काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मेरो नगरमा सबै सन्तुष्ट छन् : प्रकाश अधिकारी

41.52K
shares

स्थानीय तहको निर्वाचन भएको डेढ वर्ष बितिसकेको छ । यो अवधिमा स्थानीय जनप्रतिनिधिको काम कारबाहीप्रति जनता त्यति सन्तुष्ट छैनन् । विकास निर्माणको काममा आफैं ठेकेदार बनेको र कार्यकर्तामुखी भएको आरोप उनीहरुमाथि छ । स्थानीय जनप्रतिनिधिले अधिकारसम्पन्न भएर पनि परिणाममुखी काम गर्न नसकेको चौतर्फी टिप्पणी भइरहेका बेला काठमाडौंकै टोखा नगरपालिकाले भने नगरका सबै जनता सन्तुष्ट भएको बताएको छ । नगरपालिकाले कसरी जनता सन्तुष्ट बनाउन सक्यो ? के त्यस्तो काम गर्यो नगरपालिकाले यो डेढ वर्षमा ? नगर प्रमुख प्रकाश अधिकारीसँग सञ्जय श्रेष्ठले गरेको कुराकानी :

 

चुनाव भएको डेढ वर्ष पूरा भइसकेको छ, के–के काम गर्नुभयो ?
संविधानले परिभाषित गरेअनुसार स्थानीय तहलाई दिएको अधिकारलाई हामीले व्यवस्थित ढंगले परिचालन गरेका छौं । संविधानले दिएको एकल अधिकारको पनि पूर्णरुपमा परिपालना गर्न ऐन नियम र विनियम बनाएर अगाडि बढेका छौं । जनताको प्रत्यक्ष सरोकार राख्ने काममा हामी फोकसिङ भएर लागेका छौं ।

तपाईंहरुले गर्नुभएको परिवर्तनचाहिँ के–के हो ?
हामी चुनाव जित्नेबित्तिकै दुईवटा उद्देश्य लिएर अगाडि बढ्यौं । पहिलो उद्देश्य नगरपालिकाले गर्ने र अर्को उद्देश्य प्रदेश र केन्द्र सरकारले गर्ने योजनाका वर्गीकरण गर्यौं । र प्राथमिकताका साथ काम गरेका छौं । टोखा नगरको विकासका लागि जनता र स्थानीय बुद्धिजीवी तथा विकासमा सरोकार राख्ने सबैको साझा संकल्पका साथ हामी अगाडि बढेका छौं । टोखालाई तीन भागमा विभाजन गर्यौं । चारवटा ठूला सडक बनाउन सफल भयौं । खानेपानीको पाइपलाइन विस्तार गरेका छौं । डुवान क्षेत्रमा ढल निकासको काम गरेका छौं । प्रतिशतको आधारमा २० वर्षमा गर्न नसकेको काम गरेका छौं । हामीले विभाग, प्रदेश र केन्द्रले गर्ने कामलाई प्र्रत्यक्ष सरोकार राखेर काम गरेका छौं । तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजना तर्जुमा गरी अगाडि बढेका छौं ।

prakash adhikari-newskarobar

चुनावका बेला जनतासामु गरेका प्रतिबद्धता र अहिलेको काम गराइमा पूरा तालमेल छ, भन्न खोज्नुभएको हो ?
हो । हामीले चुनाव जितिसकेपछि जनताको बीचमा गएर जनताकै राय र सुझावअनुसार काम गरेका छौं । सुन्दर नगर निर्माणमा हामी अगाडि बढिरहेका छौं । नगरका विज्ञहरुको सहभागितामा योजना निर्माण गरेका छौं । योजनाहरुको प्राथमिकीकरण गरेका छौं । त्यसैले हामीलाई कुनै समस्या छैन । हामीलाई अहिले टोखामा खानेपानीको ठूलो समस्या छ । त्यसलाई सल्टाउन काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग आग्रह गरिरहेका छौं । अहिले यहाँका जनता आइरनयुक्त पानी पिउन बाध्य छन् । समस्या समाधानको उपायसहित काठमाडौं खानेपानी लिमिटेडलाई भनेका छौं । उहाँहरु पोजेटिभ हुनुहुन्छ ।

नगर क्षेत्रमा भौतिक पूर्वाधार निर्माणको कामप्रति जनता त्यति सन्तुष्ट देखिँदैन नि !
मेरो नगरमा सबै जनता सन्तुष्ट छन् । मैले डेढ वर्षमा चुनावी सभामा तथा जनताको घरदैलोमा गएर बोलेका कुरालाई अक्षरशः पालना गरेको छु । जति पनि विकासको काम गरेका छौं, जनताको पूर्ण सहभागितामा गरेका छौं । जनतालाई आफ्नो हो भन्ने अपनत्व हुने गरी काम गरेका छौं । नगरपालिकाको स्रोत र साधनले भ्याएसम्मको काम गरेका छौं । आजसम्म हाम्रो आफ्नो भवन छैन । अलि बढी समस्या पानीको हो । त्यसलाई पनि समाधान गर्न लागिरहेका छौं । विकासका लागि धेरै बजेट आवश्यक छ । क्रमशः मिलाउँदै विकास गर्न लागिपरेका छौं । चार–पाँच वर्षभित्र धेरै काम गर्नेछौं ।

सडकको धुलो धँुवा र वातावरण सरसफाइका लागि के–के काम गर्नुभयो ?
त्यसका लागि हामीले वातावरण समितिमार्फत काम गरिरहेका छौं । सडकको धुलो नियन्त्रणका लागि एक चरण घर–घरमा गएर जनतालाई भनेका छौं कि यो सडक तपाईंहरुकै हो । आफ्नो घर छेउछाउ सफा गर्नु भनेर भनेका छौं । हामीसँग पर्याप्त कर्मचारी छैनन् । त्यसैले पहिलो कुरा वातावरण सफाइमा जनतालाई नै सचेत बनाउने गरी अगाडि बढेका छौं ।

prakash adhikari-newskarobar

टोखा नगरपालिका तपाईंकै कार्यकालमा मास्क नलगाई हिँड्न मिल्ने बन्छ ?
बाटो सफा हुनका लागि पहिलो कुरा चौडा बाटोको आवश्यक पर्छ । बाटोको अवस्था कस्तो छ यो सबैलाई थाहा छ । नेपालमा जग्गा व्यक्तिको स्वामित्वमा छ । जबसम्म जग्गा व्यक्तिको स्वामित्वमा हुन्छ, तबसम्म यो मैले मात्र होइन, केन्द्र सरकारले चाहेर पनि पूरा हुँदैन । चीनको जस्तो जग्गा सरकारको, घर व्यक्तिको भएको खण्डमा यो सम्भव छ । टोखादेखि गोंगबुसम्मको बाटो बनाउन क्षतिपूर्ति दिनका लागि मात्र १५ अर्ब लाग्छ, जबकि मैले मेरो कार्यकालमा बढीमा चार अर्ब चलाउन सक्छु होला । अनि कसरी सम्भव हुन्छ । तर, हामीले जनतालाई जागृत गराउने काम गरेका छौं । अधिकतम रुपमा धुलोरहित बनाउन प्रयास रहनेछ ।

स्वास्थ्य क्षेत्रमा धेरै समस्या छन्, ती समस्या समाधान गर्न के गर्दै हुनुहुन्छ ?
टोखा नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको अस्पताल छ । तर, टोखा नगरभित्र नगर अस्पताल चाहिन्छ भन्ने महसुस भएको छ । नगरस्तरीय अस्पताल बनाउने काम अगाडि बढाएका छौं । प्रदेश सरकारले स्वीकृती दिएपछि अगाडि बढ्छौं । हामीले निर्वाचित भइसकेपछि विभिन्न चरणमा स्वास्थ्य शिविर गरेका छौं । घरदैलो स्वास्थ्य जाँच कार्यक्रम गरेका छौं । वृद्धहरुलाई थर्मस वितरण कार्यक्रम गर्यौं । महिलामा हुने क्यान्सरको शिविर गर्यौं ।

यो त अल्पकालीन काम भयो । दीर्घकालीन स्वास्थ्य नीतिचाहिँ के छ ? नगर अस्पताल बनेपछि जनताले निःशुल्क सेवा पाउँछन् ?
होइन, हामीले गरेको यो काम पनि दीर्घकालीन नै हो । धेरै जनतालाई घरदैलोमा गएर सेवा दिएका छौं । नगर अस्पताल बनाउने नै हाम्रो दीर्घकालीन योजना छ । फ्रिमा त हामीले गर्न सक्दैनौं तर बजेट व्यवस्थापन भएको अवस्थामा त हामी तयार नै छौं । सेवा दिनु हाम्रो कर्तव्य हो, दायित्व हो । नगर अस्पताल स्वीस्कृत भएपछि हामी स्वास्थ्यका लागि विभिन्न स्किम ल्याउनेछौं ।

स्थानीय जनप्रतिनिधिबाट कानुन अभावमा धेरै काम गर्न नसकिएको गुनासा आइरहेका छन् । तपाईं के भन्नुहुन्छ ?
यो विल्कुल गलत कुरा हो । यो मेरो हकमा लागू हुँदैन । हामीले आफ्नो अधिकार पाएको क्षेत्रमा बसेर नियम र कानुन बनाउँदै लागू गर्दै आएका छौं । २० वटा कानुन बनाइसक्यौं । बाँकी बनाउने चरणमा छौं । मेरो हकमा भन्नुहुन्छ भने म जनताको काम गर्ने सवालमा कानुनभन्दा माथि जनता राखेर गरेको छु, जनताको काम गर्दा जेल जानुपर्छ भने म तयार छु । टोखा नगरपालिकामा प्रशासनिक झन्झटभन्दा अरु केही समस्या छैन ।

