काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एसियन हाइवेको पूर्वी सडकखण्डमा २५ किमी कालोपत्रे

546
shares

झापा। एसियन हाइवेको काँकडभिट्टा–लौकही सडकको पूर्वी खण्डमा २५ दशमलव पाँच किलोमिटर सडक कालोपत्रे भएको आयोजना प्रमुख सुनिलबाबु पन्तले जानकारी दिए ।

उहाँका अनुसार काँकडभिट्टादेखि सितापुरीसम्मको ४५ किलोमिटर मध्ये सडकको दुवै तर्फ १९ दशमलव पाँच किलोमिटर र एकतर्फी छ किलोमिटर सडकमा कालोपत्रे भएको छ । निर्माणधीन चार लेनको सडकको भौतिक प्रगति ५६ प्रतिशत रहेको उनले बताए ।

निर्माण कम्पनीले १० अर्ब ६ करोड ९४ लाखमा ठेक्का लिएको सडकको हालको म्याद आगामी माघ १८ गतेसम्म रहेको छ । दुई तहमा कालोपत्रे गर्नुपर्ने भएकाले पहिलो तहको कालोपत्रे म्यादभित्रै सक्ने लक्ष्य राखिएको उहाँको दाबी छ । उनले भने, “सतप्रतिशत काम सम्पन्न हुने सम्भावना कम देखिएको छ । पूर्ण रुपमा काम सम्पन्न गर्न अझै करिब एक बर्ष लाग्ने अनुमान गरिएको छ ।” आयोजनामा एसियाली विकास बैंकको ८४।९५ प्रतिशत र नेपाल सरकारको १५।१५ प्रतिशत लगानी रहेको छ । पुल निर्माणतर्फ यो प्याकेजमा पर्ने १८ वटा पुलको काम पूरा भइसकेको छ ।

कनकाई माई, विरिङ र नन्दा खोलामा आर्क ब्रिज प्रकृतिको पुल बन्नेछ । जसमध्ये विरिङ खोलामा स्टिल ट्रस जडानको काम सुरु गरिएको छ । दुई पिस रहने उक्त संरचनाले आगामी करिब दुई महिनामा आकार लिने अपेक्षा गरिएको छ ।

बिर्तामोड र चारआलीलगायत सहरी तथा घनाबस्ती भएका क्षेत्रमा विद्युतका पोल सार्न बाँकी रहँदा काममा केही जटिलता आएको उनले बताए । विगतमा निर्माण व्यवसायीले जनशक्ति, उपकरण र सामग्री परिचालनमा अपेक्षाकृत गति दिन नसक्दा पनि काम प्रभावित भएको आयोजना प्रमुख पन्तले बताए ।

अन्तर्राष्ट्रिय द्वन्द्वका कारण इन्धन र अलकत्राको मूल्यवृद्धि र उपलब्धतामा देखिएको उतारचढावले पनि कामलाई केही असर पारेको उनको भनाइ छ । निर्माण व्यवसायीले साइटमा काम अवरुद्ध भएका विषयमा प्रमाणसहित नियमित रुपमा आयोजनाको पूर्व कार्यालय दमकमा जानकारी गराइरहेको छ । म्याद थपको सन्दर्भमा काम अवरुद्ध भएका कारणहरूको मूल्याङ्कन गर्दै काम पूरा हुने आधार र व्यवसायीको गम्भीरता हेरेर उचित समय थप गर्ने विषयमा निर्णय लिन सकिने उनले बताए ।