लर्ड्समा बंगलादेश र स्कटल्यान्डसँग खेल्दै नेपाल
वि.सं.२०८३ मंसिर ३ बिहीवार १९:४१
shares

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बिहीबार आयोजित पत्रकार सम्मेलनमा एमसीसीसँगको सहकार्य र आगामी खेलबारे जानकारी दिएका हुन् ।
चन्दले एमसीसीले नेपाललाई लर्ड्समा टेस्ट खेल्ने राष्ट्रसँग खेल्ने अवसर प्रदान गर्ने प्रतिबद्धता जनाएको भन्दै धन्यवाद दिए।
‘तपाईंहरूले नेपालका लागि इतिहास रच्ने निर्णय गर्नुभएको छ। क्रिकेटको घर मानिने लर्ड्समा टेस्ट खेल्ने राष्ट्रसँग खेल्ने अवसर दिनुभएकोमा एमसीसीलाई धेरै धन्यवाद,’ उनले भने।
चन्दका अनुसार गत जुलाईमा एमसीसी भ्रमणका क्रममा भएको भेटमा नेपाललाई टेस्ट खेल्ने राष्ट्रसँग लड्र्समा खेलाउने विषयमा छलफल भएको थियो। त्यसक्रममा एमसीसीका प्रतिनिधिले नेपाललाई बंगलादेशविरुद्ध पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल खेलाउने प्रतिबद्धता जनाएका थिए।
‘मलाई लाग्छ, उहाँहरू आफ्नो प्रतिबद्धता पूरा गर्नकै लागि यहाँ आउनुभएको हो। उहाँहरू आफ्नो योजनाअनुसार नेपाल आउनुभएको कुरा मैले हिजो मात्रै थाहा पाएँ,’ उनले भने।
चन्दले एमसीसीको पहलप्रति नेपाली सञ्चारमाध्यममार्फत धन्यवाद व्यक्त गर्दै विस्तृत विवरण संयुक्त प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने जानकारी दिए।
सचिव पारस खड्काका अनुसार नेपालले जुन १ मा स्कटल्यान्ड र जुन ३ मा बंगलादेशसँग खेल्नेछ।
त्यसपछि आयरल्यान्डसँग जुन ६, ९, ११ र १२ तारिखमा चार खेल खेल्ने कार्यक्रम छ। आयरल्यान्डसँग तीन टी–२० र एक ५० ओभरको खेल हुने उनले जानकारी दिए।
खड्काले सन् २०१६ मा पहिलोपटक लड्र्समा खेलेदेखि सन् २०२६ सम्म एमसीसीसँगको सम्बन्ध १० वर्ष पुगेको बताए। एमसीसीसँगको सहकार्यलाई संस्थागत रूपमा अघि बढाउनु महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।
‘सन् २०१६ मा पहिलोपटक लड्र्समा खेलेदेखि सन् २०२६ सम्म एमसीसीसँगको साझेदारी १० वर्ष पुगेको छ। गत वर्ष एमसीसी स्पिरिट अफ क्रिकेट र नेपाली क्रिकेटलाई एमसीसीले कसरी सहयोग गरिरहेको छ भन्ने विषयमा पनि छलफल भएको थियो। एमसीसी फाउन्डेसन र नेपाल क्रिकेटसँग जोडिएका सबै सहयोगका लागि हामी आभारी छौँ,’ उनले भने।

























