टुँडिखेल आसपासबाट कुन ठाउँ जान कहाँ बस कुर्ने ?
वि.सं.२०७५ पुस १ आइतवार १७:०७
shares

काठमाडौं महानगरपालिकाले आइतबारदेखि टुँडिखेलआसपासका क्षेत्रमा जथाभावी सार्वजनिक सवारी साधन रोकेर यात्रु बोलाउन निषेध गरेको छ । बढ्दो जाम कम गर्न तोकिएका स्थानबाट मात्र यात्रु ओराल्ने र चढाउने गरी महानगरपालिकाले अभियान सञ्चालन गरेको हो ।
यात्रु कुर्नका लागि एउटै सवारी साधन लामो समय बस्दा जाम भएको निष्कर्ष निकाल्दै महानगरले ‘पिक एन्ड ड्रप’ अभियान सुरु गर्न लागेको महानगर प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । ‘जामका कारण वायु प्रदूषण, समय नष्ट, इन्धन नष्ट भएका कारण यो अभियान सञ्चालन गरेका हाैं,’ शाक्यले न्युज कारोबारसँग भने, ‘यातायात व्यवस्था विभाग, सडक विभाग र ट्राफिक प्रहरीसँगको समन्वयमा अभियान सुरु गरिकाले सफल हुनेमा पूर्ण विश्वास छ ।’ यात्रु केही दिन अल्मलिए पनि पछि सबैलार्इ फाइदा हुने उनले बताए ।
पहिलो चरणमा विभिन्न ११ वटा रुटमा ‘पिक एन्ड ड्रप’ कार्यक्रम लागू हुनेछ । एक सवारी साधनले एक स्थानबाट मात्र यात्रु ओराल्न र चढाउन पाउनेछन् । तोकिएको ‘स्टप’ बाहेक अन्य स्थानमा यात्रु ओराले वा चढाउने गरेमा कानुनअनुसार कारबाही हुने महानगरपालिकाले जनाएको छ ।
कहाँ जान कुन ठाउँमा बस कुर्ने ?
१. टुँडिखेलबाट सिंहदरबार हुँदै बानेश्वर जाने सवारी साधनले राष्ट्रिय सभागृहको दायाँबायाँको भृकुटीमण्डपको स्टप र बबरमहलबाट मात्र यात्रु ओराल्न र चढाउन पाउने ।
२. टुँडिखेलबाट सिंहदरबार हुँदै ललितपुरतर्फ जाने सवारी साधनले राष्ट्रिय सभागृहको दायाँबायाँको भृकुटीमण्डपको स्टप र थापाथलीस्थित खाद्य संस्थानअघि मात्र यात्रु ओराल्न र चढाउन पाउने ।
३. टुँडिखेलबाट त्रिपुरेश्वर हुँदै कालीमाटीतर्फ जाने सवारी साधनले राष्ट्रिय सभागृहको दायाँबायाँको भृकुटी मण्डपको स्टप र त्रिपुरेश्वर स्टपमा यात्रु ओराल्न र चढाउन पाउने ।
४. टुँडिखेलबाट लैनचौर हुँदै नयाँबजारतर्फ जाने सवारी साधनले नेपाल वायु सेवा निगम अगाडि र लैनचौरस्थित दुग्ध विकास संस्थान अगाडि मात्र यात्रु ओराल्न र चढाउन पाउने ।
५. टुँडिखेलबाट लैनचौर हुँदै महाराजगन्ज र धोबिचौर जाने सवारी साधनले नेपाल वायुसेवा निगम अगाडि र लैनचौरस्थित खानी तथा भूगर्भ विभाग अगाडि मात्र यात्रु ओराल्न र चढाउन पाउने ।
६. टुँडिखेलबाट विश्वज्योति, घण्टाघर, कमलपोखरी, नागपोखरी जाने सवारी साधनले नेपाल वायुसेवा निगम र रत्नपार्कमा मात्र यात्रु ओराल्न र चढाउन पाउने ।
७. टुँडिखेलभन्दा बाहिर जाने सवारी साधनले रत्नपार्क अगाडि र टुँडिखेलभन्दा बाहिरको स्टपमा मात्र यात्र ओराल्न र चढाउन पाउने ।
८. पुरानो बसपार्कभित्र यात्रु चढाउने र ओराल्ने सवारी साधनले पुरानो बसपार्कभित्रको स्टपमात्र प्रयोग गर्नुपर्ने ।
९. टुँडिखेल वरिपरिभन्दा बाहिर रहेको स्टप तथा लामो दूरीका ठूला यात्रुबस एकतर्फ भृकुटीमण्डप र फर्कंदा नेपाल वायु सेवा निगम हुँदै चल्ने सवारी साधनले एकतर्फ वायुसेवा निगम अगाडि र अर्कोतर्फ भृकुटीमण्डपबाट यात्रु ओराल्ने र चढाउनुपर्ने ।
१०. यस्तै दोस्रो स्टपका लागि टुँडिखेल वरिपरिभन्दा बाहिर रहेको स्टपबाट मात्र यात्रु ओराल्ने र चढाउनुपर्ने ।
११. वायुसेवा निगमअगाडि स्टप बनाई विभिन्न स्थानमा जाने सफा टेम्पोले निगम अगाडिको स्टप र अन्य सवारी साधनले प्रयोग गर्ने स्टप तथा बागबजारस्थित भक्तपुर बसपार्कबाट यात्रु लिई आउने सवारी साधनले सोही ठाउँ र माइतीघर र बबरमहलको बीचबाट यात्रु ओराल्न र चढाउन पाउने ।

























