काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई थप उचाइ दिन प्रधानमन्त्रीको भारत भ्रमण महत्वपूर्ण : अमृत राई

1.05K
shares

काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणले नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै द्विपक्षीय साझेदारीलाई नयाँ गति दिने विश्वास गरिएको बताएका छन् ।

परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भ्रमणबाट नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने ठोस उपलब्धि हासिल गर्ने लक्ष्य राखिएको बताए ।

प्रधानमन्त्री शाहको भारत भ्रमणको कार्यतालिका सार्वजनिक गर्दै भ्रमणका क्रममा दुई देशबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधारलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुने उनले जानकारी दिए ।

प्रधानमन्त्री यही मंसिर ६ र ७ गते भारतको दुईदिने राजकीय भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह भारत भ्रमणमा जान लागेको उनले बताए ।

उनका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवाको उडानबाट भारत प्रस्थान गर्ने कार्यक्रम छ । भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी हुनेछन् ।

सरकारी भ्रमण टोलीमा ३४ सदस्य रहनेछन् । त्यसमा नयाँदिल्लीस्थित नेपाली राजदूतावासका राजदूतसहित केही सदस्य थपिनेछन् । त्यस्तै, निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुने मन्त्रालयले जनाएको छ । भ्रमणको समाचार संकलनका लागि विभिन्न सञ्चारमाध्यमका पत्रकारहरू पनि आफ्नै खर्चमा भारत जानेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले मंसिर ७ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । उक्त वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै व्यापार, पारवहन, लगानी, ऊर्जा सहकार्य, सम्पर्क सञ्जाल र पूर्वाधार विकासका विषयमा छलफल हुनेछ ।

दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत तय भएको राईले जानकारी दिए ।

त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधनलगायतका क्षेत्रमा सहकार्य गर्ने विषय समेटिएका विभिन्न समझदारीपत्र आदानप्रदान गरिने तयारी छ । यसबाट दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहयोग थप विस्तार हुने अपेक्षा गरिएको छ ।

द्विपक्षीय वार्तापछि दुवै देशका प्रधानमन्त्रीले विभिन्न विषय समेटेर संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाह र उनको प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्ने दिवाभोजमा पनि प्रधानमन्त्री शाह सहभागी हुनेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यस्तै, भारतीय विदेशमन्त्री डा. एस जयशंकरले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नेछन् । प्रधानमन्त्रीले नयाँदिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रमसमेत रहेको उनले बताए ।

यसैगरी, भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरम आयोजना गरिनेछ । नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा नेपाल सरकारका तर्फबाट भारतबाट थप लगानी भित्र्याउन अवलम्बन गरिएका नीतिगत दृष्टिकोण र प्रयासबारे जानकारी गराइनेछ ।

साथै, भारतीय व्यवसायीका चासो र सरोकार सुन्ने तथा नेपाली र भारतीय व्यवसायीबीच सहकार्यका सम्भावना पहिचान गर्ने उद्देश्य राखिएको छ । बिजनेस फोरमले दुई देशका निजी क्षेत्रबीच आर्थिक साझेदारी विस्तार गर्न सेतुको काम गर्ने अपेक्षा गरिएको राईले बताए ।

भारतको राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह मंसिर ७ गते साँझ ६ः३५ बजे नेपाल वायुसेवाको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ ।