घिउको बजार माग धान्न अस्थायी रुपमा बटर आयात खोल्नु पर्छ : केडिया
वि.सं.२०८३ कात्तिक २२ आइतवार १०:०८
shares

सारांश
- स्वदेशी उत्पादनले बजारको माग धान्न नसकेको अवस्थामा निश्चित अवधिका लागि यस्तो सुविधा दिनुपर्ने उनको भनाइ छ ।
- विगतमा प्रशोधन प्रविधि र कच्चा दूधको गुणस्तरमा समस्या भए पनि अहिले उद्योगले उत्पादनको गुणस्तर सुधार गरेको उनको भनाइ छ ।
- नेपाली उत्पादन प्रयोग गरेर आवश्यक सुधारका विषयमा उद्योगलाई सुझाव दिनुपर्ने उनले बताए ।
काठमाडौं । चाडपर्वको समयमा घिउको माग उच्च भए पनि स्वदेशी डेरी उद्योगले बजारको मागअनुसार आपूर्ति गर्न सकेका छैनन् । दूध उत्पादन अपेक्षित रूपमा नबढ्नु र सीमाबाट हुने अनौपचारिक आयात नियन्त्रणमा आउनुले घिउ तथा बटरको आपूर्तिमा दबाब परेको उद्योगीले बताएका छन् ।
सीताराम गोकुल मिल्क्स प्रालिका निर्देशक तथा नेपाल डेरी एशोसियसनका पूर्व अध्यक्ष समेत रहेका सुमित केडियाले उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थका रूपमा १५ केजीका प्याकेटमा बटर आयात गर्न अनुमति दिन सरकारसँग माग गरेका छन् । स्वदेशी उत्पादनले बजारको माग धान्न नसकेको अवस्थामा निश्चित अवधिका लागि यस्तो सुविधा दिनुपर्ने उनको भनाइ छ ।
केडियाका अनुसार उनको उद्योगले सामान्य अवस्थामा मासिक करीब १० टन घिउ बिक्री गर्दै आएकोमा अहिले साढे ३ टनभन्दा बढी आपूर्ति गर्न सकेको छैन । यसअनुसार उद्योगको घिउ आपूर्ति सामान्य अवस्थाको तुलनामा ६५ प्रतिशतभन्दा बढी घटेको छ ।
‘मिठाई पसल, होटल र रेस्टुरेन्टबाट लगातार माग आइरहेको छ, तर हामीले दिन सकिरहेका छैनौं,’ उनले भने, ‘हामीसँग वर्षभरिका लागि आपूर्ति सम्झौता गरेका ग्राहकलाई समेत मागअनुसार सामान दिन नसक्दा व्यावसायिक सम्बन्धमा समस्या पर्न थालेको छ ।’
उनका अनुसार दूध उत्पादन बढ्ने मौसम शुरू भए पनि किसानबाट संकलन हुने दूध अपेक्षित रूपमा बढ्न सकेको छैन । सामान्य अवस्थामा दैनिक ३५ देखि ४० लाख लिटरको हाराहारीमा पुग्ने दूध उत्पादन अहिले अपेक्षित स्तरमा पुग्न नसकेको उनले बताए ।
नेपालमा कात्तिकदेखि फागुनसम्म दूध उत्पादन बढ्ने समय मानिन्छ । तर यस वर्ष उक्त अवधिमा उत्पादन अपेक्षित रूपमा नबढ्दा डेरी उद्योगले घिउ र बटर उत्पादनका लागि आवश्यक कच्चा पदार्थ पर्याप्त पाउन सकेका छैनन् ।
त्यसमाथि भारतबाट अनौपचारिक रूपमा आउने दुग्ध पदार्थको आपूर्ति नियन्त्रणमा आउँदा बजारमा थप अभाव देखिएको केडियाको विश्लेषण छ । विगतमा स्वदेशी उत्पादन र अनौपचारिक आयात दुवैले बजारको माग धान्न सहयोग गरेको भए पनि अहिले अनौपचारिक आपूर्ति घट्दा बजारमा अन्तर बढेको उनले बताए ।
