एनटी फाइबरको बढ्दो माग व्यवस्थापन गर्न नेपाल टेलिकमको तयारी
वि.सं.२०८३ मंसिर ११ शुक्रवार १७:०३
shares

काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको एफटीटीएच (फाइबर टु द होम) प्रविधिमा आधारित एनटी फाइबर सेवाप्रति सेवाग्राहीको आकर्षण र माग निरन्तर बढिरहेको जनाएको छ ।
उच्च गतिको इन्टरनेट तथा टेलिफोन सेवा एउटै माध्यमबाट उपलब्ध हुने एनटी फाइबर सेवाप्रति बढ्दो विश्वास र सकारात्मक प्रतिक्रियाका लागि नेपाल टेलिकमले सेवाग्राहीप्रति आभार व्यक्त गरेको छ । कम्पनीले प्राप्त मागअनुसार सेवा जडान गर्दै जाने र सेवाको गुणस्तर सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ ।
सेवाग्राहीको बढ्दो मागअनुसार एनटी फाइबर जडान कार्यलाई थप प्रभावकारी बनाउन कम्पनीले आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी अघि बढाइरहेको जनाएको छ । मागको चाप बढेका कतिपय कार्यालयमा व्यवस्थापकीय सुदृढीकरणका कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको पनि कम्पनीले जनाएको छ ।
बढ्दो मागलाई सम्बोधन गर्दै आपूर्ति शृङ्खला अवरुद्ध हुन नदिन कम्पनी निरन्तर प्रयासरत रहेको जनाएको छ । सरकारी कम्पनी भएकाले आपूर्ति शृङ्खला व्यवस्थापनमा विधिवत् प्रक्रिया अवलम्बन गर्दै सेवा प्रवाहका लागि आवश्यक कार्य भइरहेको टेलिकमले स्पष्ट पारेको छ ।
एनटी फाइबर सेवाप्रति सेवाग्राहीले देखाएको विश्वास र चासोले सेवा विस्तार तथा गुणस्तर अभिवृद्धिका लागि थप प्रेरित गरेको कम्पनीको भनाइ छ । गुणस्तरीय दूरसञ्चार सेवा विस्तारको यात्रामा सेवाग्राहीले दिएको साथ, सहयोग र धैर्यताका लागि नेपाल टेलिकमले पुनः धन्यवाद व्यक्त गरेको छ ।

























