global ime bank Long Banner Ad

गृहपृष्ठ नेविसंघका दुई वर्ष : दुई कार्यालय, तीन बैठक र चार केन्द्रीय समिति

नेविसंघका दुई वर्ष : दुई कार्यालय, तीन बैठक र चार केन्द्रीय समिति

नेविसंघका दुई वर्ष : दुई कार्यालय, तीन बैठक र चार केन्द्रीय समिति

नेपाल विद्यार्थी संघको महाधिवेशन उद्घाटन भएको बुधबार दुई वर्ष पूरा भएको छ । नेविसंघको विधानअनुसार यो अवधिमा नयाँ नेतृत्व चयनका लागि १२ औं महाधिवेशन उद्घाटन गर्नुपर्ने हो । तर, संगठनभित्रको विवाद र कमजोर नेतृत्वका कारण फेरि पनि महाधिवेशनको साँचो पार्टीतर्फ नै हस्तान्तरित भएको छ ।

यसलाई अध्यक्षले निम्त्याएको हस्तक्षेप तथा नेतृत्व असफल भएको ठहर नेविसंघका नेताहरुको छ । उनीहरु भन्छन्, ‘अध्यक्ष सुरुमा आफ्नो गुटमा थिए, विस्तारै केही व्यक्तिलाई मात्र साथ लिएर नेताको चाकडीमा लाग्दा नेतृत्वमा असफल हुन पुगे ।’

कांग्रेसले नेविसंघको महाधिवेशनको समन्वय गर्न सहमहामन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा नेविसंघका पूर्वअध्यक्ष तथा नेताहरु सम्मिलित समिति गठन गरेको छ । महत नेतृत्वको समितिले बुधबार नेविसंघको म्याद तीन महिना थप गरी महाधिवेशनको निर्णय गर्नेछ ।

‘हामी बैठक बसेर नेविसंघको म्याद तीन महिना थप गरी त्यही अवधिभित्र महाधिवेशन गर्नेगरी निर्णय गर्दै छौं,’ नेविसंघका पूर्वअध्यक्षसमेत रहेका कांग्रेस केन्द्रीय सदस्यले महतले भने, ‘आगामी मंसिर पहिलो वा कात्तिक अन्तिम साता महाधिवेशन गर्नेगरी निर्णय हुन्छ ।’ उनले वर्तमान नेतृत्व संगठनमा केही गर्नै नसक्ने अवस्थामा रहेकाले केही दिनदेखि अनौपचारिक छलफल जारी रहेको जानकारी दिए ।

 

कस्तो छ महरको आफ्नो मूल्यांकन
अध्यक्ष महरकै मूल्यांकनमा पनि दुर्इ वर्षे कार्यकाल उतारचढावपूर्ण छ । तर, उनले कमजोरीभन्दा उपलब्धि नै महत्वपूर्ण ठानेका छन् ।

‘नौ वर्षसम्म हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हाम्रै पालामा गरायौं, तीन तहको चुनावमा ७७ जिल्लामै अर्थपूर्ण सहभागिता जनायौं,’ अध्यक्ष महरले भने, ‘इङ्ल्याण्डको युथ एसेम्ब्लीम प्रत्येक वर्ष सहभागी हुने व्यवस्था यसै पटकदेखि मिलाइयो, राष्ट्रपतिले संविधान मिच्न लाग्दा संविधानको सीमा मिच्न पाइँदैन भनेर प्रदर्शन गयौं ।’

उनले सोसलिस्ट इन्टरनेसनल अफ युथको उपाध्यक्षमा नेविसंघलाई जिताउन सफल भएको बताए । ‘यसपालिदेखि केन्द्रीय महाधिवेशनमा हजारभन्दा कम प्रतिनिधि ल्याएर महाधिवेशन गर्ने तयारीमा छौं,’ म एउटा घोषणा पनि गरिहाल्छु आगामी मंसिरमा महाधिवेशन गर्दैछौं ।’

