global ime bank Long Banner Ad

गृहपृष्ठ ‘मेरा ज्वाइँ मसँग सेक्स गर्न चाहन्छन्, म यस्तो गर्न सक्दिनँ’

‘मेरा ज्वाइँ मसँग सेक्स गर्न चाहन्छन्, म यस्तो गर्न सक्दिनँ’

‘मेरा ज्वाइँ मसँग सेक्स गर्न चाहन्छन्, म यस्तो गर्न सक्दिनँ’

अस्ट्रेलियाको उत्तरी भेगस्थित पपुआ न्यू गिनी महिलाका लागि संसारको सबैभन्दा खतरनाक देशमध्ये एक रहेको बताइन्छ । यहाँका ७० प्रतिशत महिला बलात्कृत हुन्छन्, उनीहरुले आफ्नो जीवनकालमा कैयौँ पटक यौन हिंसाको सिकार बन्नुपर्छ ।

पपुआ न्यू गिनीको राजधानी मोरेस्बीका कतिपय महिला हिंसाविरुद्ध फाट्टफुट्ट बोल्न थालेका छन् । तर, उनीहरुको आवाज कसैले सुनेको छैन । किनकि, यही सहरमा यस्ता महिला पनि भेटिन्छन्, जो महिलाविरुद्धको हिंसालाई सही मान्छन् । ‘अब त अति नै भयो’ भन्ने महिलाको संख्या निकै भए पनि आवाज सानो छ ।

पपुआ न्यू गिनी बस्नका लागि संसारको सबैभन्दा ‘खत्तम’ देशका रुपमा चिनिन्छ, जहाँ घरेलु हिंसा र बलात्कारको दर सबैभन्दा बढी छ । तर, यहाँको ठूलो चिन्ता भनेको बलात्कारका दोषी निकै कम समातिन्छन् ।

जनवरीदेखि मे, २०१८ भित्र घरेलु हिंसा र बलात्कार गरी कम्तीमा ६ हजार मुद्दा दर्ता भएको एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् । ‘यो तथ्यांक दर्ता गराएकाले थाहा भएको हो,’ ती अधिकारीले भने, ‘यीभन्दा ज्यादा घटना हुन सक्छन्, जो दर्ता गरिएको छैन ।’

पपुआ न्यू गिनीमा तपाईंले कुनै पनि आमनागरिकसँग सोध्नुभयो भने उसको उत्तर हुनेछ, ‘यो सामान्य कुरा हो, कुनै महिला जो गर्लफ्रेन्ड हुन्, श्रीमती वा साथी हुन्, उनीमाथि हिंसा हुनु स्वाभाविक हो ।’

‘सबैभन्दा सजिलो सिकार महिला’
पपुआ न्यू गिनीमा स्थानीय बदमासहरुलाई ‘दुष्ट’ भन्ने गरिन्छ । उनीहरुमाथि बलात्कारको सबैभन्दा बढी आरोप लाग्ने गरेको छ । उनीहरुका लागि कुनै महिलामाथि सामूहिक बलात्कार गर्नु सामान्य घटना हो । यसबारे उनीहरु खुलेरै कुरा गर्छन् । क्यामेरा र प्रहरीका अगाडि पनि उनीहरु डराउँदैनन् ।

एक ‘बदमास’ले भने, ‘यहाँ महिलाहरु सबैभन्दा सजिलो सिकार हुन् । उनीहरुलाई लुट्न सबैभन्दा सजिलो हुन्छ । उनीहरुलाई पिट्न सजिलो हुन्छ । सडकमा कुनै महिलालाई तपाईंले पिट्नुभयो भने त्यसको विरोध कसैले गर्दैन । यो सामान्य हो । त्यसैले हाम्रा लागि महिला सजिला सिकार हुन् ।’

पोर्ट मोरेस्बी सहरमा तपाईंले कुनै महिलालाई एकोहोरो हेर्नुभयो भने उनको ‘सतर्क आँखा’बाट यो स्पष्ट हुन्छ कि उनी कति खतरामा बाँचिरहेकी छन् ।

सहरमा महिलाविरुद्धको हिंसा दिनप्रतिदिन बढिरहेको अधिकारीहरु बताउँछन् । त्यसैले सरकारले बाध्य भएर ‘सेफ हाउस’ नामको घर नै स्थापित गर्नुपरेको छ । एउटा सेफ हाउसमा भेटिएकी सुजेन नामकी महिला दुई महिनायता आफ्ना बालबच्चासँग यहाँ बस्दै आएकी छन् । सन् २००० मा उनको विवाह भएको थियो । १८ वर्षसम्म भोग्नुपरेको घरेलु हिंसाको जवाफ सुजेनले बल्ल दिएकी छन् ।

‘ऊ मलाई धेरै पिट्थ्यो । उसले यही वर्षअघि मेरा हात चिरिदिएको थियो । हातमा मैले ३५ टाँका लगाउनुपर्यो । मलाई पिटेको पिट्यै गरेपछि डरले म भाग्थेँ, त्यसक्रममा मेरो दाहिने खुट्टा भाँचिएको थियो ।’

श्रीमानले आफूलाई आफ्नो निजी सम्पत्ति सम्झिने गरेको सुजेन बताउँछिन् । ‘परिवारका अन्य सदस्यले पनि उसलाई रोक्न सक्दैन थिए,’ सुजेनले भनिन् ।

सेफ हाउसको कल्चर
म्यारिसाले पनि ‘सेफ हाउस’मा शरण मागेकी थिइन् । तर, नियमअनुसार यहाँ बस्नका लागि उनको उमेर अलि बढी छ । सेफ हाउसका म्यानेजरले उनलाई नियमको बाध्यता सम्झाए र म्यारिसा फर्किनुपर्यो । ‘मेरा ज्वाइँ मलाई बेल्टले पिट्छन् । उनी मसँग सेक्स गर्न चाहन्छन् । म यस्तो गर्न सक्दिनँ । मलाई घर फर्किन डर लागिरहेको छ । उनी चक्कु राख्छन् । मेरी छोरीलाई पनि निकै पिट्छन् ।’

कानुनको सहयोग
करिब पाँच वर्षअगाडि पपुआ न्यू गिनीमा ‘फ्यामिली प्रोटक्सन एक्ट’ बनाइयो । यो एेनअनुसार घरेलु हिंसा एक अपराध हो, जसका लागि दुई वर्ष जेल सजाय वा आरोपीलाई दुई हजार अमेरिकी डलर जरिवाना हुन सक्छ । यही कानुनबाट जेनेटजस्ता महिलाको हौसला बढेको हो जसले केही दिन अघिमात्र घरेलु हिंसाका कारण आफ्नो घर छाडिदिएकी थिइन् ।

‘मैले आफ्ना साना बच्चाहरुलाई छाडेर भाग्नुपर्यो । तर, म प्रहरीको सहयोग लिन चाहान्छु । पपुआ न्यू गिनीमा घरेलु हिंसाविरुद्ध रिपोर्ट गर्ने चलन कमै छ । महिलाहरु कम्पलेन्ट गर्दा बच्छन् । तर, म कानुनको सहयोग लिएर आफ्ना बच्चाहरु त्यहाँबाट निकाल्न चाहन्छु,’ जेनेटले भनिन् ।

पपुआ न्यू गिनीको समाज पितृसत्तात्मक समाज हो । यहाँ घरको सबै निर्णय गर्ने अधिकार पुरुषको हातमा हुन्छ । यसबारे जेनेटका श्रीमानसँग कुरा गर्दा उनले भनेका छन्, ‘म एक जागिरे हुँ । म एक विद्यालयमा पढाउँछु । म किन हिंसा गर्छु ? जेनेटले मलाई थप्पड हानेकी थिइन्, त्यसपछि मैले हात उठाएको हुँ । मैले उनको अनुहारमा एक मुक्कामात्र हानेको थिएँ । उनको रवैया खराव थियो ।’

‘खराब रवैया’को मतलव !’ यो प्रश्नमा उनले भने, ‘उनी मेरो कुरा सुन्दिनन् । उनलाई जे मन लाग्छ त्यही गर्छिन् । बच्चाहरुलाई दूधसमेत पिलाउँदिनन् । घरको कुनै पनि काम उनलाई गर्न आउँदैन । उनी मलाई भड्काउँछिन् र त म हिंसा गर्नका लागि बाध्य हुन्छु ।’

यो कुराकानीको केही समयलगत्तै जेनेटको पतिलाई गिरफ्तार गरिन्छ । जेनेटले आफ्ना बच्चाहरुलाई भेट्छिन् । केही दिनपछि परिवारको दबाबमा उनले आफ्ना श्रीमानमाथि लगाएको सबै आरोप फिर्ता लिइन् । यसरी पपुआ न्यू गिनीमा महिलाहरु निकै असुरक्षित र कोलाहलपूणी जीवन काट्न बाध्य छन् ।

(बीबीसी)

प्रकाशित समय : १९:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु