गृहपृष्ठ श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना लुम्बिनी पुगे
श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना लुम्बिनी पुगे
बिमस्टेक सम्मेलनको लागि नेपाल आएका श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले लुम्बिनी भ्रमण गरेका छन् । बिमस्टेक सम्मेलन समापन भएपछि उनी लुम्बिनी भ्रमणमा आएका हुन् ।
उनको लुम्बिनी भ्रमणलाई निजी भ्रमण बताइएको छ । काठमाण्डौंबाट विशेष विमानमा भैरहवा आएका राष्ट्रपति त्यहाँबाट स्थलमार्ग हुदै लुम्बिनी पुगेका हुन् । राष्ट्रपतिलाई पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पाँच नम्बर प्रदेशका प्रदेश प्रमुख उमाकान्त झा, पाँच नम्बर प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले लुम्बिनीमा स्वागत गरेका थिए ।
सिरिसेनाले लुम्बिनीमा मायादेवी मन्दिरमा रहेको मार्कर स्टोन, अशोक स्तम्भ लगायतको अवलोकन गरेका थिए । अवलोकनपछि उनि मायादेवी मन्दिर प्रांगणमै आयोजित विशेष पूजामा सहभागी भए । श्रीलंकाका धर्मगुरुहरुले राष्ट्रपतिलाई पूजा गाएका थिए । पूजापश्चात लुम्बिनीको गुरुयोजना एवं लुम्बिनीको धार्मिक विकास तथा समग्र पर्यटन अवश्थाबारे पर्यटनमन्त्री अधिकारीले उनलाई अवगत गराएका थिए ।
लुम्बिनी बारे जानकारी दिने उद्देश्यले आयोजित संक्षिप्त कार्यक्रममा राष्ट्रपति सिरीसेनाको तर्फबाट विदेश मामिला सचिव रविनाथा टि आर्यसेनाले लुम्बिनी समग्र शान्ति अनुरागीको आस्थाको केन्द्र रहेकोले यसको विकासको लागि श्रीलंकाको सहयोग सदैव रहने प्रतिवद्धता जनाए ।
मायादेवी मन्दिरको अवलोकन एवं पूजा पश्चात सिरिसेना श्रीलंकाको गुम्बाको समेत दर्शन गरेको र श्रीलंकाद्वारा निर्मित गेस्ट हाउसको अवलोकनको साथै त्यहाँ वृक्षारोपण समेत गरेका छन् ।
श्रीलंकाका राष्ट्रपति लुम्बिनी आउदा प्रशासनले उच्च सुरक्षा सर्तकता अपनाएको थियो । भ्रमणको क्रममा उनको सुरक्षाको लागि चारवटै सुरक्षा निकाय नेपाल प्रहरी, सस्शत्र प्रहरी, नेपाल सेना र राष्ट्रिय अनुसन्धान विभागलाई परिचालन गरिएको थियो । सुरक्षाकै लागि भैरहवाको गौतम बुद्ध विमानास्थलदेखी लुम्बिनी सम्म सवारी साधन आवागमन बन्द गरिएको थियो । सर्वसाधारणलाई पनि लुम्बिनी विकास कोष क्षेत्र प्रवेश निषेध गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले बताए ।
प्रकाशित समय : २३:१३ बजे



















