काठमाडाैंमा घर भएका सांसदलाई घरभाडा दिएका छैनौं– संसद सचिवालय
वि.सं.२०७५ पुस ३ मंगलवार २१:३४
shares

संघीय संसद सचिवालयले तोकिएको भन्दा सांसदहरुलाई बढी रकम भुक्तानी नगरेको स्पष्टिकरण दिएको छ । राजधानीमा घर भएर पनि भाडाबापत पाइने सुविधा लिइरहेका भन्दै केही सांसदको नाम सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनीहरुको चर्को आलोचना भइरहेको छ । यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै संसद सचिवालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विगत आश्विन महिना अघिको तथ्यांकलाई अध्यावधिक नगरी सूचना लिएको दुई महिनापछि सम्प्रेषण भएको छ । यस सन्दर्भमा मान्य सांसदहरुले समय–समयमा उपलब्ध गराउनुभएको सूचनाको आधारमा सचिवालयबाट भुक्तानी भएका सामान्य तथ्यांकीय गल्तीलाई आधार मानी सम्प्रेषित समाचारबाट सम्मानित जनप्रनितिधिहरुको आत्मसम्मानमा चोट पुगेको छ ।’
सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जारी गरेको विज्ञप्तिमा घर भएर सूचना नदिने सांसदहरुको नाम तयार गरि यसअघि नै सुविधा समायोजन गरिसकेको दाबी गरिएको छ । ‘केही माननीय सदस्यहरुले काठमाडौं उपत्यकामा घर भए–नभएको विवरण उपलब्ध नगराउनु भएको कारण सिर्जित समस्या समेत समाधान गरएको छ । माननीय सदस्यहरुको प्राप्त गर्ने पारिश्रमिक, घर भाडालगायत अन्य सुविधा भुक्तानीको विवरण माग अनुरुप माननीय सदस्यहरुलाई उपलब्ध गराइने व्यवथा गरिएको जानकारी गराइन्छ ।’


























