गृहपृष्ठ यातायात र वैदेशिक रोजगारपछि सरकारको आँखा पर्यटन व्यवसायीतिर
यातायात र वैदेशिक रोजगारपछि सरकारको आँखा पर्यटन व्यवसायीतिर
यातायात र वैदेशिक रोजगारपछि सरकारले अवैध गतिविधि सञ्चालन गर्ने पर्यटन व्यवसायीमाथि निगरानी बढाएको छ । पर्वतारोहण क्षेत्रमा पदयात्राका क्रममा मनोमानी गर्ने ट्रेकिङ एजेन्सी, ट्राभल एजेन्सी, अस्पताल, रेस्क्यु कम्पनी तथा हेलिकप्टर कम्पनीमाथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कारबाही अघि बढाएको हो ।
पदयात्राका क्रममा बिरामी विदेशी पर्यटकको उद्धार गर्ने क्रममा चर्को शुल्क लिनेहरुको पहिचान गरी कारबाही अघि बढाउन मन्त्रालयले सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । विदेशी पर्यटकलाई पर्यटन व्यवसायी र अस्पतालको मिलेमतोमा बिरामी बनाएर अस्पताल लैजाले र गलत रिपोर्ट बनाएर चर्को रकम असुल्ने गरेको पाइएपछि तिनको पहिचानका लागि मन्त्रालयले समिति गठन गरेको हो । गलत गर्ने कम्पनी तथा व्यवसायीमाथि छानबिन गरी समितिले १५ दिनभित्र मन्त्रालयमा प्रतिवेदन बुझाउनेछ ।
सहसचिव एवं समिति संयोजक उपाध्यायले गलत गर्ने व्यवसायी कति छन् टुंगो लागि नसकेको बताए । ‘छानबिनकै चरणमा छाैं, समितिलार्इ असार १५ सम्मको समय दिइएको छ,’ उनले भने, ‘समय अपुग हुने भएकाले थप हुन्छ ।’ कति व्यवसायीले गलत गरिरहेका छन् भन्ने प्रारम्भिक तथ्यांक पनि उपलब्ध नभइसकेको संयोजक उपाध्यायले जानकारी दिए ।
मन्त्रालयका अनुसार मनोमानी गर्ने करिब सयजना व्यवसायीविरुद्ध उजुरी नै परिसकेको छ । समितिले विदेशी पर्यटकको उद्धार भएको मिति, स्थान, समय, बिरामीको नाम, हेलिकप्टरको भाडा, अस्पतालको नाम र अन्य सम्पूर्ण विवरण लिएर छानबिन गर्ने समितिले विदेशी पर्यटकको उद्धार भएको मिति, स्थान, समय, बिरामीको नाम, हेलिकप्टरको भाडा, अस्पतालको नाम र अन्य सम्पूर्ण विवरण लिएर छानबिन गर्नेछ ।
व्यवसायीले पर्यटन क्षेत्रमा व्यापक अवैध धन्दा चलाइरहेको गुनासो पटक–पटक आइरहे पनि शक्तिकेन्द्रको आडमा यसअघि छानबिन हुन सकेको थिएन ।

प्रकाशित समय : २०:५० बजे


















