गृहपृष्ठ प्रदेश ४ मा प्रतिपक्षी दल कांग्रेसद्वारा प्रदेशसभा अवरोध
प्रदेश ४ मा प्रतिपक्षी दल कांग्रेसद्वारा प्रदेशसभा अवरोध
प्रदेश ४ को अाइतबार बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेको छ । बैठकको सुरुमा नै प्रदेशसभामा पहिले टेबल भएका विधेयक र प्रस्ताव पहिले नै छलफल गरी टुंग्याउनुपर्ने मागसहित कांग्रेसले सभा अवरोध गरेको हो । कांग्रेसले प्रदेशको नामका बारेमा पहिले निर्णय गरेरमात्रै बैठक अघि बढाउन आग्रह गरेको छ । २०७४ चैत १२ गते गठित नामांकन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले जेठ २१ गतेको बैठकमा उपयुक्त नामलाई प्राथमिकीकरण गरी प्रदेशसभामा प्रतिवेदन बुझाएको थियो ।
कांग्रेसले नियतबस नामका विषयमा छलफल नचलाइएको भन्दै सभामै नाराबाजीसमेत गरेको छ । प्रदेशसभाको गरिमा राख्नुपर्ने मागसहित नाराबाजी गरिएपछि आधा घण्टाका लागि संसद् स्थगित गरिएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठक दलबीच सहमति जुट्न नसकेपछि ४.५५ बजेमात्रै बैठक सुरु भएको थियो ।
बैठकको सुरूमै कांग्रेसका प्रदेशसभा सदस्यहरु उठेर विरोध जनाएपछि सभामुखले कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई बोल्न दिएका थिए । नेता नेपालीले कुनै पनि हालतमा नाम नटुंग्याएसम्म सदन चल्न नदिने धारणा राखे । उनले बजेटलाई भने नरोक्ने बताउँदै बजेटका लागि सहयोग गर्न तयार भएको बताए । त्यसपश्चात् सभामुखले संसद्को कारबाही बढाउन लागे पनि रोस्ट्रम अघि गएका कांग्रेसका सदस्यले नारा लगाएपछि पुनःआधा घण्टाका लागि बैठक स्थगित भएको छ । (रासस)
प्रकाशित समय : ००:४६ बजे



















