काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइने

819
shares

काठमाडौं । सरकारले सङ्घीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक, बालविकास सहजकर्ता र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाएको छ ।

सामाजिक सुरक्षाको दायरा विस्तार गर्दै सबै श्रमजीवी नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा समेट्ने नीतिअनुसार सरकारले नीतिगत तथा संस्थागत पहल अघि बढाएको हो ।

नवौँ सामाजिक सुरक्षा दिवस, २०८३ का अवसरमा आयोजित कार्यक्रममा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले सामाजिक सुरक्षा सबै श्रमिकको साझा अधिकार र सुरक्षित भविष्यको आधार भएको बताइन ।

उनका अनुसार चालु आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा कोष खर्च शीर्षकअन्तर्गत विनियोजित एक अर्ब ८० करोड ६३ लाखबाट सङ्घीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक र बालविकास सहजकर्तालाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने प्रक्रिया थालिएको छ ।

त्यसैगरी, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई कोषमा आबद्ध गराउन सरकारले सहयोग गर्ने व्यवस्था अघि बढाइएको छ । स्थानीय तहको सहयोगमा कोषमा आबद्ध हुने श्रमिकका लागि हाललाई एक प्रतिशत बराबरको योगदान सरकारले जम्मा गरिदिने व्यवस्था गरिएको मन्त्री बादीले जानकारी दिइन ।

मन्त्री बादीले सामाजिक सुरक्षा प्रणालीको विस्तारसँगै विभिन्न निकाय र क्षेत्रमा छरिएर रहेका कल्याणकारी कोष तथा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमलाई एकीकृत र समन्वय गर्नुपर्ने आवश्यकता औँल्याइन । सेवा प्रवाहलाई योगदानकर्तामैत्री, पारदर्शी, सरल र प्रभावकारी बनाउनुका साथै कोषको संस्थागत क्षमता विकास सरकारको प्राथमिकतामा रहेको उनले बताइन ।

सामाजिक सुरक्षालाई रोजगारदातामाथिको अतिरिक्त आर्थिक भारका रूपमा नभई श्रमिकको क्षमता, उत्पादकत्व, श्रमको सम्मान र संस्थागत स्थायित्वमा गरिएको लगानीका रूपमा बुझ्नुपर्ने मन्त्री बादीको भनाइ थियो ।

हाल सामाजिक सुरक्षा कोषमा ३३ लाखभन्दा बढी योगदानकर्ता र करिब २४ हजार रोजगारदाता सूचीकृत भएका छन् । कोषमा एक खर्ब ३३ अर्ब २६ करोडभन्दा बढी योगदान रकम सङ्कलन भएको छ भने २३ अर्ब २६ करोडभन्दा बढी दाबी भुक्तानी भइसकेको छ ।

संविधानले सामाजिक सुरक्षालाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री बादीले योगदानमा आधारित र गैरयोगदानमूलक सामाजिक सुरक्षा प्रणालीलाई एकअर्काका पूरकका रूपमा विकास गरी नागरिकको जीवनचक्रमा आधारित सामाजिक संरक्षण सुनिश्चित गर्नुपर्ने बताइन ।

यस वर्षको नवौँ सामाजिक सुरक्षा दिवस ‘सामाजिक सुरक्षा कोषमा आबद्धता :वर्तमान र भविष्यको सुरक्षा’ भन्ने नारासहित मनाइएको हो ।