तलब माग्दा गाउँपालिका अध्यक्षले कुटे एम्बुलेन्स चालक, प्रहरीले हिरासतमा लियो
वि.सं.२०८३ मंसिर ४ शुक्रवार १४:५८
shares

काठमाडौं। एम्बुलेन्स चालकलाई कुटपिट गरेको आरोपमा हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाही पक्राउ परेका छन्।
गाउँपालिकाको एम्बुलेन्स चलाउँदै आएका पृथ्वीबहादुर सिंहलाई कुटपिट गरेको आरोपमा प्रहरीले शाहीलाई शुक्रबार नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार बिहीबार अध्यक्ष शाही र चालक सिंहबीच पारिश्रमिकको विषयलाई लिएर विवाद भएको थियो।
गाउँपालिकाकै एम्बुलेन्स चलाउँदै आएका सिंहले लामो समयदेखि पारिश्रमिक नपाएको भन्दै रकम मागेका थिए। अध्यक्ष शाहीले कर्मचारीको तलब भुक्तानी गर्ने जिम्मेवारी कार्यालय प्रमुखको भएको, आफूले दिनुपर्ने होइन भनेपछि विवाद बढेको थियो ।
पारिश्रमिकको विषयमा भनाभन भएपछि हातपातको घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। कुटपिटबाट घाइते भएका सिंहलाई सिटी स्क्यानका लागि नेपालगन्ज लगिएको छ।

























