गृहपृष्ठ गृहमन्त्रीलाई गिज्याउँदै गिँदेरी, पप्पुले पचाउन सक्ने
गृहमन्त्रीलाई गिज्याउँदै गिँदेरी, पप्पुले पचाउन सक्ने
०७१ सालमा शिलान्यास भएको एउटा पुल । काम पाँच वर्षमा जम्मा १८/२० प्रतिशत । पहिलो म्याद, ५/७ प्रतिशत काम गर्दा सकिन्छ । दोस्रो म्याद, १२/१४ प्रतिशत काम सकेर गुज्रिन्छ । अब म्याद तेस्रो पटक थप गर्ने तयारी हुँदैछ ।
निर्माण कार्यको यो बेथिति, उदयपुरको बेलका नगरपालिकाको हो जहाँ करिब पाँच वर्षदेखि साढे १३ करोड रुपैयाँ लागतमा बनाउन थालिएको पक्की पुल निर्माणको काम अलपत्र अवस्थामा छ । नगरपालिकाको वडा नम्बर ३ मा पर्ने गिँदेरी खोलामा पप्पु कन्स्ट्रक्सनले मृत सञ्जीवनीसँगकाे जोइन्ट भेन्चरमा पुल निर्माण गर्न थालेको पाँच वर्ष बित्यो । सम्झौता अनुसार २०७४ साल असारमा नै निर्माण सम्पन्न गरिसक्नु पर्ने थियो । यस अवधिमा जम्मा ५/७ प्रतिशतमात्रै काम सम्पन्न भएपछि एक वर्षको म्याद थप गरियो । पछिल्लो सम्झौताअनुसार गत असार ३० गते पुल निर्माण भइसक्नुपर्ने थियो । तर, थप गरिएको म्याद अवधिमा निर्माणको काम सक्नु त टाढैको कुरा भयो, अहिलेसम्म फाउन्डेशनको कामसमेत पूरा भएको छैन । निर्माण कार्य सम्पन्न गर्नुपर्ने समय सकिएर म्याद थप गर्दासमेत कामको प्रगति हुन नसकेपछि बेलकाबासी निराश बनेका छन् ।
२ करोड १६ लाख बढी भुक्तानी
वीरगन्जमा मुख्य कार्यालय रहेको पप्पु कन्स्ट्रक्सन र बानेश्वरको मृत सञ्जीवनीले ०७१ मा डिभिजन सडक कार्यालयसँग चार वर्षभित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरेका थिए । सम्झौतालगत्तै ठेकेदार कम्पनीलाई पेश्की रकम पनि दिइयो । तर, मधेस आन्दोलनलाई कारण देखाउँदै केही समय ठेकेदार बेपत्ता हुँदा काम ठप्प हुन पुग्यो । ०७४ असार मसान्तमा काम सक्नुपर्नेमा जम्मा ५/७ प्रतिशत काम भएको थियो । त्यसपछि ०७५ असारसम्म भन्दै एक वर्षको म्याद थप गरियो । तर, ठेकेदारले ०७५ साल लागेपछि काम गरेजस्तो गर्न थाल्यो । यही अवधिमा थोरै काम भएर १८/२० प्रतिशत पुगेको हो । अघिल्लो आर्थिक वर्षमा १ करोड बढी भुक्तानी लिएको निर्माण कम्पनीले चालू आर्थिक वर्षमा पनि १ करोड १६ लाख लिएको डिभिजन सडक कार्यालय लहानका ईन्जिनीयर सोभितलाल ठाकुरले बताए । ‘अब म्याद थप गर्दा बिलसँगै प्रतिबद्धता पनि मागिने छ,’ ठाकुरले न्युज कारोबारसँग भने, ‘सधैँ लापरबाही र ढिलासुस्ती हामी सहने छैनौँ ।’ निर्माण कम्पनीलाई पुनः एक वर्षको म्याद दिएर काम अगाडि बढाउन आग्रहसहित बेलका नगरपालिकाले पत्राचार गरेको उनले जानकारी पनि दिए ।
गुणस्तरहीन सामाग्री हाल्ने प्रयास
यसअघि कम गुणस्तरको निर्माण समाग्री प्रयोग गरेको केही स्थानीयबासी डिभिजन सडक कार्यालय लहान पुगेर पुलको गुणस्तर जाँच नगरी काम अगाडि नबढाउन माग गरेपछि केही समय काम रोकिएको थियो । पुलमा प्रयोग गरिएको गिटी, बालुवा कमसल भएकाले निर्माण कार्य रोकेर जाँचपछिमात्रै काम थाल्न उनीहरुले आग्रह गरेका थिए ।
नगरपालिका मुकदर्शक
बेलका नगरपालिका गिँदेरी पुल निर्माणको काम अलपत्र पर्दा मुकदर्शक देखिएको छ । लामो समयसम्म मुकदर्शक बने पनि नगरपालिकाले सडक डिभिजनलाई एउटा पत्र भने लेखेको छ । यद्यपि, नगरपालिकाले पत्रमाथि भइरहेको कारबाहीबारे तोकेता गरेको छैन । ‘औपचारिकताका लागि एउटा पत्र पठाएजस्तै भयो,’ लालबजारका स्थानीय सन्तोष खड्का भन्छन्, ‘केही लागेन भने नगरपालिकाले प्रदेश हुँदै गृहमन्त्रालयसम्म पुग्ने हिम्मत गर्न सक्नुपर्छ ।’ गिँदेरीमा पुल निर्माण हुँदा बेलकाबासीलाई निकै सहज हुने भएकाले खासगरी नगरप्रमुखले यसमा विशेष चासो दिएर पहल गर्नुपर्ने उनले बताए ।
पुल नबन्दाका समस्या
साढे १३ करोड रुपैयाँ लागतमा निर्माण सम्झौता गरेको २ सय १८ मिटर लामो उक्त पुल निर्माणको काममा जोइन्ट भेन्चर पप्पु/मृत संजिवनी जेभी बानेश्वरले चरम लापरबाही गरेको स्थानीयबासी बताउँछन् । सप्तरी–उदयपुर खण्डमा पर्ने गिँदेरी पुल नबन्दा बर्खामा बेलका नगरपालिकाको एउटै वडाबाट अर्को वडामा आउजाउ गर्न स्थानीयबासीलाई समस्या हुने गरेको छ । त्यतिमात्रै होइन, वर्षायाममा आउने गिँदेरी खोलाको बाढीले बिरामीलाई उपचारका लागि रामपुर वा धरानसम्म पुर्याउन पनि समस्या हुने गरेको छ । तत्कालीन तपेश्वरी गाविस अन्य तीन गाविससँग मिलेर बेलका नगरपालिका बनेको छ । यसको केन्द्र रामपुर छ । तत्कालीन तपेश्वरीका कतिपय गाउँबस्तीबाट रामपुर केन्द्र आउन गिँदेरी हुँदै आउनुपर्छ । तर, पुल नहुँदा कहिले साइकल, कहिले मोटरसाइकल त कहिले मान्छे नै खोलाले बगाइदिन्छ,’ बानडाँडाकी ६७ वर्षीया हरिमाया राईले भनिन्, ‘पुल नहुँदा हामी आम्बासीसम्म एउटा गाडी त्यसपछि अर्को गाडी चढेर नगरपालिका केन्द्र जानुपर्छ ।’
सरकारी निकाय निरीह बन्दा ठेकेदारले हेपेको सातपत्रेका कृष्ण चौधरी बताउँछन् । ‘०६९ सालमा सुरु भएको सप्तकोशी पुल तीन वर्षमा तयार भयो, चौधरी भन्छन्, ‘तर पाँच वर्षअघि शिलान्यास भएको गिँदेरी पुलको काम अहिलेसम्म फाउन्डेशनमै अड्केको छ, यो त सरकारलाई नै चुनौती हो ।’
पाँच वर्षको काम हेर्दा अब पुल बन्ने र प्रयोग गर्न पाउने आशा मर्दै गएको धौरीका दुर्गा थापामगर बताउँछन् । ‘यो पुल बन्यो भने वडा नम्बर ३ र १ जोडिन्छ, अर्थात दूरी कम हुन्छ,’ उनी भन्छन्, ‘भागलपुर, तपेश्वरी, भासी, रातापानी, बेल्हा, करैया, गलफडिया, तपेश्वरीलगायतका स्थानबाट वर्खामा नगरपालिका केन्द्र आउन जान सहज हुन्छ भन्ने अपेक्षा थियो, तर अब आशा मर्दै गयो ।’ पुल नबन्दा हरेक वर्ष खोलाले मानवीय एवं भौतिक क्षति गर्दै आएको छ । ‘बर्षामा रामपुर जानुपर्यो भने आम्बासीबाट सुपाडे हुँदै जानुपर्छ, जुन हामीलाई लामो दूरीमा पर्छ,’ आम्बासीका लालबहादुर कुँवरले भने, ‘गिँदेरीको पुल समयमै नबनिदिँदा अझै कति क्षेति बेहोर्नुपर्ने हो भन्ने चिन्ता लागेको छ ।
बेलका नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भरतकुमार मगरले पुल नबन्दा बर्खामा मानवीय क्षतिको सम्भावना जिवितै रहेको बताए । ‘पुल नबन्दा मानवीय क्षति हुने सम्भावना ज्युँका त्यूँ छ,’ उनले भने, ‘यसको निर्माणलाई चुस्त रुपमा अगाडि बढाउन दबाब दिन हामीले नगरकार्यपालिकाको बैठकमा पनि छलफल गर्यौँ र सडक डिभिजनलाई पत्राचार गरेका छौँ, आशा छ अब थपिने म्यादअवधिमा निर्माण सकिनेछ ।’
दसैँपछि काम हुन्छ : मृत सञ्जीवनी