उनले केही दिनमा ‘प्रोग्रेस रिपोर्ट’ पनि सार्वजनिक गर्ने तयारी रहेको बताए । ‘कम्युनिष्टहरुले दुईतिहाइको सरकार बनाएर पार्टीसमेत डिफेन्सिभ भएका बेला हामीले ७७ जिल्लामै मुभमेन्ट गर्यौं, १९ जना साथीहरु घाइते भएका छन् तर त्यसले संगठनमा उर्जा फर्काइदिएको छ,’ महरले भने, ‘नेविसंघको मुभमेन्टका कारण केसीको अनसनसम्म पुग्दा पार्टीले पनि आन्दोलन घोषणा गर्यो ।’

अध्यक्ष महरले धेरै उपलब्धि भए पनि संगठनमा केही गर्नै नसक्ने अवस्था आएको स्वीकार गरे । ‘संगठनभित्र केही गर्नैपर्ने अवस्था छ । पार्टीका नेताहरुको समन्वयमा हामी बैठक बसेर आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गछौं,’ महरले भने, ‘संगठनको आधिकारिक संरचनामा सहभागी हुन साथीहरुलाई आह्वान गर्छु र मंसिरमा सम्पन्न हुने महाधिवेशनमा सहभागी हुन पनि आह्वान गर्छु ।’

 

महामन्त्री थापाको मूल्यांकन
महरकै प्यानलबाट महामन्त्री निर्वाचित सरोज थापा पनि उनीसँग छैनन् । महरले संगठन विधानसम्मत नहाँकेको तथा संगठनको अनुशासनभन्दा सीमित घेरमा मात्र हिँडेका कारण जनाउँदै उनले महरलाई छाडेका हुन् ।

‘नेविसंघको पहिलो बैठकबाट सर्वसम्मति गरेका निर्णय कार्यान्वयन गर्न नसक्नु असफल हुने सबैभन्दा ठूलो कारण हो,’ महामन्त्री थापाले भने, ‘साथीहरुलाई विश्वासमा लिएर कार्यसमितिमा मनोनयन, मातहतका निकायका पदपूर्तिलगायतका काम गर्नुपर्नेमा उहाँ आफैं विधानविपरीतका काम गर्न उद्यत देखिनुभयो ।’ उनले अध्यक्षको असफलताकै कारण पार्टीले समिति गठन गर्नुपर्ने अवस्था आएको भन्दै अब पार्टीले गठन गरेको समितिले तीन महिनाभित्रै महाधिवेशन गर्ने विश्वास व्यक्त गरे ।

थापाले संगठनमा देखिएको अराजकताका विषय विद्यार्थीमाझ राख्दा अध्यक्षले आफूसहित आफ्नै समूहका साथीहरुसँग र्इर्श्या गरेपछि मतभिन्नता सुरु भएको बताए । ‘अध्यक्षले आफ्नो कार्यशैली र संकीर्ण मानसिकता त्यागेर साँघुरो मनोवृत्ति परिवर्तन गर्न जरुरी छ,’ थापाले भने ।

 

महामन्त्री कुन्दन काफ्लेको मूल्यांकन
अर्का महामन्त्री कुन्दनराज काफ्लेका अनुसार नेविसंघको यो कार्यकालमा केही उपलब्धि भए पनि अध्यक्षकै कारण राजनीतिक र संगठन निर्माणका हिसाबले दुःखद रहेको बताए ।

‘राजनीतिक र संगठन निर्माणका हिसाबले हाम्रो कार्यकाल दुःखद भयो,’ उनले भने, ‘नीतिगत रुपमा संगठन निर्माणका काम गर्न सकेनौं । अध्यक्षको अकर्मन्यताका कारण संगठन गुमराहमा सञ्चालन भयो ।’ उनले अध्यक्षका कारण नेविसंघको गरिमा कमजोर भएको बताए ।

उनले राजनीतिक र संगठन निर्माणका हिसाबले कमजोर भए पनि यो कार्यकालमा केही उपलब्धि भएको बताए । ‘हाम्रो कार्यकालमा नराम्रा अनुभवमात्र हैन, केही उपलब्धि पनि छन्,’ काफ्लेले भने, ‘स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउनमात्र हैन, नेविसंघलाई पहिलो संगठन बनाउन पनि सफल भइयो ।’

उनले सीमा मिचिएका विरुद्ध अावाज उठाउने, सामाजिक विसंगतिविरुद्ध अवाज उठाउने, बोक्सीको अारोपमा कुटपिट र दुर्व्यवहारमा परेकालाई सहयोग गर्ने तथा आन्दोलन गरे पनि त्यसमा समेत अध्यक्ष सहभागी नभएको आरोप लगाए । ‘महँगी, बलात्कार र बोक्सी आरोपजस्ता विसंगतिविरुद्ध सडकमा उत्रिएको, राज्यले जनताको मौलिक अधिकार हनन हुनेगरी जारी गरेको निषेधाज्ञा तोडेर सरकारलाई झुक्न बाध्य पारेका छौं,’ काफ्लेले भने, ‘डा. गोविन्द केसीको आन्दोलनमा साथ दिँदै मेडिकल माफियाको विरोधमा आन्दोलन गर्यौं र निर्णयमा पुर्याउन सफल भयौं ।’

 

के-के भयो नेविसंघमा ?

चार केन्द्रीय समिति
नेविसंघ अहिले चारवटा केन्द्रीय समितिको महासंघको रुपमा छ । अध्यक्ष महरसँग सानो केन्द्रीय समिति छ भने महामन्त्री काफ्लेसँग सबैभन्दा ठूलो केन्द्रीय समिति छ । महामन्त्री सरोज थापासँग एउटा केन्द्रीय समिति छ भने उपाध्यक्ष उर्मिला थपलियासँग अर्को समूह छ ।

 

दुई कार्यालय
नेविसंघका कार्यालय नै दुर्इवटा छन् । अध्यक्ष महरले केन्द्रीय कार्यालय धोबीधारामा कार्यालय चलाइरहँदा महामन्त्री कुन्दनराज काफ्लेले शंकरदेव क्याम्पसअगाडि स्टार हस्पिटलनजिक अर्को कार्यालय चलाइरहेका छन् ।

 

कार्यकालभर तीन बैठक
पहिलो बैठकमा बिनाविवाद सर्वसम्मतिले निर्णय गरेको नेविसंघको दोस्रो बैठक रामचन्द्र पौडेलनिकट समूहले बहिष्कार गर्यो र छुट्टै बैठक अनामनगरमा बस्यो । तेस्रो बैठक प्रशिक्षण बैठकमा रुपान्तरण गरियो । त्यसपछि अहिलेसम्म बैठक बसेको छैन ।

 

महामन्त्रीकै अगुवाइमा बैठक
महामन्त्री काफ्लेले डाकेर वाल्मीकि क्याम्पसमा एउटा केन्द्रीय समिति बैठक बस्दा अध्यक्ष महरको अध्यक्षतामा केन्द्रीय कार्यालयमा सनो समूहको बैठक बस्यो ।

 

उमेर ३२ वर्ष, ४० नाघेका अध्यक्षबाट सुरुवात
नेविसंघले अघिल्लो महाधिवेशनदेखि सुरु गरेर अब आउने महाधिवेशनमा लागू हुनेगरी ३२ वर्षे उमेर हद लागू गरेको छ । तर, गत वर्ष सदस्यता वितरण महाअभियान भनेर घोषणा गरेको कार्यक्रमको त्रिचन्द्र क्याम्पसमा पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । तर, त्यो महाअभियान त्रिचन्द्रको गेटबाहिर निस्कन सकेन ।

रोचक त के भने ३२ वर्षे उमेरहद लागू गरेको नेविसंघमा सभापति शेरबहादुर देउवाले ४० नाघेका अध्यक्ष नैनसिंह महरको सदस्यता रिन्यु गरेर उद्घाटन गरे । त्यसैलाई हेरेर नेविसंघका युवा केन्द्रीय सदस्यहरुले सदस्यता वितरणकै क्रममा हाँसोमा उडाएका थिए ।

 

