विश्व शारीरिक सुगठनमा महेश्वर महर्जनलाई स्वर्ण
वि.सं.२०७५ पुस १ आइतवार १७:२३
shares

विश्व शारीरिक सुगठनमा नेपालका महेश्वर महर्जनले स्वर्ण पदक हात पारेका छन् । थाइल्याण्डको चाङमईमा जारी १०औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा महेश्वरले पुरुष ७५ केजीमा स्वर्ण जितेका हुन् । १२ खेलाडी सहभागी उक्त स्पर्धामा भारतीय खेलाडी दोस्रो र सिंगापुरका खेलाडी तेस्रो भएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघले जनाएको छ ।
शारीरिक सुगठनतर्फ नेपाली खेलाडीले विश्वस्तरमा स्वर्ण जितेको यो पहिलो पटक हो । गत वर्ष नेपालकी ननिता महर्जनले महिला एथ्लेटिक्स फिजिक्स १६० मा रजत पदक जितेकी थिइन् ।
महेश्वरले अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई स्वर्ण पदक दिलाएको यो दोस्रोपटक हो । महेश्वरले २०१६ मा भुटानमा भएको ५०औँ एसियन बडी बिल्डिङ एन्ड फिजिक स्पोर्टमा पनि ७५ केजी तौल समूहमा स्वर्ण जितेका थिए । यस्तै, उनी नेपाली बडी बिल्डिङको सबैभन्दा प्रतिष्ठित र चर्चित धर्मश्रीको १३औँ संस्करणमा च्याम्पियन र १४औँ तथा १५औँ संस्करणमा दोस्रो भएका थिए ।

























