global ime bank Long Banner Ad

गृहपृष्ठ मंगला गाउँपालिकाले दियाे सुत्केरी भैँसीलाई भत्ता

मंगला गाउँपालिकाले दियाे सुत्केरी भैँसीलाई भत्ता

मंगला गाउँपालिकाले दियाे सुत्केरी भैँसीलाई भत्ता

 

म्याग्दीस्थित मंगला गाउँपालिकाले सुत्केरी भैँसी पाल्ने किसानलाई पोषणभत्ता उपलब्ध गराउन थालेको छ । सुत्केरी अवस्थाका गाईभैँसीको स्याहारसुसार र आहरामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउनका लागि पशु आहरा सुत्केरी भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

यसवर्ष १९ भैँसीपालक कृषकलाई तीन हजारका दरले सुत्केरी भत्ता उपलब्ध गराइएको गाउँपालिकाका पशुसेवा शाखा प्रमुख दीर्घबहादुर खड्काले जानकारी दिए । कुहुँका ८, बाबियाचौरका १ र बरंजाका १० कृषकलाई सुत्केरी भैँसीको आहराका लागि भत्ता उपलब्ध गराइएको उनले बताए ।

व्यावसायिक पशुपालनतर्फ आकर्षित गरी दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले आगामी वर्षसमेत कार्यक्रमलाई निरन्तरता दिने खड्काले बताए । घाँसपातबाहेक अन्य पोषणयुक्त खानेकुरा नदिँदा पशुुको आयु कम हुने, विभिन्न रोगले सताउने, बिरामी हुने र दूध उत्पादन घट्ने समस्या छ ।

यसैगरी मंगला गाउँपालिकाले पाँचजना व्यावसायिक बाख्रापालक कृषकलाई एक लाखका दरले अनुदान उपलब्ध गराएको छ । हिदीका देवेन शर्मा, बमबहादुर पुन, थाइवाङका विश्वास पौडेल, कुहुँका रणबहादुर खत्री र बरंजाका पूर्ण आचार्यले बाख्रापालन व्यवसाय विस्तार र खोर सुधारका लागि अनुदान पाएका हुन् ।

कुहुँका योगेन्द जुक्जाली, अर्मन धाराका वीरबहादुर खड्का, हिदीका बेलबहादुर विक, पखेरका डेकबहादुर थापा र भाइवाङकी थिरमती शर्माले उन्नत जातको बोका खरिद गर्न १५ हजारका दरले अनुदान पाएका छन् ।

मंगला गाउँपालिका– ४ मा बुकेनी व्यावसायिकउन्मुख बाख्रापालन समितिमार्फत बाख्रा पैँचो कार्यक्रम शुरु भएको छ । कार्यक्रममार्फत दुई वर्षअघि कुहुँको पैँयुपाटाको समूहलाई बाख्रा खरिदका लागि दिइएको अनुदान फिर्ता गरेर बुकेनीको समूहलाई उपलब्ध गराइएको छ ।

५० जना आबद्ध समितिअन्तर्गत १०÷१० जनाका दरले पाँच वटा समूह बनाइएको छ । प्रत्येक समूहलाई उन्नत जातको बोका खरिदका लागि १५ हजारका दरले रकम उपलब्ध गराइएको छ । बोका ढुवानीमा थप १० हजार अनुदान पाएका छन् ।

प्रतिकृषक तीन वटाका दरले बाख्रा खरिद गर्न नौ हजारका दरले चार लाख ५० हजार वितरण गरिएको छ । सो रकम कृषकलाई दुई वर्षपछि फिर्ता गरेपछि अर्को समितिलाई वितरण गर्ने प्रक्रिया रहेको खड्काले जानकारी दिए । खोर मर्मतका लागि थप पाँच हजारका दरले दुई लाख पाँच हजार वितरण गरिएको छ ।

प्रकाशित समय : २३:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु