गृहपृष्ठ तातोपानी नाका खुल्न अझै वर्षदिन लाग्ने
तातोपानी नाका खुल्न अझै वर्षदिन लाग्ने
भूकम्पका कारण बन्द भएको नेपाल र चीन जोड्ने सबैभन्दा छोटो तातोपानी खासा नाका संञ्चालनमा आउन अझै वर्ष दिन लाग्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नाका खुला गर्ने विषयमा चीनसंग सहमति गरेर स्वदेश फर्कीएपनि भौतिक पूर्वाधारको निर्माणको लागी धेरै तयारी गर्नुपर्ने भएकाले कार्यान्वयनको लागी भने अझै वर्ष दिन कुर्नुपर्ने भएको हो ।
६ दिने चीन भ्रमण सकेर आर्ईतबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै ओलीले नका शीघ्र खुल्ने बताएका थिए । तर भूकम्पपछि सुरक्षाको कारण देखाउँदै चीन सरकारले बन्द गरेको सो नाका तत्काल नखुल्ने जनाईएको छ ।
दुई महिनापछि नेपाल तर्फको सडक पनि मर्मत गरिदिने र अर्काे वर्षको मे १९ तारिख सम्ममा नाका खोल्ने चीनीया पक्षको भनाई छ : भोटेकोशी गाउँपालिकाका प्रमुख राजकुमार पौडेल
नाका खोल्नका लागि जिल्लाका राजनीतिक दल, उद्योगी, व्यवसायी तथा सरोकारवाला समुदायले चीन सरकारसँग पटक–पटक आग्रह गर्दै आएको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताए । ‘पटक पटक राजनीतिक दलको टोलीले नाका खुलाउन विशेष आग्रह गर्दै ध्यानाकर्षण गराउदै आएका छौं’ पौडेलले न्युज कारोबारसँग भने, ‘अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे खण्डसम्मको अवस्था राम्रो भए पनि त्यसभन्दा माथिको विग्रीएको सडक राम्रो बनाएपछि मात्र खोल्ने चीनको भनाई छ ।’ पहिरोले सडक विभिन्न ठाउमा भासिएको उनले बताएका छन् ।
चीनले आफ्नो भूमीमा हुन सक्ने असुरक्षाको कारण देखाउदै भन्सार, सडकको मर्मत तथा अध्यागमन कार्यालयलाई थप व्यवस्थित बनाउन आग्रह गरेको गाउँपालीका प्रमुख पौडेलले बताए । ‘दुई महिनापछि नेपाल तर्फको सडक पनि मर्मत गरिदिने र अर्काे वर्षको मे १९ तारिख सम्ममा नाका खोल्ने चीनीया पक्षको भनाई छ’ पौडेले भने ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणमा नेपाल सरकारको प्रस्तावमा चीन सरकारले नै सो नाका जोड्ने मितेरी पुल निर्माण गर्ने सम्झौता भएको छ । प्रधानमन्त्रीको भ्रमणका क्रममा नाका खोल्ने र पुल निर्माण गर्नेसम्बन्धी सम्झौतापत्रमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी र चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री कोङ झेङयूले हस्ताक्षर गरेका छन् ।
प्रकाशित समय : ०२:१९ बजे



















