फेयरफोर्ड सैन्य बेसबाट अमेरिकाले सबै बमवर्षक विमान फिर्ता बोलायो
वि.सं.२०८३ असोज १९ सोमवार ०४:५७
shares

एजेन्सी
काठमाडौँ । बेलायतस्थित ‘आरएएफ फेयरफोर्ड’ सैन्य बेसनजिकै भएको सन्दिग्ध सुरक्षा घटनापछि संयुक्त राज्य अमेरिकाले त्यहाँ तैनाथ आफ्ना सबै बमवर्षक विमान फिर्ता बोलाएको छ।
अमेरिकी रक्षा अधिकारीका अनुसार फेयरफोर्ड बेसमा रहेका सबै बमवर्षक विमानलाई अमेरिकास्थित नियमित स्टेसनमा फिर्ता लगिएको छ। आइतबार रकवेल बी–१ लान्सर हेभी बम्बर विमानहरू अमेरिकाका लागि उडेका थिए।
अमेरिकाले विमान फिर्ता गर्नुको आधिकारिक कारण भने स्पष्ट गरेको छैन। तर, गत सेप्टेम्बर २७ मा ग्लोस्टरशायरस्थित उक्त एयरबेसनजिकै तीनवटा शङ्कास्पद सवारीसाधन फेला परेपछि सुरक्षा अनुसन्धान भइरहेका बेला अमेरिकाले विमान फिर्ता गरेको हो।
बेलायती प्रशासनिक स्रोतले पनि अमेरिकी निर्णय फेयरफोर्ड घटनाकै प्रतिक्रियास्वरूप आएको हुनसक्ने बताएका छन्। यो राजनीतिक नभई अमेरिकी सेनाले सञ्चालन तहमा लिएको सैन्य निर्णय भएको र यसबारे बेलायती सेनालाई जानकारी गराइएको बीबीसीले जनाएको छ। बेलायती रक्षा मन्त्रालयले भने यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ।
सेप्टेम्बर २७ को बिहान अमेरिकी वायुसेनाले सञ्चालन गर्दै आएको उक्त बेसतर्फ शङ्कास्पद रूपमा अघि बढिरहेका सवारीसाधनबाट २३ देखि २५ वर्ष उमेरका पाँच बेलायती नागरिक पक्राउ परेका थिए। उनीहरूलाई सुरुमा विस्फोटक पदार्थसँग सम्बन्धित गतिविधि र पछि आतङ्कवादी गतिविधिको तयारीको आशङ्कामा पक्राउ गरिएको थियो। प्रहरीले अनुसन्धानकै क्रममा उनीहरूलाई धरौटीमा रिहा गरेको थियो।
त्यसपछि लन्डनबाट पक्राउ परेका २५ वर्षीय छैटौँ व्यक्ति बेलायती–इरानी नागरिकलाई पनि शनिबार धरौटीमा रिहा गरिएको काउन्टर टेरर प्रहरीले पुष्टि गरेको छ।
घटनाको केही दिनपछि बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले यसमा इरानको हात रहेको ‘बलियो सङ्केत’ देखिएको बताएका थिए। उनले थप विवरण भने सार्वजनिक गरेनन्। इरानले घटनामा आफ्नो कुनै संलग्नता नरहेको भन्दै आरोपको खण्डन गरेको छ।
यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फक्स न्युजसँग कुरा गर्दै घटनामा स्पष्ट रूपमा ‘विदेशी पक्षको हात’ रहेको दाबी गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पक्राउ परेका पाँचै जनालाई धरौटीमा रिहा गरिएकोमा आश्चर्य व्यक्त गर्दै उनीहरूलाई आफूहरूले रिहा नगर्ने बताएका छन्। उनले यस विषयमा बेलायतले अमेरिकासँग निकै नजिक रहेर काम गरिरहेको पनि बताएका छन्।
अमेरिकी वायुसेनाले दशकौँदेखि आरएएफ फेयरफोर्डलाई ‘फर्वार्ड अपरेटिङ बेस’ का रूपमा प्रयोग गर्दै आएको छ। इरानविरुद्धको रक्षात्मक कारबाहीका लागि उक्त बेस प्रयोग गर्न बेलायतले अनुमति दिएपछि पछिल्ला महिनामा अमेरिकी बमवर्षक विमानहरूले यहीँबाट मध्यपूर्वतर्फ उडान भर्दै आएका थिए।
गत जुलाईमा इरानले आफ्नो भूमिमाथि आक्रमणका लागि प्रयोग हुने जुनसुकै सैन्य बेस पनि आफ्नो सेनाको वैध निशाना बन्ने चेतावनी दिएको थियो।






















