मोनोरेल निर्माणका लागि डीपीआर सम्झौता
वि.सं.२०७५ पुस ४ बुधवार १९:४४
shares

काठमाडौं र ललितपुर महानगरपालिकामा प्रस्तावित मोनोरेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारका लागि सम्झौता भएको छ । मोनोरेलको डीपीआर तयार गर्नेसम्बन्धी सम्झौता गर्न नेपाल आएको चाइना रेल्वे कम्पनी लिमिटेड (सीआरसी, ब्युरो २५) र काठमाडौं महानगरपालिकाबीच राष्ट्रिय सभागृहमा सम्झौता भएको हो ।
सम्झौतापत्रमा महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र चिनियाँ कम्पनीका बिजनेस म्यानेजमेन्ट प्रमुख झ्यु ग्वाङ्बिङबीच हस्ताक्षर भएको छ । कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी, कार्यकारी अधिकृत यादवप्रसाद कोइराला, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, उपप्रमुद गीता सत्याललगायतको उपस्थिति थियो ।
सम्झौता पत्र बुझ्दै चिनियाँ कम्पनीले ६ महिनामा अनौपचारिक डीपीआर प्रतिवेदन दिन गर्ने बताएको छ । चिनियाँ रेल्वे अधिकारीले डीपीआरसहित मानोरेल निर्माण गर्न ५ वर्ष समय लाग्ने जनाएका छन् ।
सम्झौतापछि प्रमुख शाक्ले निर्वाचित भएको डेढ वर्षपछि बल्ल डीपीआरका लागि सम्झौता गर्न पाएको बताए । अध्ययनले देखाएको लागत महानगरले धान्न सक्ने अवस्था नभएका कारण संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासमा मात्रै रेल चलाउन सकिने उनको भनाइ छ । मोनोरेल निर्माणको लागत करिब एक खर्ब १६ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।
चक्रपथमा मोनोरेल सञ्चालनका लागि आर्थिक, प्राविधिक तथा सहरी यातायात व्यवस्थापनको दिगोपनासम्बन्धी यसअघि नै सम्भाव्यता अध्ययन भइसकेको छ । गौशालादेखि चावहिलसम्म रेल चलाउन सक्ने सम्भाव्यता अध्ययनले देखाएको छ । यसैका आधारमा विस्तृत परियोजना प्रतिवेदन तयार हुने महानगरले जानकारी दिएको छ ।
कम्पनीले सम्भाव्यता अध्ययनका लागि वैशाख २० गते आशय पत्र बुझेको थियो । महानगरले जेठ ११ गते सम्झौता गरेको थियो । सम्झौताबमोजिम अध्ययनका लागि ६ महिनाको समय दिइएको भएपनि तोकिएको समयभन्दा तीन महिनाअघि नै कम्पनीले अध्ययन सकेको थियो ।
यसअघि, काठमाडौं साइमेक्स इन्क प्रालिले समेत काठमाडौं र ललितपुर महानगरपालिकामा मोनोरेलको सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको थियो । सो अध्ययनका लागि काठमाडौं महानगरपालिका र सो कम्पनीबीच गत वर्ष सम्झौता भएको थियो ।

























