र महिलामैत्री बनाइने, आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क बनाउन सिकलसेल एनिमिया रोगको निःशुल्क ल्याब परीक्षणको व्यवस्थासमेत मिलाइनसमेत नीति तथा कार्यक्रममा समेटिएको छ ।
(रासस)
प्रकाशित समय : २०:०५ बजे


















