काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

असन्तुष्टि छ तर अहिले नै सरकार छाड्दैनौं : डा. शिवजी यादव

33.94K
shares

विक्रम सम्बत २०३२ सालबाट राजनीतिमा सक्रिय डा. शिवजी यादव सत्तारुढ संघीय समाजवादी फोरम नेपालका नेता हुन् । कम्युनिस्ट पुष्ठभूमि भएका डा. यादवले सिभिल इन्जिनियरिङमा विद्यावारिधि गरेका छन् । यसअघि उनी संघीय फोरमको संसदीय दलमा प्रमुख सचेतक थिए । हाल उनी पार्टीको राजनीतिक समिति (पोलिटव्युरो) सदस्य तथा निर्वाचन समितिको अध्यक्ष हुन् । संघीय समाजवादी फोरम संविधान संशोधन गर्ने लिखित सर्तमा नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारमा सहभागी भएको छ । तर, सरकारमा गएको दस महिना बितिसक्दा पनि संविधान संशोधनबारे छलफल भएको छैन । यदाकदा संघीय फोरम नै सरकारमा असहज अवस्थामा रहेको र सरकारबाट बाहिरिन सक्ने अड्कलबाजी भइरहेको छ । यसै सन्दर्भमा संविधान संशोधनको मुद्दा, संघीय फोरमको धारणा र आगामी रणनीतिबारे नवराज कुँवरले डा. यादवसँग गरेको कुराकानी :

संघीय सरकारमा संघीय फोरम कतिको सहज अवस्थामा छ ?

जुनसुकै ठाउँमा जस्तोसुकै अवस्थामा रहेर पनि हामीले देश र जनताका लागि काम गर्ने हो । यतिबेला हामी सहज अवस्थाबाट काम गरिरहेका छौं । वर्तमान सरकारको लक्ष्य आर्थिक समृद्धि हो । हाम्रो पार्टीको लक्ष्य पनि त्यही हो ।

तपाईंको पार्टी अध्यक्षले सम्हालेको स्वास्थ्य मन्त्रालयमै उहाँले आफ्नो योजनाअनुसार काम गर्न नपाएको भन्ने पनि सुनिन्छ, अनि कसरी सहज अवस्था भन्नुभाको ?

मलाई त त्यस्तो लाग्दैन । भेटघाट, पार्टीको बैठकमा अध्यक्षले यस्तो कुरा कहिले पनि गर्नुभएको छैन ।

त्यसो भए, संघीय फोरम सरकारबाट बाहिरिने तयारीमा रहेको कुरा सत्य होइन ?

अहिले नै हामीले सरकारबाट बाहिरिने तयारी गरेका छैनौं । जनताका हक अधिकारका लागि आन्दोलन गर्यौं, जनताकै चाहानाअनुसार निर्वाचनमा गयौं र जनताको म्यान्डेडअनुसार हामी सरकारमा गएका हौं । त्यसैले जनताका अपेक्षालाई पूरा गर्ने सवालमा हाम्रो योजना र ध्यान केन्द्रित हुनुपर्छ । सरकारबाट बाहिरिँदा त्यो कसरी पूरा हुन्छ ? निश्चित रुपमा हाम्रा मुद्दा प्राथमिकतामा नपरेकोमा हामी असन्तुष्ट छौं । तर, हामी सरकारबाट बाहिरिएर त्यसले हामीलाई कुनै निकासमा पुर्याउँदैन । त्यसैले तत्काल सरकार छाड्ने योजना छैन ।

तपाईंहरु नै भन्नुहुन्थ्यो, मधेसी जनताको मुख्य चाहाना नै संविधान संशोधन हो, तर त्यसबारे अहिलेसम्म छलफलसमेत भएको छैन, तपाईंहरुले जनताले ढाँटेजस्तो भएन र ?

जनताको त्यही चाहाना पूरा गर्न हामी सरकारमा आएका हौं । तपाईंलाई म स्मरण गराउन चाहान्छु कि हामी संविधान संशोधन गर्नुपर्ने लिखित सहमति गरेर सरकारमा सहभागी भएका हौं । प्रधानमन्त्री केपी शर्मा ओलीजीले पनि संविधान संशोधन गर्ने बाचा गर्नुभएको छ । सरकारका सुरुवाती दिन मन्त्रिपरिषदलाई पूर्णता दिँदै बिते । पछिल्लो समय केही महत्वपूर्ण र दिर्घकालीन योजनाबारे सतर्कताका साथ निर्णय गर्नुपर्ने अवस्थामा सरकार छ । त्यसैले हामीले पनि दबाब दिइहाल्ने अवस्था नभएर हो । मलाई लाग्छ, आगामी बैशाखसम्म संविधान संशोधन हुन्छ ।

के आधारमा भन्नुहुन्छ ? १० महिनासम्म संविधान संशोधनबारे छलफल त भएको छैन !

औपचारिक ढंगमा नभएको हो । अनौपचारिक रुपमा यसबारे छलफल भइरहेको छ । हामीले संविधान संशोधनका लागि कत्राकत्रा आन्दोलन गर्यौं । हाम्रा कतिपय कार्यकर्ताले प्राणको आहूति दिए, कति अंगभंग भए । अब केही समय कुर्दा शान्तिपूर्ण रुपमा आफ्ना माग पूरा हुन्छन् भने हामीले किन नकुर्ने ?

तपाईंहरुको पार्टी केन्द्रीय समिति हालै बसेको थियो, संविधान संशोधनको मुद्दालाई केन्द्रीय सदस्यहरुले नेतृत्वको चर्को आलोचना गरे भनिन्छ नि ?

केन्द्रीय समिति बैठक पार्टीको महाधिवेशन र संगठन निर्माणमा केन्द्रित थियो । त्यही पनि कतिपय साथीहरुले बैठकमा कुरा उठाउनुभयो । जनदबाब छ, हामीलाई जनताले प्रश्न गरिरहेका छन्जस्ता गुनासो साथीहरुबाट आयो । तर, अहिले हामीले जनतालाई सम्झाएर अघि बढ्नुपर्ने कुरामा उहाँहरु कन्भिन्स हुनुभयो । संविधान संशोधन गर्ने नै हो, हुनुपर्छ भन्ने लाइन पार्टीले छाडेको छैन र छाड्ने पनि छैन भन्नेमा अध्यक्षले उहाँहरुलाई विश्वस्त पार्नुभयो ।

तपाईंहरुसँगै आन्दोलन गरेको र अहिले प्रदेश २ को सत्ता साझेदार राजपा निर्वाचनमा नजाने अडान लिएर बस्दा तपाईंहरु निर्वाचनमा होमिनुभयो । राजपा सरकारमा नजाने अडान लिएर बस्दा तपाईंहरु सरकारमा पनि जानुभयो, तपाईंहरुले यो सन्देश त दिन खोज्नुभएको होइन, हामी मधेस केन्द्रित होइनौं, हामी हिमाल,पहाड र तराईंकै प्रतिनिधित्व गर्छौं ?

त्यस्तै सन्देश हामीले दिनैपर्दैन, तपाईंले हाम्रो पार्टीको संगठन र संरचना हेर्नुभयो भने थाहा भइहाल्छ । हामी मधेसमा जन्मियौं, मधेसी जनताको मन जित्यौं, मधेसी जनताको मुद्दा पहिचान गर्यौं, त्यसका लागि लड्यौं । हामी सधैं जनताको पक्षमा उभिन्छौं, यो देखेर पूरा देशले हामीलाई चाहेको छ । फेरि हाम्रो पार्टीको संरचनामा मधेसी, पहाडी क्षेत्री, जनतजाती, दलित सबै समेटिएका छन् । यसको अर्थ फेरि मधेसी जनताका माग र मुद्दा पछि धकेलिनुपर्छ भन्ने होइन । अब विस्तारै पहाडका जनताले पनि बुझ्दैछन्, संविधान संशोधन मधेसका लागि मात्रै होइन, हाम्रा लागि पनि हो ।

संविधान संशोधन भन्न छाड्नुहुन्न तर कहिले हुन्छ संविधान संशोधन र कसरी हुन्छ ?

यही सरकारले संविधान संशोधन गर्छ । आगामी बैशाखभित्र संविधान संशोधन हुने कुरामा म विश्वस्त छु । संविधान संशोधनका लागि यसअघि कांग्रेस तयार भएको थियो, त्यसपछि तत्कालीन माओवादी तयार भयो । अब पूर्वएमाले पनि तयार भएको छ । स्वयं प्रधानमन्त्री ओलीजीले संविधान संशोधन गर्ने बचन दिनुभएको छ ।

बैशाखमा संविधान संशोधन भएन भने नि ?

निराशाजनक कुरा किन गरिहाल्नु र ! वातावरण करिब बनिसकेको छ । यसलाई प्रक्रियामा लैजान केही समय लाग्ला । तर हुन्छ । विगतमा ९० प्रतिशतले जारी गरेको संविधान ८–१० प्रतिशतको दबाबमा किन संशोधन गर्ने भन्ने शक्ति अहिले संविधान संशोधनका लागि तयार देखिएका छन् । अर्थात् संसदमा ७५ प्रतिशत सांसद संविधान संशोधनको पक्षमा आइसकेका छन् । हामी चाहान्छौँ, त्यो २५ प्रतिशतले पनि कुरा बुझोस् । संविधान संशोधन केही व्यक्तिको स्वार्थमा केन्द्रित माग होइन, यो मधेसी जनताको माग हो । अब सबै दलसँग छलफल हुन्छ । संविधान संशोधनका लागि उनीहरुलाई पनि सहमत गराइन्छ । अब सतप्रतिशतको समर्थनमा संविधान संशोधन हुन्छ ।

यसअघि तपाईंले साउनमा हामीलाई दिएको अन्तरवार्तामा भन्नुभएको थियो ६ महिनाभित्र संविधान संशोधन हुन्छ, अहिले फेरि बैशाखसम्म हुन्छ भन्नुहुँदैछ । अर्कोपटक फेरि तपाईंको प्रेडिक्सन साउनजस्तै भइदियो भने नि ?