prakash adhikari-newskarobar

आवश्यक कर्मचारी नहुँदा काममा कति व्यवधान आइरहेको छ ?
पहिलो कुरा त जनप्रतिनिधिको काम भनेको नीति–नियम बनाउने हो । कार्यान्वयनका लागि आदेश गर्ने हो । सबै काम कर्मचारीले नै गर्नुपर्ने हो । तर, अहिले हामीले काम गरिरहेका छौं । कर्मचारीको असक्षमताका कारण केही समस्या भएको छ । कर्मचारीको मानसिकताले गर्दा अझ बढी समस्या आउनेवाला छ । अस्थायी र ज्यालादारी कर्मचारीको आन्दोलनका कारण यो समस्या विकराल बन्न सक्छ । कर्मचारीमा उत्साह हराएको छ । कर्मचारी नहुँदा पनि समस्या छ, हुँदा पनि असक्षताको कारण समस्या छ ।

घरबहाल कर र पार्किङ व्यवस्थापन गर्न सक्ने हो भने नगरको आम्दानीमा ठूलो परिवर्तन आउँछ, तर अधिकांश नगरपालिकाले यो विषयमा खासै चासो दिएको पाइँदैन, यहाँको अवस्था के छ ?
घरबहाल करको सन्दर्भमा हामीले ७ प्रतिशत लिने निर्णय गरेका छौं । पार्किङको सन्दर्भमा, हाम्रो टोखा नगरपालिकाभित्र त्यस्तो कुनै पनि ठाउँमा पायक पर्ने सार्वजनिक जग्गा छैन । व्यक्तिको निजी जग्गामा हामीलाई पार्किङ राख्न दिँदैन र नगरपालिकाको अहिलेको अवस्थामा त किन्न सक्ने अवस्था पनि छैन । तर, पनि हामीले त्यस विषयमा अध्ययन गरिरहेका छौं ।

योजनाविदहरु नगरको योजनाबद्ध विकासका लागि ‘नगर प्रोफाइल’को निकै ठूलो महत्व भएको बताउँछन् । तपाईंले नगर प्रोफाइललाई कतिको महत्व दिनुभएको छ ?
अवश्य पनि हामीले नगरको समृद्धिको योजनामा सफलताका लागी नगर प्रोफाइललाई महत्व दिएका छौं । हामी नगर प्र्रोफाइल बनाउन लागिरहेका छौं । तर, हामीलाई नगर प्रोफाइल बनाउनका लागी आवश्यक बजेट अभाव छ । यद्यपि, कस्तो प्रोफाइल बनाउने भन्ने कुरामा छलफल गरिरहेका छौं । दीर्घकालीन डिजिटलमा जाने कि अल्पकालीनखालको दुई–तीन वर्षको लागि मात्र बनाउने भन्ने कुरामा छलफलमा छौं । हामीले प्रोफाइल बनाउने निर्णय गरिसकेका छौं ।

नमुना नगर बनाउने भावी योजना के छ ?
टोखालाई नमुना बनाउनका लागि हामीसँग शैक्षिक भवको रुपमा टोखालाई विकसित गर्ने, प्र्राविधिक शिक्षालाई विशेष प्राथमिकताका साथ विकास गर्ने, स्वास्थ्य क्षेत्रमा टोखाबासीलाई यस क्षेत्रमा रहेका अस्पतालमा सहज पहुँजको अवस्था सिर्जना गर्ने, नगर अस्पताल निर्माण गरेर सबैलाई सकेसम्म कम शुल्कमा सेवा दिने, नगरभित्र ढल व्यवस्थापन गर्ने, खानेपानीको व्यवस्थापन गर्ने, सडक बाटोलाई पिच गर्ने, सुरक्षाको ग्यारेन्टी गर्नेलगायतका योजना छन् । जसमा प्रदेश र केन्द्र सरकारसँग पनि सहकार्य गरेर अगाडि बढ्नुपर्नेछ ।

नगरलाई सुन्दर बनाउने मुख्य कम्पोनेन्ट के हो ? पहिचान गर्नुभएको छ ?
हामीले नगरलाई सुन्दर बनाउनका लागि पुरानै कुराहरुको व्यवस्थापन, सरल परिचालन र सहज उपभोगको वातावरण बनाएको खण्डमा हुन्छ । तर, हामीले नयाँ कम्पोनेन्ट भनेको एउटा पर्याटकीय क्षेत्र पनि हो । हामीले नगरभित्र रहेको सम्भावित क्षेत्रमा ग्रिन पार्क निर्माणका लागि डिपिआरसमेत तयार पारिसकेका छौं । हाम्रो लक्ष्य भनेको टोखा नगरपालिकामा एकपटक जो–कोहीलाई पनि घुम्न आउने वातावरण निर्माण गर्नु हो । सुरक्षाको हिसाबमा नगरमा सिसि क्यामेरा जडान गर्ने कुरालाई विशेष प्राथमिकतामा राखेका छौं ।