विशेष समितिले अर्थमन्त्रीलाई बुझायो प्रतिवेदन, यस्ता छन् सुझाव
वि.सं.२०७५ पुस ५ बिहीवार ००:२१
shares

मुद्रा तथा पुँजी बजारको समस्या अध्ययन समितिले अर्थमन्त्री डा. युवराज खतिवडालाई सुझाव प्रतिवेदन बुझाएको छ । बुधबार साँझ अर्थ मन्त्रालय पुगेर समितिले अर्थमन्त्री खतिवडालाई प्रतिवेदन बुझाएको हो ।
समितिले मुद्रा तथा पूँजी बजारका समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन महत्वका सुझाव दिएको छ । बैंकको ब्याजदर नियन्त्रणका लागि तत्काल चाल्नुपर्ने कदमको विषयमा निकै लामो सुझाव प्रतिवेदनमा समेटिएको छ । विद्यमान समस्या समाधानका लागि हस्तक्षेप गर्न समितिको सुझाव छ ।
समितिले बैंकहरुको पुँजीगत लागत ८९ प्रतिशतमा सीमित गराउन र कर्जाको व्याजदर १२ प्रतिशतमा कायम राख्न सरकारलाई सुझाएको बुझिएको छ । बचत, मुद्दती र ऋणको व्याजदरमा अधिकतम सीमा तोक्न समितिले सुझाव दिएको छ । पुँजी बजारका समस्या समाधानका लागि पनि समितिले सुझावहरु दिएको छ । यद्यपि, प्रतिवेदन औपचारिक रुपमा सार्वजनिक भने गरिएको छैन ।
उच्च ब्याजदरको विषयले यतिबेला वित्तीय क्षेत्रमा ठूलै तरंग पैदा गरेको छ । बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर १३ प्रतिशत नघाइदिँदा उद्योग क्षेत्रदेखि पुँजी बजारसम्म त्यसको प्रभाव परेको छ । समस्या कसरी आयो र यसको समाधान के हुन सक्छ भन्नेबारे प्रतिवेदनमा बुँदागत रुपमा सुझाव समेटिएको समितिका एक सदस्यले जानकारी दिए ।
मंसिर तेस्रो साता अर्थमन्त्रीले गठन गरेको समितिमा राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ संयोजक तथा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र हेर्ने सहसचिव, बैंकर्स संघ, लगानीकर्ताका प्रतिनिधि सदस्य छन् । समितिलाई दिइएको समयसीमा शुक्रबार नै सकिएको थियो ।
























