गृहपृष्ठ तरकारी बोक्ने गाडी पल्टिँदा एकको मृत्यु, ६ घाइते
तरकारी बोक्ने गाडी पल्टिँदा एकको मृत्यु, ६ घाइते
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ स्थित ओपीमा आज बिहान मिनीट्रक पल्टिँदा एकजनाको मुत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मेहन्द्रप्रसाद मरासिनीका अनुसार रविओपीको छहारेबाट बनेपातर्फ तरकारी लिएर आउँदै गरेको बा२ख ३४१२ नम्बरको मिनी ट्रक पल्टिएको हो ।
दुर्घटनामा घाइते भएकी मण्डनदेउपुर नगरपालिका–४ की ४० वर्षीया ललीमाया तामाङको धुलिखेल सामुदायिक अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । अन्य घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
गाडी अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खोल्सामा खस्दा विस्फोट भई आगलागी भएको थियो । आगो निभाउन बोलाएको बनेपा नगरपालिकाको दमकल करिब ६/७ मिनेटको दूरीमा रहेको घटनास्थलमा एक घण्टापछि मात्रै पुगेको भन्दै स्थानीय बासिन्दा आक्रोशित भएका थिए । दमकल समयमा नपुगेपछि प्रहरी र स्थानीय बासिन्दाले गाडीमा लागेको आगो नियन्त्रणमा लिएका थिए ।
(रासस)
प्रकाशित समय : १९:०८ बजे



















