गृहपृष्ठ अर्थमन्त्रीले भने- ढुक्क भएर लगानी गर्नुस्
अर्थमन्त्रीले भने- ढुक्क भएर लगानी गर्नुस्
नयाँ संविधान र त्यसका प्रावधानअनुरुप सम्पन्न निर्वाचनबाट सुविधाजनक बहुमतको स्थिर सरकार गठन भएकाले ढुक्क भएर नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई सरकारले आह्वान गरेको छ ।
अन्तर्राष्ट्रिय वित्त संस्था र वासिङ्टन डिसीस्थित नेपाली दूतावासले मङ्गलबार संयुक्तरुपमा आयोजना गरेको लगानीकर्ताको सम्मेलनमा नेपालको संविधान र कानुनले समेत लगानीकर्ताको निजी सम्पत्ति संरक्षणको सुनिश्चितता गरेकाले नेपालमा उपलब्ध अवसरको फाइदा लिन लगानीकर्तालाई सरकारले आह्वान गरेको हो ।
अन्तराष्ट्रिय लगानीकर्तामाझ अर्थमन्त्री युवराज खतिवडाले विदेशी लगानी, कर तथा श्रम कानुन लगानीमैत्री रहेका र लगानी बोर्डमार्फत एकल बिन्दुबाट सेवा प्रवाहको व्यवस्था मिलाइएको जानकारी दिए । नेपाली दूतावासका अनुसार मन्त्री खतिवडाले नेपालको ‘कर्पोरेट’ करको दर प्रतिस्पर्धात्मक रहेकाले उच्च प्रतिफल प्राप्त हुने, ऊर्जा, यातायात, पूर्वाधार तथा पर्यटन व्यवसाय र पर्यटन पूर्वाधारका क्षेत्रमा अझ बढी प्रतिफल प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए ।
विश्व बैंकका नेपाल निर्देशक चिम्याओ फ्यानले लगानीका निम्ति नेपालमा अभूतपूर्व अवसर रहेका भन्दै आश्वस्त भएर पूँजी परिचालन गर्न आह्वान गरे । यसैबीच मन्त्री खतिवडाले नेपालको विकास साझेदारी खाकासम्बन्धी विश्व बैंकका कार्यकारी निर्देशकको संयुक्त बैठकमा नेपालका विकासका चुनौती र अवसरबारे जानकारी दिँदै आगामी पाँच वर्षका लािग गरिने लगानीको ढाँचा प्रस्ताव पारित गर्न अनुरोध गरेका थिए ।
बिहिबारसम्म चल्ने उक्त बैठकमा अर्थमन्त्रीले नेपाललाई सन् २०२२ मा अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न थप सहायता आवश्यक परेको वास्तविकता प्रस्तुत गर्दै दिगो विकासका लक्ष्य हासिल गर्ने नेपालको प्रतिबद्धता दोहोर्याएका नेपाली दूतावासले जनाएको छ ।
(रासस)
प्रकाशित समय : २१:३१ बजे



