प्यानलमै सहकार्य भएन
रामचन्द्र पौडेल समूह महाधिवेशनबाट उपाध्यक्षसहित केन्द्रीय सदस्यमा खुम्चियो, यद्यपि समूहगत रुपमा पाैडेल समूहकै सबैभन्दा ठूलो प्रतिनिधित्व थियो । उक्त समूहले दोस्रो बैठकदेखि नै केन्द्रीय समिति बैठक बहिष्कार गर्यो । एक वर्ष पुग्दा एउटै टिममा रहेका कुन्दनराज काफ्ले आफ्नो टिम लिएर बाहिरिए भने अहिले आएर नैनसिंह महरसँगै निर्वाचित भएका महामन्त्री सरोज थापासमेत उनीसँग छैनन् ।

 

स्वतन्त्र विद्यार्थी युनियनबारे प्रश्न
नेविसंघका केन्द्रीय सदस्यहरुका अनुसार अध्यक्ष महरले स्ववियु चुनावका लागि उमेर हद स्वीकार गरेर हस्ताक्षर गरेका थिए । तर, पछि क्याम्पसमा उम्मेदवार छनौट गर्न असफल भएपछि एकपटकका लागि भन्दै आफ्नै हस्ताक्षरविरुद्ध विज्ञप्ती जारी गरे ।

‘झन् आफूले जित्ने र अर्थपूर्णसमेत हुने क्याम्पस त्रिचन्द्र, शंकरदेव, पशुपति जस्ता क्याम्पसमा चुनाव नै गराउन सक्नुभएन,’ एक केन्द्रीय सदस्य भन्छन्, ‘ती क्याम्पसमा हाम्रो विवाद नरहेको भए आरआरमा अखिलले गराएजस्तै हामी पनि चुनाव गराउन सक्थ्यौं ।’

 

पछिल्लो एक वर्ष
केन्द्रीय क्याम्पस कीर्तिपुर, सीटीर्इभीटी, त्रिचन्द्रलगायतका क्याम्पसमा चिठ्ठी दिएर अध्यक्ष चयन सुरु गरेर त्यसपछि अध्यक्षइतरका समूह कार्यगत एकतामा पुगे । पार्टी केन्द्रीय समितिमा स्थानीय र प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनपछि जसरी सभापतिइतरका सबै समूह एक भए, त्यसरी नै नेविसंघमा पनि एकता सुरु भयो ।

काफ्लेले एकलौटी महाधिवेशन घोषणा गर्यो । महाधिवेशन साउनको २५, २६ र २७ मा हुने घोषणा काफ्ले समूहले गरेको थियो । ८४ जनाको पहिलो बैठक बस्यो, त्यो बैठक रोक्न पार्टीको शक्ति प्रयोग भयो । बैठक जारी रहँदा कुनै पनि कार्यक्रम नगर्न नेविसंघलाई पत्राचार गर्यो र बैठक रोक्यो । त्यसबेलासम्म बहुमत केन्द्रीय समितिले महरले गरेका नियुक्ति खारेज गर्ने निर्णय गरिसकेको थियो ।

त्यसको भोलिपल्ट सहिद आदर्श क्याम्पसमा स्ववियुको समन्वय र केन्द्रीय समितिको आयोजना भनेर अध्यक्ष नैनसिंह समूहले प्रशिक्षण राख्यो । त्यही दिन उपाध्यक्ष थपलिया र महामन्त्री काफ्लेको टिमले बीपी संग्रहालयबाहिर प्रशिक्षण राख्यो । अध्यक्षले सभापति देउवा र बाँकीले वरिष्ठ नेता पौडेललाई प्रमुख अतिथि बनाए । दुर्इवटै माञ्च तयार भए । कार्यक्रमका लागि देशभरबाट विद्यार्थी नेता काठमाडौं आए । अन्तिममा पार्टीका शीर्ष नेताको बैठकले दुवै कार्यक्रम रोक्ने निर्णय गर्यो ।

 

याे पनि पढ्नुहाेस्

आफ्नाले समेत छाडेपछि नैनसिंह महर एक्लै, कसरी निराशामा परिवर्तन भयो नेविसंघको त्यो उत्साह ?

प्रकाशित समय : २१:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु