प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
वि.सं.२०८३ मंसिर ४ शुक्रवार ११:५७
shares

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्रीहरुले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमण दुई देशको हित, आपसी सम्बन्ध, व्यापार तथा ‘केनेक्टिभिटी’लगायतका मुद्दामा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन ।
उनिहरुले नेपाल–भारतबीच लामो समयदेखिको जनस्तरको सम्बन्ध र आपसी विश्वासलाई अभिवृद्धि गर्दै दुई देशको हित हुने खालका सम्झौता गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री शाह यही मङ्सिर ६ गते भारतको दुई दिने औपचारिक भ्रमणमा त्यसतर्फ जाँदै छन । उनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणमा जान लागेका हुन ।
यसै सन्दर्भमा पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालको मुख्य चासो र चिन्ता व्यापार घाटा भएकाले भ्रमणका क्रममा यसलाई प्राथमिकताका साथ उठान गर्न आवश्यक भएको बताए । भ्रमणका क्रममा भारतसँगको व्यापारघाटा कम गर्ने उपायलाई प्राथमिकतामा राख्दै नेपालबाट हुनसक्ने सेवा तथा वस्तुको निर्यातमा सहजीकरणका सन्दर्भमा काम गर्नुपर्ने उनको भनाइ छ ।
त्यसैगरी, सीमासँग सम्बन्धित विषय र भैरहवा अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको विषय पनि प्राथमिकताका साथ उठान गर्न आवश्यक रहेको उनले उल्लेख गरे।
“नेपाल र भारतको सम्बन्ध विविधतामा आधारित छ, यो सम्बन्धलाई दीर्घकालीन विश्वासको सम्बन्धमा विकसित गराउनुपर्छ त्यसमा पनि विशेष ध्यान दिनुपर्छ”, उनले भने, “भ्रमणलाई फलदायी बनाउन दुवै देशका चासो र चिन्तालाई सम्बोधन हुने गरी कार्यक्रमहरु अगाडि बढाउनुपर्छ ।” उनले भारतको पनि चासोलाई मध्यनगर गर्दै हाम्रो संवेदनशीलता र राष्ट्रिय हित अनुकूल हुने गरी आफ्ना विषय भारतसामु राख्न आवश्यक भएको बताउछन ।
पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली प्रधानमन्त्री शाहको भारत भ्रमण दुई देशबीचको विश्वासलाई बलियो बनाउने कुरामा केन्द्रित हुनुपर्ने बताउछन । “छिमेकीका जायज सरोकारहरू सुन्नुपर्छ र विश्वासको वातावरण निर्माण गर्नुपर्छ । त्यसैले यो भ्रमण मुख्य रूपमा विश्वास अभिवृद्धिमा केन्द्रित हुनुपर्छ भन्ने मलाई लाग्छ”, उनले भने ।
उनका अनुसार नेपालका लागि थप हवाई रुटको विषय पनि महत्वपूर्ण छ । नयाँ हवाई रुट उपलब्ध गराउने सन्दर्भमा सन् २०१८ मै भारत भ्रमणका क्रममा समझदारी भएको समेत उनले उल्लेख गरे । त्यसबाहेक जलविद्युत् आयोजनाहरूको कार्यान्वयनलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ ।
“नेपाल र भारत मिलेर आगामी दिनमा आर्थिक विकास तथा आर्थिक साझेदारीका क्षेत्रमा के–कस्ता काम गर्न सक्छौँ, कस्तो मूल्य शृङ्खला निर्माण गर्न सक्छौँ र कुन–कुन आयोजना अगाडि बढाउन सक्छौँ भन्ने विषयमा पनि खुलस्त छलफल हुनुपर्छ । त्यसो हुन सके मात्रै यो भ्रमणले वास्तविक अर्थ राख्छ”, उनले भने ।
पूर्वपरराष्ट्रमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा दुई देशको सम्बन्धलाई परस्पर विश्वास अभिवृद्धिमा जोड दिनुपर्ने आवश्यकता औँल्याए । दुई देशको सम्बन्धमा अलि तिक्तताजस्तो देखिएको थियो, त्यसलाई आपसी समझदारीसहित विश्वासमा बदल्नुपर्नेमा उनले जोड दिए ।
उनले भने, “भ्रमणलाई फलदायी बनाउन दुवै देशको हितमा हुने गरी लगानी, विकास र व्यापारलाई प्राथमिकतका दिनुपर्छ, यी तीन वटा क्षेत्रमा ध्यान दिन सकियो भने समृद्धिको दिशातर्फ अगाडि बढ्न सकिन्छ । यसका लागि पहिले परस्पर विश्वास र मित्रता आवश्यक छ ।”
उनका अनुसार नेपाल–भारतबीचमा रहेका पारवहनका समस्या, हवाईमार्ग र सीमामा देखिएका विवादलाई समाधान गर्न पनि आवश्यक छ । त्यसबाहेक सुरक्षाका विषयमा एक अर्कालाई बुझाउने र आश्वस्त पार्ने वातावरण निर्माण बनाउन जरुरी भएको उनले उल्लेख गरे । त्यसैगरी दुई देशबीचको सीमामा नागरिकले भोग्नु परेको समस्या समाधानमा पनि ध्यान दिन आवश्यक रहेको पूर्वपरराष्ट्रमन्त्री यादवले बताए ।
उनका अनुसार हवाई मार्गको विषय पनि त्यत्तिकै महत्त्वपूर्ण छ । त्यसबाहेक विद्युत् व्यापार, ठूला भौतिक पूर्वाधारका आयोजनालाई प्राथमिकताका साथ उठान गरिनुपर्ने उनको भनाइ छ ।

























