गृहपृष्ठ वन उपभोक्ता महासंघका ६ सय ६२ प्रतिनिधि बुटवलमा
वन उपभोक्ता महासंघका ६ सय ६२ प्रतिनिधि बुटवलमा
कृष्ण खनाल
बुटवल
सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश ५ को प्रथम अधिवेशन सुरु भएको छ । अधिवेशनको शुक्रबार उद्घाटन गर्दै प्रदेश ५ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले नेपालमा वन विकासका लागि सामुदायले महत्वपूर्ण योगदान पुर्याएको बताए ।
‘समुदायबाट वन खोसिन्छ कि भन्ने भ्रममा नपर्न म सबैसँग आग्रह गर्छु,’ उनले भने, ‘नेपालमा समुदायमा वन हस्तान्तरण भएपछि विश्वलाई नै नमुनाको रुपमा देखाउने गरी वन संरक्षण भएको छ ।’ सामुदायिक वनले उपभोक्ताको जीवनस्तर माथि उठाउन सहयोग पुगेको उनको भनाइ छ ।
सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय उपाध्यक्ष भीमप्रकाश खड्काले वनलाई स्थानीय सरकारमातहत ल्याइनुपर्ने बताए । प्रदेश नम्बर ५ को अविधेशनका लागि बुटवलमा भेला भएका उपभोक्ता नेताहरुले स्थानीय तहले नै नीति बनाएर वन व्यवस्थापन गर्नुपर्ने बताए ।
मुलुकभर २२ हजार २ सय ६६ वन उपभोक्ता समितिले २२ लाख ३६ हजार हेक्टर वन संरक्षण गरेको महासंघले जनाएको छ । महासंघका प्रदेश संयोजक मोहम्मद फर खाँले वन जोगाउने, परिचालन गर्ने र उपभोग गर्ने जिम्मा समुदायलाई नै छाड्नुपर्ने माग गरे । उनका अनुसार एक दशकभित्र ४ प्रतिशत वन क्षेत्र बढेको छ ।
शुक्रबार र शनिबार दुई दिन चल्ने अधिवेशनमा प्रदेश ५ का १२ जिल्लाका ६ सय ६२ प्रतिनिधि सहभागी छन् । अधिवेशनले ५० सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।
प्रकाशित समय : २२:१४ बजे