काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सङ्खुवासभामा क्षयरोगी पहिचान गर्न १० दिने अभियान

651
shares

सङ्खुवासभा । जिल्लामा क्षयरोगका नयाँ बिरामी पहिचान गर्ने उद्देश्यले आगामी पुस १ देखि १० गतेसम्म १० वटै स्थानीय तहमा विशेष खोज तथा पहिचान अभियान सञ्चालन गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सदरमुकाम खाँदबारीमा आयोजना गरेको जिल्लास्तरीय क्षयरोग कार्यक्रमको योजना तर्जुमा, विश्लेषण तथा समीक्षा कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

क्षयरोगका नयाँ बिरामी खोजी गर्ने, प्रयोगशालामा परीक्षणको दायरा बढाउने तथा रोगी पहिचान र उपचारलाई प्रभावकारी बनाउने १० दिने अभियान सञ्चालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाका क्षयरोग फोकल पर्सन विनोद थापाले बताए ।

गत आर्थिक वर्षमा जिल्लामा सञ्चालन भएका क्षयरोगसम्बन्धी कार्यक्रमको समीक्षा गर्दै नयाँ बिरामी पहिचान, उपचारमा रहेका बिरामीको अवस्था र उपचारपछि निको भएकाहरूको तथ्याङ्कसमेत विश्लेषण गरिने क्षयरोग फोकल पर्सन थापाले बताए । जिल्लामा हालसम्म ८२ जना क्षयरोगका बिरामी पहिचान भएका छन् भने चालु आवको साउनयतामात्रै ३० जना नयाँ बिरामी फेलापरेका छन् ।

कोशी प्रदेशमा चार हजार ७४५ जना क्षयरोगका बिरामी रहेका छन् । चार हजार ७४५ जनामध्ये सबैभन्दा बढी सुनसरीमा एक हजार ३३० जना र सबैभन्दा कम सोलुखुम्बुमा २१ जना क्षयरोगका बिरामी रहेको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाकी फोकल पर्सन सुजाता बुढाथोकीले जानकारी दिए ।

क्षयरोग नियन्त्रणका लागि समयमै रोग पहिचान, नियमित परीक्षण र औषधिको पूर्ण मात्रा सेवन महत्त्वपूर्ण रहेको भन्दै उनले स्थानीय तह तथा स्वास्थ्य संस्थाबीच समन्वय आवश्यक रहेको बताए । शनिबारसम्म सञ्चालन हुने समीक्षा कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, प्रयोगशाला प्रमुख तथा स्वास्थ्यकर्मीको सहभागिता रहेको छ ।

कार्यक्रममा जिल्लामा क्षयरोग नियन्त्रणका लागि भएका प्रयास, उपलब्धि, समस्या र आगामी कार्ययोजनाबारे छलफल भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेश भट्टले बताए । क्षयरोग नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य संस्थाको प्रभावकारी भूमिका, नियमित परीक्षण, पहिचान र उपचारलाई प्राथमिकता दिनुपर्ने बताए ।

कार्यक्रममा जिल्लामा क्षयरोग परीक्षण तथा पहिचानका लागि उपलब्ध प्रयोगशाला, स्वास्थ्य संस्था र उपकरणको अवस्थाबारे पनि जानकारी गराइएको थियो । जिल्लामा १८ वटा स्वास्थ्य संस्थामा क्षयरोगसम्बन्धी सेवा उपलब्ध रहेको र तीमध्ये आठवटा संस्थामा परीक्षण सेवा सञ्चालनमा रहेका छन् ।

कार्यक्रममा क्षयरोग नियन्त्रणका लागि आगामी लक्ष्य र उपलब्धिको अवस्थाबारेसमेत छलफल गरिने छ । कार्यक्रममा क्षयरोगको पहिचान र उपचारसँगै सङ्क्रमण फैलिन नदिन रोकथामका उपायलाई पनि प्राथमिकता दिनुपर्ने बताइएको छ ।