मृत सञ्जीवनीका ठेकेदार गौरी प्रसाद उप्रेतिले भने दसैँपछि काम धमाधम अघि बढ्ने दाबी गरे । पप्पुका कारण काम प्रभावित भएको उनले बताए । ‘मैले आफ्नो काम गरिरहेको छु,’ उनले न्युज कारोबारसँग भने, ‘दुई/तीन करोडको काम मैले सकाएँ, अब पनि नगर्ने भनेको छैन, तर पप्पुको आलटालले समस्या परेको हो ।’
काम अघि बढाउन मेसिनहरु पठाइसकेको उनले जानकारी पनि दिए । ‘मेसिनहरु पठाइसकेको छु,’ उनले भने, ‘एक वर्ष म्याद थपका लागि निवेदन दिएको छु, कुनै अवरोध आएन भने अर्को वर्ष काम सकिन्छ ।’
गृहमन्त्रीलाई गिज्याउँदै
हुन त गृहमन्त्री रामबहादुर थापाका लागि गिँदेरी पुल नबन्नुले त्यति ठूलो अर्थ नराख्ला । तर, उनले दिइरहने अभिव्यक्ति सुनेका बेलकाबासीलाई भने ठूलो अर्थ राख्नेछ । विकास निर्माणका काममा लापरबाही गर्ने ठेकेदारलाई जेल हाल्ने अभिव्यक्ति दिने गरेका गृहमन्त्रीले गिँदेरी पुलमा चरम लापरवाही गर्ने पप्पु कन्स्ट्रक्सनलाई कार्बाही गर्लान् कि नगर्लान् भन्ने जिज्ञासा बेलकाबासीमा छ । उनीहरुले समाचारमा पढ्ने, सुन्ने र हेर्ने गरेका छन्– पप्पुले वहाँ राम्रो काम गरेन, यहाँ ढिला गर्यो, उता गुणस्तरहीन सामाग्री प्रयोग गर्यो, आफ्नो ठाउँमा त देखि नै रहेका छन् । तर, पनि पप्पुमाथि कार्बाही भएको छैन । ‘भाषणमात्रै त रहेछ नि,’ बुद्धचौकका युवा भुषण चाम्लिङ भन्छन्, ‘गृहमन्त्रीलाई त हाम्रौ गिँदेरीले गिज्याइरहेको छ नि !’
पहल नगरे पप्पुले पचाउन सक्ने
पप्पु कन्स्ट्रक्सन निर्माण कार्यमा बदनाम निर्माण कम्पनी हो । सडक तथा पुल निर्माणका धेरै आयोजनामा दर्जनौं ठेक्का लिएको पप्पुका कुनै पनि काम विवादरहित छैनन् । राजनीतिक शक्तिको आडमा पप्पु कन्स्ट्रक्सनले आफ्नो कामलाई लापरवाह ढंगले अगाडि बढाएका दर्जनौं उदाहरण छन् । समयमा काम नसक्ने र गुणस्तर कायम नगर्ने कम्पनीका रुपमा पप्पु बदनाम छ । सडक विभागका अधिकारीहरु नै उक्त कम्पनीको कामप्रति रुष्ट छन् । तर, त्यसवापत दण्डित गर्ने आँट कसैले गरेको छैन । किनकि, पप्पु कन्स्ट्रक्सनलाई राजनीतिक संरक्षण रहेको बताइन्छ । पछिल्लो समयमा निकै विवादमा आएको उक्त कम्पनीका सञ्चालक संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियार हुन् । गिँदेरी पुल त सानो ठेक्का हो पप्पुका लागि । त्यसैले सबैतिरबाट दबाब नदिने हो भने गिँदेरी पुलबाट आउजाउन गर्ने बेलकाबासीको सपना अधुरै हुन सक्ने डिभिजन सडक कार्यालय लहानकै अधिकारी बताउँछन् । ‘हामी हाम्रो ठाउँबाट दबाब दिन्छौँ, मिडिया, स्थानीयबासी, नगरपालिकाले पनि दबाब दिनुपर्छ, तबमात्र बन्दा गिँदेरी पुल,’ ती अधिकारीले भने ।
हालैमात्र पप्पु कन्सट्रक्सनले गौर नगरपालिका–४ स्थित टिकुलिया घाटमा बनाउन लागेको पुल अलपत्र हुँदा सो ठाउँमा डुंगा दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । यो घटनालाई लिएर पप्पु कन्सट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ पूर्जी जारी गरेको छ । गत भदौ ८ गते डुंगा दुर्घटनामा सर्वसाधरणको मृत्यु भएपछि उनीविरुद्ध उजुरी परेको थियो । प्रहरीले पटक पटक बोलाउँदा पनि उनी नआएपछि पक्राउ पूर्जी जारी गरिएको रौतहट प्रहरीले जनाएको छ । सुमित संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियारका छोरा हुन् ।
प्रकाशित समय : २०:५९ बजे





















