global ime bank Long Banner Ad

गृहपृष्ठ मस्कोमा विश्वकप फुटबलको भव्य उद्घाटन, पहिलो खेलमा आयोजक रुसको सान्दार जित

मस्कोमा विश्वकप फुटबलको भव्य उद्घाटन, पहिलो खेलमा आयोजक रुसको सान्दार जित

मस्कोमा विश्वकप फुटबलको भव्य उद्घाटन, पहिलो खेलमा आयोजक रुसको सान्दार जित

विश्व फुटबलको महाकुम्भ अर्थात् विश्वकप फुटबल प्रतियोगिताका २१औं संस्करण रुसको मस्कोमा भव्यताका साथ सुरु भएको छ । रुसको राजधानी मस्कोस्थित लुज्निकी रंगशालामा भव्य कार्यक्रम आयोजना गरी विश्वकप प्रतियोगिता उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा विश्वचर्चित सेलिब्रेटीको प्रस्तुतिसँगै ३२ राष्ट्रका खेलाडी, प्रशिक्षक र विभिन्न देशका अतिथिको उपस्थिति थियो । उद्घाटनमा बेलायतका गायक रोबी विलियम्सले गीत गाए भने रुसकी गायिका सोप्रानो अइडा गारिफुलिनाले उनलाई साथ दिइन् ।

करिब ८० हजार दर्शक क्षमता रहेको रंगशालाको उद्घाटन समारोहमा रुसको संस्कृति झल्किने नृत्य तथा प्रदर्शनका साथै विभिन्न देशका झन्डासँगै मार्चपास गरिएको थियो । असार ३१ गते समापन हुने विश्वकपमा ३२ देश सहभागी छन् । खेल रुसका विभिन्न सहरका १२ वटा रंगशालामा सञ्चालन हुनेछ ।

 

आयोजक रुसको सनसनीपूर्ण जित

उद्घाटन खेलमा आयोजक रुसले साउदी अरबविरुद्ध पाँच–शून्यको जित हात पारेको छ । खेलको १२औं मिनेटमै रुसका युरी गजिन्स्कीले गोल गर्दै साउदीमाथि दबाब सिर्जना गरेका थिए । निरन्तर दबाबमा राखेको रुसले ४३औं मिनेटमा अर्को गोल गरेको थियो । यसपटक डेनिस चेरिसेभले गोल गरे । ७१औं मिनेटमा आर्टिम ज्युबाले गोल गर्दै साउदीमाथि तीन–शून्यले अन्तर बढाए । खेलको अतिरिक्त समयमा चेरिसेभले व्यक्तिगत दोस्रो गोल गर्दा रुसले गोल अन्तर चार–शून्य बनायो । खेल सकिन केहीबेरमात्र बाँकी रहँदा एलेक्जेन्डर गोलोभिनले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै रुसलाई पाँच–शून्यको जित दिलाए ।

(तस्बिरहरू : फिफा)

प्रकाशित समय : १२:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु