काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विश्व दर्शनशास्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

2.5K
shares

काठमाडौं । विश्वको सबैभन्दा प्राचीन चिन्तनका रूपमा रहेको दर्शनशास्त्र दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । विश्वको प्राचीन दर्शन विधालाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घले सन् २००२ मा प्रस्ताव पारित गरेर हरेक वर्षको नोभेम्बरको तेस्रो बिहीबार ‘विश्व दर्शनशास्त्र दिवस’ मनाउन सुरु गरेको थियो । सोही वर्षदेखि यो दिवस विश्वभर मनाउन थालिएको हो ।

नेपालमा भने सन् २०१२ देखि विश्व दर्शनशाास्त्र दिवस मनाउन थालिएको हो । यस अवसरमा विश्वभरिका दर्शनशास्त्री, दर्शनशास्त्रप्रेमी, स्वतन्त्रताप्रेमी, मानवतावादी तथा अन्य सरोकार भएकाहरूले विभिन्न कार्यक्रम गरेर दर्शनशास्त्रको महत्वमाथि प्रकाश पार्ने गरेका छन् । यो दिवस त्रिभुवन विश्वविद्यालय मनोविज्ञान तथा दर्शनशास्त्र विभाग त्रिचन्द्र क्याम्पस, दर्शनशास्त्र विभाग, नेपाल नेपाल प्रज्ञा-प्रतिष्ठान, दर्शनशास्त्र अध्ययन केन्द्र, जरोकिलो प्रतिष्ठान नेपाललगायत सङ्घंस्थाहरूले विविध कार्यक्रम गरेर मनाउँदै छन् ।

नेपालमा दर्शनशास्त्रको अध्यापन सन् १९१८ देखि त्रिचन्द्र कलेजमा आरम्भ भएको थियो । तत्कालीन त्रिचन्द्र कलेज पटना विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालनमा आएको त्रिचन्द्र क्याम्पस, दर्शनशास्त्र विभागका प्रा गोविन्दशरण उपाध्यायले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालय स्थापना भएपछि त्रिचन्द्र क्याम्पसमा प्रा डा गोदत्तमान श्रेष्ठको (क्याम्पस प्रमुख) ले स्नातक तहमा दर्शनशास्त्र पढाएको अभिलेखमा उल्लेख गरिएको उनले बताए । त्रिविविले विराटनगर, लहान, पाटन, रत्नराज्य र त्रिचन्द्रलाई दर्शनशास्त्र पढ्ने-पढाउने सम्बन्धन दिएकामा हाल रत्नराज्य र पाटनमाबाहेक सबैतिर पठनपाठन हुने गरेको जनाइएको छ ।

प्रा उपाध्यायका अनुसार दर्शन भनेको ज्ञानको आँखा हो, ज्ञान भनेको जीवन सञ्चालन गर्ने, जीवन र जगत्लाई सत्मार्गमा लगाउने अर्थात् सत्यम्, शिवम्, सुन्दरम्को प्रत्याभूति दिने आन्तरिक शक्ति र विज्ञान हो । “मानव जीवनलाई सकारात्मक मार्गमा लैजान यसको महत्त्वपूर्ण भूमिका रहन्छ । त्यसैले दर्शन र दर्शनसम्बन्धी ज्ञानले भरिएका शास्त्र-ठेलीको मूल्यमान्यता अत्यधिक हुने भएकाले पनि यो दिवस मनाउनु अर्थपूर्ण मानिन्छ”, उनले भने।