global ime bank Long Banner Ad

गृहपृष्ठ विदेश जाने कर्मचारीको विवरण वेबसाइटमा भेटिएन

विदेश जाने कर्मचारीको विवरण वेबसाइटमा भेटिएन

विदेश जाने कर्मचारीको विवरण वेबसाइटमा भेटिएन

 

प्रत्येक मन्त्रालयले वैदेशिक भ्रमणमा गएका कर्मचारीको विवरण वेबसाइटमा राख्नुपर्ने कानूनी व्यवस्था भए पनि लागू भएको पाइएको छैन । ‘वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका’ अनुसार प्रत्येक मन्त्रालयले वैदेशिक भ्रमणमा गएका कर्मचारीको विवरण अनिवार्य रुपमा आफ्नो मन्त्रालयको वेबसाइटमा राख्नुपर्ने भए पनि अहिलेसम्म कुनै मन्त्रालयले वैदेशिक भ्रमणमा जाने कर्मचारीको नाम राखेका छैनन् ।

सरकारले २०७२ सालमा पहिलो पटक र अहिले संशोधन गरेर नयाँ निर्देशिका ल्याएको छ । वि.सं. २०७२ मा जारी भएको निर्देशिकामा नै वैदेशिक भ्रमणमा गएका कर्मचारीको विवरण वेबसाइटमा राख्नुपर्ने कानुनी व्यवस्था थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोद कुँवरले निर्देशिकाअनुसार वैदेशिक भ्रमणमा जाने कर्मचारीको नाम नराख्ने मन्त्रालयको अनुगमन गरिने बताए ।

उनले निर्देशिकामा भएका कुरालाई कडाइका साथ लागू गरिने समेत बताए । निर्देशिकामा कर्मचारीका नाम, पद, जाने देश, गएको मिति आदि विवरण खुलाई वेबसाइटमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

मन्त्रिपरिषद् कार्यालयका उपसचिव विष्णु घिमिरेले सबै मन्त्रालयले वैदेशिक भ्रमणमा गएका कर्मचारीको नाम राख्ने निर्देशन दिएको बताए । उनले अहिलेसम्म गत आवमा करीब पाँच हजार कर्मचारी वैदेशिक भ्रमणमा गएको तथ्यांक आएको जानकारी दिए । ‘अझ धेरै गएको हुनसक्छन् । हामीले तथ्यांक संकलन गर्दैछौं,’ उनले भने, ‘यो संख्या अझ बढ्न सक्छ ।’

यसैगरी वैदेशिक भ्रमणमा गएका कर्मचारीको खर्च पनि केही मन्त्रालयले अहिलेसम्म बुझाएका छैनन् । भ्रमणमा गइसकेको कर्मचारीले गरेको खर्च विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाउनुपर्ने हुन्छ । ‘परिषद् कार्यालयले पटक–पटक अनुरोध गर्दा मात्र केही मन्त्रालय मात्र खर्च विवरण बुझाएका छन्,’ उनले भने, ‘नबुझाएका मन्त्रालयलाई खर्च विवरण बुझाउन निर्देशन दिएका छौं ।’

 

प्रम कार्यालयद्वारा नाम सार्वजनिक
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट वैशाखयता १२ कर्मचारी वैदेशिक भ्रमणमा गएको विवरण वेबसाइटमार्फत सार्वजनिक गरिएको छ । प्रधानमन्त्री कार्यालयले मंगलबार मात्र ती कर्मचारीको विवरण वेबसाइटमा राखेको हो ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विदेश जाने कर्मचारीमा मुख्य सचिव लोकदर्शन रेग्मी, सचिव केदारबहादुर अधिकारी, सहसचिव डा. हरि पौडेल, उपसचिव कृष्णप्रसाद देवकोटा, विजय राना, विनोदकुमार दाहाल, लेखा अधिकृत देवराज पोखरेल, शाखा अधिकृतद्वय रीता रेग्मी र निराज शर्मा, नायब सुब्बा बद्रीप्रकाश निरौला चीन, सहसचिव यमलाल भुसाल ब्राजिल र उपसचिव लक्ष्मीप्रसाद गौतम अष्ट्रिया रहेको विवरण छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले आफूहरुले यसअघि वैदेशिक भ्रमणमा गएका कर्मचारी विवरण नराख्ने गरेको भए पनि अब चाँडै राखिने बताए । वैदेशिक भ्रमणमा जाने कर्मचारी उपसचिवसम्मको स्वीकृति मन्त्रालयले, सहसचिवको स्वीकृति मन्त्री र सचिवको स्वीकृति मन्त्रिपरिषद् कार्यालयले गर्नुपर्ने हुन्छ ।

(रासस)

प्रकाशित समय : २१:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु