गृहपृष्ठ संविधानको छेउकुना नमिलेको भए मिलाइन्छ : प्रधानमन्त्री ओली
संविधानको छेउकुना नमिलेको भए मिलाइन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता ठीक कि बेठीक भन्ने प्रश्न अब सान्दर्भिक नभएको बताएका छन् । संविधान दिवसको अवसरमा सैनिक मञ्च टुडिखेलमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले संघीयता नेपालको नयाँ प्रयोग भएकाले व्यवहारमा पूर्णता पाउने दाबी गरे ।
‘बहस र तर्क÷वितर्क निर्णयमा पुग्नुअघि मात्र स्वभाविक हुन्छ तर जब राष्ट्रले निर्णय लिन्छ, नेतृत्वकर्ताले त्यसलाई दृढतापूर्वक लागू गर्छ,’ प्रधानमन्त्री ओलीले भने । उनले संविधानमा कतै छेउकुना नमिलेको भए वा कहीँकतै राँटो बाँकी रहेको भए समयक्रममा मिलाइने र अमिल्दा देखिएको विषयको परिमार्जन र संशोधन हुने बताए ।
प्रधानमन्त्री ओलीले राज्यले विधि मिच्न मिल्दैन भन्नेमा सरकार स्पष्ट रहेको बताउँदै राष्ट्रले देखेको सपनालाई राज्यका सबै निकाय मिलेर काम गर्नुपर्नेमा जोड दिए । समृद्धि राष्ट्रिय सङ्कल्प भएकाले सबै राजनीतिक दलका नेता र देशवासीलाई सहयोग गर्न प्रधानमन्त्री ओलीले आह्वान समेत गरे ।
अधिकार प्राप्तिको राजनीतिक आन्दोलनको चरण सकिएकाले अब शान्तिपूर्ण, सशक्त वा सशस्त्र हिंसात्मक आन्दोलन संविधान लागू भएसँगै इतिहास बन्नुपर्नेमा प्रधानमन्त्रीको जोड थियो । अधिकार प्राप्ति वा राजनीतिक प्रणालीको नाममा अब कुनै पनि प्रकृतिको जबर्जस्ती र अनुचित क्रियाकलाप आवश्यक नभएको उनको भनाइ छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थिति थियो ।
त्यस्तै, समारोहमा प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री, मन्त्रीगण र उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।
प्रकाशित समय : १९:०६ बजे



