बैशाखमा संविधान संशोधन भएन भने मुलुकको राजनीतिक कोर्स बदलिन्छ । परिस्थिति गम्भीर बन्छ । हामी जनतामाझ जान बाध्य हुन्छौं । हामीले शान्तिपूर्ण ढंगबाट निकास खोजेका छौं । हामीलाई विश्वास छ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हाम्रो धैर्यता र बाध्यतालाई बुझेको छ ।

भएन भने सरकार छाडेर आन्दोलनमा जाने हो ?

जनताका माझमा जाने भनेको हो । हाम्रा मुद्दालाई बेवास्ता गरियो भने हामी सरकारमा बसेको के अर्थ ? आफ्नो लागि भन्दा पनि हामी जनताका लागि सरकारमा बस्ने हो । तर, तीनै जनताका मुद्दा ओझेलमा पारिन्छ भने सरकारमा बस्नुको औचित्य रहँदैन । जहाँसम्म आन्दोलनको कुरा गर्नुभयो, कुन किसिमको आन्दोलन हुन्छ भन्ने कुरा अहिले नै बताउन सकिँदैन । किनकि, हामी जनतमाझ गएपछि नै थाहा हुन्छ, जनताले हामीले जे अह्राउँछन्, त्यही गर्ने हो ।

त्यसपछि त तपाईंहरुलाई भन्दा राजपालाई जनताले बढी रुचाउलान नि ?

हाम्रा हरेक निर्णयलाई खासगरी मधेसी जनताले रुचाएका छन् । यसको अर्थ यो होइन, हामी जे निर्णय गर्छौं त्यो रुचाउँछन् । तर, यो सत्य हो कि जनता जे चाहान्छन्, हामी त्यही निर्णय गर्छौं । संघीय सरकारमा सहभागी नहुनु राजपाको आफ्नो बाध्यता होला । तर, सरकारमा सहभागी नभए पनि उसले सरकारलाई समर्थन गरेको छ । उसको अपेक्षा पनि संविधान संशोधन नै हो । त्यसैले मधेस मामिलामा हामी धेरै फरक धारमा छैनौं ।

सरकारका गतिविधिलाई लिएर नागरिक अगुवा, प्रेस जगत, बौद्धिक समाज निकै असन्तुष्ट छन्, के भन्नुहुन्छ ?

तीन तहको निर्वाचन सम्पन्न भएपछि गठन भएको सरकारसँग जनताको ठूलो अपेक्षा छ । एउटा पद्धतिको विकास नभएको मुलुक भएकाले सरकारले गरेका कतिपय काम देखिन निश्चित रुपमा केही समय लाग्न सक्छ । सरकारले काम नै गरेन भन्ने तर्क पनि त्यति ठीक नहोला । फेरि अर्कोतिर लोकतन्त्रमा नागरिकका तर्फबाट आवाज स्वीकार्य हुनुपर्छ । नागरिकले आफूलाई लागेका कुरा स्वतन्त्र रुपमा भन्न पाउनुपर्छ र ती आवाज सरकाले सुन्नु पनि पर्छ । तर, मलाई के लाग्छ भने सरकार बढी अनियन्त्रित र नागरिक अधैर्य भए भने घाटा मुलुकलाई नै लाग्ने हो । आफू–आफू जुधेर समाधान कहिले निस्कँदैन, बरु समस्या निम्तन्छ ।

सरकारका १० महिने काममा तपाईं सन्तुष्ट हुनुहुन्छ ?

हाम्रो पार्टीको बैठकमा पनि यसबारे कुरा उठेको थियो । कतिपय सदस्यहरुले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउनुभयो । हाम्रै पार्टी अध्यक्षसमेत रहनुभएका उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवका कामबारे पनि जिज्ञासा राख्नुभयो । १० महिनामा जनजीविकालाई सहज बनाउने खालको काम सरकारबाट नभएको कुरा उठ्यो । यो कुरालाई म पनि मान्छु, सरकार चलाउनेको के समस्या हो थाहा छैन, तर काम चाहिँ नागरिक अपेक्षा अनुसार भएको छैन । तर, सधैं यस्तो नहोला । सरकारमा सक्षम र लोकप्रिय मन्त्रीगण हुनुहुन्छ, कडा र स्पष्ट विचारका प्रधानमन्त्री हुनुहुन्छ । उहाँहरु सधैं यसरी हिँड्नुहुने छैन भन्ने विश्वास छ ।

पार्टी केन्द्रीय समिति बैठकले के निर्णय गर्यो ?

पार्टीको केन्द्रीय समिति बैठक लामो समयपछि काठमाडौंमा बस्यो । दुई दिनसम्म चलेको बैठक मूलतः महाधिवेशनमा केन्द्रित थियो । माघमा अधिवेशन गर्ने यसअघिको निर्णय संशोधन गरी बैशाखमा गर्ने निर्णय भएको छ । बैशाखपछि पार्टी पनि नयाँ संरचनामा जान्छ । त्यसबाहेक अरु समसामयिक विषयमा छलफल भयो ।