गृहपृष्ठ रामेछाप नगरपालिकाको भवन निर्माण नसकिँदै भत्कियो

रामेछाप नगरपालिकाको भवन निर्माण नसकिँदै भत्कियो

रामेछाप नगरपालिकाको भवन निर्माण नसकिँदै भत्कियो

रामेछाप नगरपालिकाको भवन बनाउँदा–बनाउँदै भत्किएको छ । ठेकेदारले इस्टिमेटअनुसार निर्माण सामग्री प्रयोग नगर्दा नगरपालिकाको भवन बनाइनसक्दै भत्किएको हो ।
भवनको पछाडिपट्टि माटो भरेको भाग र रिटेनिङ वाल भासिएको नगरपालिकाको आर्थिक समिति संयोजक तथा वडा नम्बर २ का अध्यक्ष नीरबहादुर श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, दुई तलाको टेन्डर भएको भवन ठेकेदारले एक तलामात्र फिनिसिङ गरेर बुझाउने तयारी गरेको छ । ठेकेदार भीम कार्कीसँगको कुराकानी उद्धृत गर्दै वडाध्यक्ष श्रेष्ठले भने, ‘इस्टिमेटभन्दा बढीको निर्माण सामग्री तल्लो तलामा प्रयोग भएकाले एक तलामात्र बनाउने ठेकेदारले जानकारी गराएको छ ।’ नगरपालिकाका इन्जिनियर कुशुम भट्टराईले पनि इस्टिमेटअनुसार निर्माण सामग्री प्रयोग नभएकाले भवनको पछाडिको भाग भासिएको स्वीकार गरे ।

वडाध्यक्षहरुले भने भवन निर्माणमा अनियमितता भएको दाबी गरेका छन् । ‘अघिल्लो वर्षका नगरपालिकाको हिसाब पनि अहिलेसम्म दिइएको छैन,’ भौतिक पूर्वाधार संयोजक एवं वडा नम्बर ५ का अध्यक्ष भीमबहादुर तामाङले भने, ‘मैले पटक–पटक हिसाब माग्दा पनि दिएको छैन, यसले के देखाउँछ भने, यहाँ खुलारुपमा अनियमितता भएको छ । इन्जिनियर पैसामा बिकेको छ ।’ नगरपालिका प्रमुखले आफ्नो पार्टीको कार्यकर्तालाई रोजगारी दिने नाममा अनियमिततालाई संरक्षण गरिरहेको उनको आरोप छ । ‘दुई तला बनाउने भनिएको भवन कसरी एकै तलामा सकिँदै छ ?’ उनले प्रश्न गरे ।

उपप्रमुख सिर्जना खड्काले भने अनियमिताको आरोप झुटो भएको बताइन् । ‘ठेकेदारले निर्माण सम्पन्न गरेर छिट्टै भवन हस्तान्तरण गर्दै छन्,’ उनले भनिन्, ‘नगरपालिकाले भदौ पहिलो सातादेखि यही भवनबाट काम गर्नेछ ।’ प्रमुख प्रशासकीय अधिकृत ईश्वरीराज दाहाल भने यो विषयमा बोल्न चाहेनन् । नगरकार्यपालिका सदस्य सरोज कटुवालले पनि नगरपालिकाबाट धेरै लापर्बाही भइरहेको आरोप लगाए ।

भवनको कुल लागत एक करोड ३१ लाख १९ हजार २ सय २७ रुपैयाँ छ । दुई वर्षमा भवन निर्माण सम्पन्न गर्ने गरी २०७३ साउन १५ गते सुनकोशी कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको हो ।

प्रकाशित समय : १७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु