गृहपृष्ठ विराटनगर महानगर राजस्व शाखाका कर्मचारी घुससहित पक्राउ
विराटनगर महानगर राजस्व शाखाका कर्मचारी घुससहित पक्राउ
विराटनगर महानगरपालिकाका एक कर्मचारी सेवाग्राहीसँग घुस लिँदै गर्दा आइतबार दिउँसो रंगेहात पक्राउ परेका छन् । महानगरपालिका राजस्व शाखामा कार्यरत तिलकमणि पोखरेल विराटनगर–७ की सेवाग्राही मिना शाक्यसँग घुस लिँदै गर्दा पक्राउ परेका हुन् ।
उनलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, वडा नम्बर ७ का अध्यक्ष मधुबाबु तिवारीलगायतको टोलीले सेवाग्राही पोखरेल ँग घुस लिँदै गर्दा पक्राउ गरेको हो । सेवाग्राही शाक्यले घरको कर तिर्न जाँदा राजस्व शाखाका खरिदार पोखरेलले घुस मागेको र सो कुरा वडा अध्यक्षलाई जानकारी गराएको बताइन् ।
उनले महानगरका कर्मचारी पोखरेलले राजस्व १ लाख रुपैयाँ बढी तिर्नुपर्ने बताएको र आफूसँग त्यत्रो रकम नभएको बताएपछी ८५ हजार रुपैयाँमात्र बुझाएको बताइन् । पोखरेलले ८५ हजार रुपैयाँ बुझाएपछि खरिदार पोखरेलले राजस्वको रसिद सोमबार आउने बताएको र केही समयपछि बोलाएर रसिद तयार भएको बताउँदै ७३ हजार ५ सय रुपैयाँको मात्र रसिद थमाएपछि वडाध्यक्ष तिवारीकै अग्रसरतामा कर्मचारी पोखरेल पक्राउ परेका हुन् ।
घुससहित पक्राउ परेका कर्मचारी पोखरेलले आफूलाई फसाउन खोजेको आरोप लगाएका छन् । उनले जानी–जानी सेवाग्राही शाक्यले राजस्वभन्दा बढी रकम दिएको र सोही बहानामा आफूलाई फसाउन खोजेको आरोप लगाए । यता, विराटनगर महानगरपालिकाका प्रमुख पराजुलीले पनि रसिदमा उल्लेख भएभन्दा बढी रकम लिएको पाइएकाले आफूहरु पनि अनुसन्धानकै क्रममा रहेको बताएका छन् । उनले तत्कालका लागि उक्त विषय अख्तिरलाई जानकारी गराएको र अख्तियारको अनुसन्धानपछि महानगरले पनि आन्तरिक अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउने बताए ।
प्रकाशित समय : २१:३० बजे


















