विश्वमा एचअईभी संक्रमित ६ करोड रहेको तथ्यांक सार्वजनिक
वि.सं.२०७५ मंसिर २४ सोमवार १८:०८
shares

सांसदहरुले विश्वमा ठूलो समस्याको रुपमा रहेको क्षयरोग र एड्स नियन्त्रणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार सार्क क्षयरोग तथा एड्स रोग केन्द्रले सार्क स्थापना दिवस तथा विश्व एड्स दिवसको सन्दर्भमा गरेको कार्यक्रममा उनीहरुले विश्वमा ठूलो समस्याको रुपमा रहेको रोग नियन्त्रणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।
स्वास्थ्य तथा शिक्षा समितिकी सभापति जयपुरी घर्तीले स्वास्थ्य र शिक्षालाई विकासको मुल प्रवाहमा जोड्ने विषयमा छलफल भइरहेको बताइन् । उनले स्वास्थ्य, शिक्षा लगायतका विषयमा आफू पनि पीडित रहेको भन्दै सभापति घर्तीले राज्यले विशेष प्राथमिकता दिनु पर्नेमा जोड दिइन् । कार्यक्रममा संसदहरुले स्वास्थ्य र शिक्षाको विषयमा आफुहरु लडिरहेका बताएका थिए ।
कार्यक्रममा सार्क क्षयरोग तथा एचआइभी एड्स केन्द्रका निर्देशक डा.राजेन्द्रप्रसाद पन्तले क्षयरोग र एचआइभीको वर्तमान अवस्थाको बारेमा जानकारी दिए ।
क्षयरोग र एचअईभीकाे अवस्था
क्षयरोग लगभग ५ हजार वर्ष र एड्स ३० बर्ष पुरानो रोग हो । यती धेरै पुरानो रोग भए पनि यो रोग पूर्णरुपमा निको पार्ने अहिलेसम्म कुनै औषधी पत्ता लागेको छैन । सार्क मुलुकमा सन् २०१७ सम्ममा ३८ लाख क्षयरोगको संक्रमित छन् भने ६ लाख मानिस क्षयरोगको कारण मृत्यु भएका छन् । विश्वमा क्षयरोगका बिरामी १ करोड ४० लाखको हाराहारीमा रहेको र १८ लाखको मृत्यु भएको छ । त्यस्तै एचअइभी संक्रमित ६ करोड रहेका छन् । नेपालमा १३ हजारको संख्यामा रहेको अनुमान गरिएको छ ।

