उनले अनौपचारिक आयात नियन्त्रणलाई सकारात्मक रूपमा लिए पनि त्यसको विकल्पमा उद्योगलाई आवश्यक कच्चा पदार्थ आयात गर्न लचिलो व्यवस्था गर्नुपर्ने बताए । ‘हामीले सबै दुग्ध पदार्थ आयात गर्न दिनुपर्छ भनेका छैनौं । उद्योगको कच्चा पदार्थका रूपमा प्रयोग हुने १५ केजीको बटर केही समयका लागि आयात गर्न अनुमति दिनुपर्छ भन्ने मात्रै हाम्रो माग हो,’ उनले भने ।
उद्योगले आयात गरेको बटरबाट घिउ उत्पादन गरी बजारमा आपूर्ति गर्न सक्ने र स्वदेशी दूध उत्पादन बढेपछि आयात रोक्न सकिने उनको भनाइ छ । सरकारले आयात नीति बजारको अवस्था र उद्योगको आवश्यकताअनुसार समयमै परिवर्तन गर्नुपर्ने उनले बताए ।
घिउको अभावले उपभोक्ताको उपभोग व्यवहारमा समेत परिवर्तन आउन सक्ने उनले बताए । बजारमा घिउ उपलब्ध नभए उपभोक्ताले विकल्पका रूपमा खानेतेल प्रयोग गर्न सक्ने र त्यसले स्वदेशी डेरी उद्योगको बजारसमेत प्रभावित पार्ने उनको भनाइ छ ।
पाउडर र बटरको मौज्दातबाट अभावको अवस्थासम्म
केडियाका अनुसार केही वर्षअघि नेपालमा दूध उत्पादन बढ्दा बजारमा खपत हुन नसकेको दूधबाट उद्योगले पाउडर र बटर उत्पादन गरी भण्डारण गर्ने गरेका थिए । त्यसबेला मौज्दात बढ्दा उद्योगको भुक्तानी चक्र प्रभावित हुने र किसानले दूधको पैसा पाउन ढिलाइ हुने अवस्था थियो ।
तर अहिले अवस्था फेरिएको छ । उद्योगसँग दूध पाउडर र बटरको पर्याप्त मौज्दात छैन भने किसानको भुक्तानीमा पनि विगतको तुलनामा सुधार आएको उनले बताए । उनका अनुसार अहिले किसानको भुक्तानीमा पहिलेको जस्तो समस्या छैन ।
उनले नेपाली डेरी उद्योगको उत्पादन क्षमता र गुणस्तरमा पनि सुधार आएको दाबी गरे । विगतमा प्रशोधन प्रविधि र कच्चा दूधको गुणस्तरमा समस्या भए पनि अहिले उद्योगले उत्पादनको गुणस्तर सुधार गरेको उनको भनाइ छ ।
होटल तथा रेस्टुरेन्ट व्यवसायीले नेपाली दुग्ध पदार्थको गुणस्तरबारे पुरानो धारणा परिवर्तन गर्नुपर्ने उनको आग्रह छ । नेपाली उत्पादन प्रयोग गरेर आवश्यक सुधारका विषयमा उद्योगलाई सुझाव दिनुपर्ने उनले बताए ।
यसैबीच, राज्यले सार्वजनिक क्षेत्रको दुग्ध विकास संस्थान (डीडीसी) लाई मात्र प्रवद्र्धन गरेको सन्देश जान नहुने भन्दै केडियाले निजी क्षेत्रका डेरी उद्योगलाई पनि समान रूपमा प्रोत्साहन गर्नुपर्ने बताए । प्रधानमन्त्रीलगायत राज्यका उच्च पदाधिकारीले सार्वजनिक र निजी दुवै क्षेत्रका दुग्ध पदार्थ प्रयोग गर्दा बजारमा सकारात्मक सन्देश जाने उनको भनाइ छ ।

























