चितवन । डा. चन्दन न्यौपानेले उज्यालो नेपाल पार्टीको सम्पूर्ण जिम्मेवारी र साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग हुने निर्णय गरेका छन्। पार्टीको स्थापनाकालदेखि नै आबद्ध न्यौपानेले केन्द्रीय सदस्य तथा विदेश विभागको जिम्मेवारी सम्हाल्दै आएका थिए। पार्टीको संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गरेका उनले चितवन जिल्ला संगठनको नेतृत्वसमेत गरेका थिए।
गत संसदीय निर्वाचनमा पार्टीका तर्फबाट चितवन जिल्लाको समग्र निर्वाचन कमान्ड सम्हालेका न्यौपानेले संगठनात्मक गतिविधिमा सक्रियता देखाएका थिए।
सामाजिक तथा स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय न्यौपानेले चितवनस्थित क्यान्सर अस्पताल, नारायणी सामुदायिक अस्पताल तथा चितवन मेडिकल कलेजमा काम गरिसकेका छन्।
त्यस्तै, उनी लायन्स क्लब चितवन, नेपाल रेडक्रस सोसाइटी तथा इन्टरनेसनल मदर टेरेसा फाउन्डेसनमार्फत सामाजिक सेवामा पनि संलग्न रहँदै आएका छन्। नेपाल चिकित्सक संघमा समेत आबद्ध उनले चिकित्सक तथा स्वास्थ्यकर्मीको हकहित र स्वास्थ्य सेवा सुधारका विषयमा आवाज उठाउँदै आएका छन्।
पार्टीबाट अलग हुने निर्णय गरे पनि आगामी दिनमा सामाजिक सेवा, समाज रूपान्तरण तथा जनहितका क्षेत्रमा आफ्नो सक्रियता कायम रहने अपेक्षा गरिएको छ।